काठमाडौं । मनसुनी वायुको प्रभावले आज देशका पहाडी भू-भागमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू-भागमा सरदर स्थानभन्दा दक्षिणतिर र पूर्वी भू-भागमा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ ।
जसले गर्दा देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।
त्यस्तै, राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको पनि सम्भावना रहेको विभागको आकलन छ ।


















प्रतिक्रिया