२१ माघ २०८२, बुधबार | February 5, 2026

काठमाडौं–८ का उम्मेदवारको प्राथमिकता : स्थानीय सम्पदा विकास



काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा काठमाडौं क्षेत्र नं ८ मा रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रतिनिधिसभा सदस्यका लागि सत्तागठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का जीवनराम श्रेष्ठ, नेकपा (एमाले)बाट शिवसुन्दर राजवैद्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रकाश रिमाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विराजभक्त श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीबाट कृष्णमाया मानन्धर, राष्ट्रिय जनमुक्ति पार्टीबाट रमेशकुमार डङ्गोललगायत चुनावी मैदानमा भिड्दै छन् ।

त्यसैगरी स्वतन्त्रबाट दुर्गा देवी महर्जन र नेपाल मजदुर किसान पार्टीबाट कृष्णमाया मानन्धर गरी क्षेत्र नं ८ बाट दुई जना महिला उम्मेदवार रहेका छन् । यी सबै उम्मेदवारले त्यस क्षेत्रको स्थानीय विकासलाई प्राथमिकतामा रोखेका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहेका सत्तागठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का सचिव श्रेष्ठ निर्वाचन क्षेत्र नं ८ का प्राकृतिक, सांस्कृतिक र सम्पदा (मूर्त अमूर्त)लाई केन्द्रित गरी पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न नेतृत्वदायी भूमिका खेल्ने प्रतिबद्धता गरेका छन् ।

प्रतिबद्धतापत्रमा भनिएको छ, “नेपाल संवत्को इतिहाससँग जोडिएको लखुतीर्थलाई राष्ट्रिय विभूति शङ्खघर साख्वाः को जीवनीसँग जोडेर ऐतिहासिकस्थलका रुपमा विकास गर्न पहल गर्ने ।” उम्मेदवार श्रेष्ठले ८ नं क्षेत्रभित्र पर्ने मठमन्दिरका गुरु, पुजारी, वहाः र वहीका प्रमुख र परम्परागत बाजा, नृत्य सिकाउने गुरुलाई प्रोत्साहनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए ।

हनुमान ढोका परिसरमा खुला क्षेत्र विस्तार गरी रमणीयस्थल बनाई पर्यटकलाई आकर्षित गर्न पुरानो हनुमान ढोका प्रहरी परिसर कार्यालयको भवन खुला राख्न पहल गर्ने उनको प्रतिबद्धता छ । ५३ हजार मतदाता रहेको यो क्षेत्र भूगोलको हिसाबले सानो भए पनि हनुमान ढोका, जीवित कुमारी, स्वयम्भूलगायतका काठमाडौंका महत्वपूर्ण सांस्कृतिक सम्पदाको भने केन्द्रबिन्दु नै मानिन्छ ।

त्यसैगरी सोही क्षेत्रमा जिल्ला समन्वय समिति काठमाडौंका निवर्तमान प्रमुख तथा जिल्ला समन्वय समिति महासङ्घका प्रवक्ता शिवसुन्दर राजवैद्य प्रतिनिधिसभा सदस्यका लागि मङ्सिर ४ को चुनावमा नेकपा एमालेका तर्फबाट काठमाडौं क्षेत्र नं ८ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन । उनले आफ्नो निर्वाचन क्षेत्र ऐतिहासिक सम्पदा भएको क्षेत्र भएकाले विश्वसम्पदा सूचीमा सूचीकृत भएको हनुमान ढोका र स्वयम्भू मन्दिर क्षेत्रको समग्र विकास गरी पर्यटकका लागि आकर्षकको क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने, “केन्द्रीय राजधानी काठमाडौं जस्तो ठाउँमा धारा नभएको ठाउँ छ, स्थानीयमा खानेपानीको समस्या छ, ‘एक घर, एक धारा’का निम्ति मैले पहल गर्नेछु ।”

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठले आफू निर्वाचित भएपछि निर्वाचन क्षेत्रका हरेक वडामा स्वास्थ्यचौकी हुँदै राष्ट्रियस्तरको अस्पताल लैजाने प्रणाली बनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार प्रकाश रिमालले आफ्नो निर्वाचन क्षेत्रभित्रका धार्मिक, ऐतिहासिक, पुरात्वात्तिक सम्पदाको पहिचान र संरक्षण गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उम्मेदवार रिमालद्वारा जारी प्रतिबद्धतापत्रमा भनिएको छ, “निःशुल्क र गुणस्तरीय सार्वजनिक शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा राज्यको दायित्व कायम गर्न प्रतिबद्ध छु ।” चुनाव नजिकिँदै गर्दा त्यस क्षेत्रका उम्मेदवारले प्रचारप्रसारलाई तीव्रता दिएका छन् । निर्वाचन प्रचारप्रसारका लागि सभा, जुलुस, खुला प्रचार अभियान खुलेसँगै काठमाडौँ क्षेत्र नं ८ मा चुनावी चहलपहल बढेको छ । उम्मेदवारले समूहमा घरदैलो र टोलमा कोणसभाका कार्यक्रम अघि बढाइरहेका छन् ।

सो क्षेत्रमा काठमाडौं महानगरका ६ वडा १३, १५, १९, २०, २३ र २४ तथा सोही क्षेत्रमा नार्गाजुन नगरपालिकाका ४ र ५ नं वडा समेटिएका छन् । त्यसमध्ये काठमाडौं महानगरका १९, २०, २४ र नागार्जुनको वडा नं ४ मा कांग्रेसले जीत हासिल गरेको छ । काठमाडौँ महानगरभित्र २३ र १३ नं वडामा एमाले विजयी भएको छ । त्यस्तै वडा नं १५ मा नेकपा ९एकीकृत समाजवादी० र नागार्जुन–५ मा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएको छ ।रासस

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ८ : २६ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता