२१ असार २०८३, आइतबार | July 5, 2026

पुर्ख्यौली पेसा छोड्दैछन् गन्धर्व



दाङ । गाउँगाउँमा सारङ्गी बजाएर जीविकोपार्जन गर्दै आएका यहाँ गन्धर्वहरु अहिले पुर्ख्यौली पेसा छोडेर जीविकोपार्जनका लागि अन्य पेसा अँगाल्न बाध्य भएका छन् ।

आधुनिक गीत, सङ्गीत एवम् प्रविधिको विकासका साथै समाजमा आफूहरूमाथि हुने हेयको दृष्टिकोणका कारण पुख्र्यौली पेसा छोडेर अरू पेसा अँगाल्न बाध्य भएको उनीहरु बताउँछन् ।

गन्धर्व समुदायको मुख्य बस्ती रहेको तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौरको गणेश टोलमा अहिले न्यून सङ्ख्यामा गन्धर्वहरु सारङ्गी बोकेर गीत गाउन हिँड्ने गरेका छन् । त्यो पनि चाडपर्वको समयमा मात्र ।

उक्त टोलमा बस्ने ७१ वर्षीय दिले गन्धर्व भन्छन्, “हामीलाई समाजले हेला गर्ने र राज्यले पनि बेवास्ता गर्ने गरेकाले गाउने पेसाबाट खानलाउन नपुग्ने अवस्था आएको हो ।” बीस वर्ष पहिलेदेखि जिल्लाका ग्रामीण क्षेत्र एवम् तुलसीपुर, घोराही, लमहीका बजार क्षेत्रमा गीत गाउँदै हिँडेका दिलेका अनुसार ५० घरधुरीमा चार सय गन्धर्व रहेको यस टोलमा अहिले दस जनाले मात्र यो पेसा अँगालेका छन् । “आफूहरू पनि कुनै काम नपाएको बेलामा मात्र गाउँदै हिँड्छौँ । हातमुख जोड्न साह्रै मुस्किल परेकाले यो पेसा नै गर्न नपरोस् भन्ने सोच छ ।” उनी भन्छन् ।

अहिलेको पुस्ताले गायन पेसाप्रति देखाएको उदासीनताले आफ्नो जातीय अस्तित्व नै मेटिनसक्ने चिन्ता उक्त टोलका शालिकराम गन्धर्वलाई छ । “पहिलेका घर मालिकले प्रशस्त अन्न दिन्थे । त्यहीँबाट घरपरिवार पाल्न सजिलो हुन्थ्यो तर अहिले सारङ्गी बोकेर गाउँदै हिँड्दा धेरैले अपशब्द प्रयोग गर्छन् । अल्छी भनेर गाली पनि गर्छन् त्यो जवाफले त सरम पनि लाग्छ”, उनी भन्छन् ।

आफ्ना युवा पुस्तालाई आर्थिकरूपमा सक्षम बनाए मात्र संस्कृति र जातीय पहिचान जोगाउन पुख्र्यौली पेसा अँगाल्न सकिने शालिकरामको भनाइ छ । आफ्ना पुर्खाहरु सल्यानको हिउल्चाबाट दाङमा आएको बताउने सोही टोलका टेकबहादुर गन्धर्व हात मुख जोर्न मुस्किल भएपछि पलायन भएका गन्धर्वहरु हाल दाङको तुलसीपुर, पातेटाकुरा, एकलीलगायत स्थानमा बसी ज्याला मजदुरी र माछा मार्ने गरेर जीविका चलाउँदै आएका छन् ।

स्थानीयवासी टेकबहादुर गन्धर्व पनि पहिले मानामुठी अन्न बटुल्ने क्रममा दाङ, सल्यान, रुकुम, रोल्पालगायत स्थानसम्म पुग्ने गरेकोमा अहिले यो पेसाबाट घरपरिवार पाल्न नसकेपछि हाल तुलसीपुरमा ज्याला मजदुरी गर्दै परिवार पाल्ने गरेको गरेको बताउँछन् । सल्यान हिउल्चा घर भएका महेन्द्र गन्धर्व भन्छन्, “गाइनेहरुले हिजोआज गायकगायिकाका गीतहरु मात्र सुनाउने तर खासै मेहनत नगरेका कारण पनि परम्परागत शैली हराइसकेको छ, कुनै घटनाको कथावस्तुलाई गीत बनाएर गाइने ‘कर्खा भाका’ अहिले सबैलाई गाउन नै आउँदैन ।”

लोकप्रिय ‘कर्खा भाका’ हराउन लागेकामा गायक सुशील गन्धर्व भन्छन्, “गन्धर्वको उत्थानमा कसैले पनि ठोस प्रयास नगरेकाले नेपाली संस्कृतिको एउटा अध्याय नै मेटिन लागेकोे छ । हरेक चुनावमा हामीलाई भोट बैकका रुपमा मात्र प्रयोग गरिन्छ ।”

लोपोन्मुख यो संस्कृतिको जगेर्नाका लागि स्थानीय सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने र उक्त समुदायका युवालाई रोजगारी तथा आयआर्जनका काममा लगाउन राज्यले उचित नीति बनाउनुपर्नेमा उनको जोड छ ।

समाजमा भएका राम्रा, नराम्रा घटनालाई गीत बनाएर सुसेल्ने गन्धर्वको पेसा हराउँदै जानु नेपाली संस्कृतिका लागि दुर्भाग्य हुने प्राध्यापक कमला चापागाईं बताउँछिन् । उनी भन्छिन्, “समाजमा भएका विकृतिलाई सारङ्गीको मीठो धून अनि सुरिलो भाकामा साधारण मानिससम्म सन्देश छरी चेतना वृद्धि गर्ने गन्धर्वको पेसालाई संरक्षण गर्न सबैले पहल गर्नुपर्छ ।”

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार  ७ : ५६ बजे

सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन

नेपालगञ्ज । आर्थिक वर्ष २०६१/६२ देखि निर्माण सुरु भएको सिक्टा

विश्वकप लिग-२ खेल्न नेदरल्यान्ड्स प्रस्थान गर्ने नेपाली टोलीको बिदाइ

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा हुने त्रिकोणात्मक

रचनात्मक सुझावसहित संवादमा आउन महासङ्घलाई सञ्चारमन्त्रीको आग्रह

ललितपुर । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रका

कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना

मुस्ताङ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडकराज पौडेलले कालिगण्डकी

ऊर्जा सङ्कटपछि भारतले तेल अन्वेषण विस्तार गर्ने

नयाँदिल्ली । पश्चिमएशियामा भएको युद्धका कारण ऊर्जा आपूर्तिमा आएको अवरोधपछि