२० माघ २०८२, मंगलबार | February 3, 2026

ओझेलमा पर्दैछ दाङका गन्धर्वको पेशा



“कहाँ गयौ गीत गाउने गाइने दाइ, दुःख पीडा वेदनामा चाहिने दाइ,
हुनेखानेका छोराछोरी बोर्डिङ स्कुल पढ्ने, गरिबका छोराछोरी भोकभोकै मर्ने ।”

दाङ । आइतबार तुलसीपुर उपमहानगरपालिका-४ को गन्धर्व बस्तीमा रिपोर्टिङका लागि पुगेका बेला यही गीत गुनगुनाउँदै थिए ६० वर्षीय टेकबहादुर गन्धर्व । करिब १५ वर्षअघिसम्म गाउँगाउँमा पुगेर आफूले गाउने गरेको यो गीत सारङ्गीको मीठो स्वरमा उनले सुनाउँदै थिए ।

पहिले गाउँगाउँमा सारङ्गी बजाएर जीविकोपार्जन गर्दै आएका गन्धर्वको पुख्र्यौली पेशा अहिले भने ओझेलमा पर्नै लागेको छ । आफ्नो पेशा सङ्कटमा परेकामा दुखेसो पोख्दै टेकबहादुर भन्छन, “पहिलेका घर मालिकले प्रशस्त अन्न दिन्थे । त्यसैबाट घरपरिवार पाल्न सजिलो हुन्थ्यो तर अहिले सारङ्गी बोकेर गाउँदै हिँड्दा धेरैले सहयोग गर्दैनन् । कतिले त अपशब्द नै प्रयोग गर्ने गर्छन् । काम गरेर खान नसक्ने अल्छी भनेर गाली पनि गर्छन् । त्यसैले शरम लाग्छ मलाई ।”

उनले २० वर्ष पहिलेदेखि जिल्लाका ग्रामीण क्षेत्रका साथै तुलसीपुर, घोराही, लमहीका बजार क्षेत्रमा गीत गाउँदै हिँड्थे । “हामीलाई समाजले हेला गर्ने र राज्यले पनि बेवास्ता गरेकाले गाइने पेशाबाट खान लाउन नपुग्ने अवस्था आएको हो”, उनको अनुभव छ ।

बढ्दो गीतसङ्गीत एवं प्रविधिको विकासका साथै समाजले पनि आपूmहरूलाई हेयको दृष्टिले हेर्ने गरेका कारण आफूहरु अहिले परम्परादेखिको यो पेशा छोडेर अरु पेशा अगाल्न बाध्य भएको उनको भनाइ छ ।

टेकबहादुरका अनुसार करिब ६३ घरधुरीमा करिब पाँच सय गन्धर्व रहेको उक्त टोलका अहिले यो पेशामा १२ जना मात्र छन् । उनीहरु पनि कुनै काम नपाएका बेलामा मात्र गाउँदै हिँड्छन् । हातमुख जोड्न साह्रै मुश्किल परेकाले यो पेशा नै गर्न नपरोस् भन्ने उनीहरुको सोच छ ।

“देशमा लोकतन्त्र, गणतन्त्र आयो र सङ्घीय संरचनामा तीन तहका सरकार बने तर हामी गन्र्धवको अवस्था भने जस्ताको तस्तै छ । उत्थानका लागि कसैले पनि सहयोग गरेनन् । अहिले पनि हामीलाई कसरी घरखर्च चलाउन तथा बिहान खाए बेलुका के खाने भन्ने समस्या छ ।” सोही टोलका ६८ वर्षीया शालिकराम गन्र्धवको भनाइ छ ।

उनले भने, “अहिलेको पुस्ताले गायन पेशाप्रति देखाएको उदासिनताले आफ्नो जातिको अस्तित्व नै मेटिनसक्ने चिन्ता छ ।” आफ्ना युवापुस्तालाई आर्थिकरुपमा सक्षम बनाएमा मात्र संस्कृति र जातीय पहिचान जोगाउन पुख्र्यौली पेशा अँगाल्न सकिने उनको भनाइ छ ।

आफ्ना पुर्खा सल्यानको हिउँल्चाबाट दाङ आएको बताउनुहुने सोही टोलका २४ वर्षीय विशाल गन्धर्व हातमुख जोर्न मुश्किल भएपछि पलायन भएको स्मरण गर्छन । गन्धर्व हाल दाङको तुलसीपुर, पातेटाकुरा, एकलीलगायत स्थानमा ज्याला, मजदुरी, माछा मार्ने गरेर जीविका चलाउँदै आएको बताउछन ।

उनी भन्छन, “आफूजस्ता युवालाई स्थानीय सरकारले आयआर्जनका लागि बङ्गुरपालन, बाख्रापालनसम्बन्धी तालिम दिइ व्यवसाय सञ्चालनका लागि आर्थिक सहयोग गरेमा आत्मनिर्भरताका लागि सहज हुने थियो ।”

उनले आफूले गाउने पेशा सङ्कटमा परेपछि गरिबीका कारण पढ्न नपाएर अहिले तुलसीपुर बजारमा ठेला चलाएर जीवीकोपार्जन गरिरहेको विशालले बताए । स्थानीयवासी विजय गन्धर्व पनि पहिले मानामुठी अन्न बटुल्ने क्रममा दाङ, सल्यान, रुकुम, रोल्पालगायत स्थानसम्म पुग्ने गरे पनि सो पेशाबाट घरपरिवार पाल्न नसकेपछि हाल तुलसीपुरमा आएर मजदुरी गर्दै परिवार पाल्ने गरेको गरेको बताउछन ।

सल्यान बयलडाँडा पुख्र्यौली घर भई हाल तुलसीपुरमा बस्ने ५० वर्षीय महेन्द्र गन्धर्व पनि आफ्नो जातीय पहिचान बोकेको गन्धर्वको संस्कृति हराउन थालेकामा चिन्तित छन । उनले भने, “गाइनेहरुले हिजोआज गायकगायिकाका गीतहरु मात्र सुनाउने तर आफूले खासै मेहनत नगरेका कारण पनि परम्परागतशैली हराइसकेको छ, कुनै घटनाको कथावस्तुलाई गीत बनाएर गाइने ‘कर्खा भाका’ अहिले सबैलाई गाउन आउँदैन ।”

नयाँ गायकको नक्कल गर्ने प्रवृत्तिले लोकप्रिय ‘कर्खा भाका’ हराउन लागेकामा गन्धर्व समुदायका अगुवा एवं गायक सुशील गन्धर्व भन्छन, “गन्धर्वको उत्थानमा कसैले पनि ठोस प्रयास नगरेकाले नेपाली संस्कृतिको एउटा अध्याय नै मेटिन लागेकोे छ । हरेक चुनावमा हामीलाई भोट बैंकका रुपमा मात्र प्रयोग गरिन्छ”, उनी भन्छन, “अहिले तीन तहका सरकार छन् । हामीहरुको सबैभन्दा नजिकको सरकार भनेको स्थानीय तहको सरकार हो । स्थानीय तहको सरकारले पनि गन्धर्वको उत्थानका लागि अहिलेसम्म कुनै कार्यक्रम सञ्चालन गरेको छैन ।”

लोपोन्मुख यो संस्कृतिको जगेर्नाका लागि स्थानीय सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने र उक्त समुदायका युवालाई रोजगारी तथा आयआर्जनका काममा लगाउन राज्यले उचित नीति बनाउनुपर्नेमा शिक्षिका कमला चापागाईं जोड दिन्छन ।

समाजमा भएका राम्रा नराम्रा घटनालाई गीत बनाएर सुसेल्ने गन्धर्वको पेशा हराउँदै जानु नेपाली संस्कृतिका लागि दुर्भाग्यपूर्ण हुने संस्कृतिविद् अशोक थारूको भनाइ छ । उनी भन्छन, “समाजमा भएका विकृतिलाई सारङ्गीको मीठो धुन अनि सुरिलो भाकामा साधारण मानिससम्म सन्देश छरी चेतना वृद्धि गर्ने गन्धर्वको पेशाको संरक्षण गर्न सबैले पहल गर्नुपर्छ, साथै गन्धर्वले पनि आफ्नो पेशाप्रति गर्व गर्नुपर्छ ।”

प्रकाशित मिति : २७ भदौ २०७९, सोमबार  ६ : ५१ बजे

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

ललितपुरबाट पेस्तोलसहित तीन जना नियन्त्रणमा

काठमाडौँ । सशस्त्र प्रहरी बलले ललितपुरबाट आज पेस्तोलसहित तीन जनालाई

निर्वाचन सुरक्षाका लागि भोलि बुधबारदेखि सेना परिचालन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको