५ श्रावण २०८३, मंगलबार | July 21, 2026

प्रधानमन्त्रीलाई समर्थन गरेका चार मधेसवादी दल किन बाहिरै ?



काठमाडौं । संसद्मा प्रतिनिधित्व गर्ने चार मधेसवादी दल सरकारलाई समर्थन गरे पनि सरकारबाहिरै छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई चारवटै मधेसवादी दलले विश्वासको मत दिए पनि उनीहरूका विभिन्न माग पूरा नभएपछि उनीहरू सरकारबाहिरै रहेका बताइन्छ । स्रोतका अनुसार ती दलमध्ये कोही मन्त्रालयको बार्गेनिङमा छन् भने कोही उपराष्ट्रपति त कोही सरकारमा सहभागी हुनुभन्दा अघि नै आफ्नो माग सम्बोधन हुनुपर्ने अडानमा रहेका छन् ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा), डा. सीके राउत नेतृत्वको जनमत पार्टी, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले प्रधानमन्त्री प्रचण्डलाई २६ पुसमा विश्वासको मत दिएका थिए ।

यस्ता छन् माग र बार्गेनिङ

तर, यी चारवटै दल अहिले सरकारबाहिर छन् । प्रधानमन्त्री प्रचण्ड र प्रमुख सत्तासाझेदार नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई सरकारमा सहभागी हुन आग्रह गर्दै आएका छन् । तर, उनीहरूको छुट्टाछुट्टै माग सम्बोधन नहुँदा सरकारबाहिरै रहेका हुन् ।

सत्तारूढ गठबन्धनबाट असन्तुष्टि भए पनि उनीहरूले सभामुख र उपसभामुखको निर्वाचनमा सत्तारूढ गठबन्धनकै साझा उम्मेदवारलाई मतदान गरेका थिए । संघमा जस्तै उनीहरूले प्रदेशतर्फ समेत सत्तारूढ गठबन्धनमै सहभागी हुँदै सहकार्य गर्दै आएका छन् ।

जसपाको नजर उपराष्ट्रपतिमा

प्रचण्डलाई विश्वासको मत दिएको जसपा उपराष्ट्रपति पाउनुपर्ने अडानमा छ । तर, सत्तारूढ दलका बीचमा भएको सहमतिनुसार उपराष्ट्रपति नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को भागमा परेको छ । माओवादी केन्द्रले उपराष्ट्रपति जसपालाई दिन मानेको छैन ।

शक्ति बाँडफाँटमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीले ‘गोप्य सहमति’ गरेको जसपाको आरोप छ । मन्त्रिपरिषद् विस्तार र शक्ति बाँडफाँटका विषय टुंग्याउन बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा जसपा अध्यक्ष यादव असन्तुष्टि व्यक्त गर्दै बीचमै उठेर हिँडेका थिए ।

अहिले जसपा अध्यक्ष यादव कहिले प्रचण्ड त कहिले ओलीलाई छुट्टाछुट्टै भेटेर असन्तुष्टि व्यक्त गर्दै छलफल गरिरहेका छन् । आइतबार ओलीसँग भेटेका यादवले समेत सोही असन्तुष्टि व्यक्त गर्दै उपराष्ट्रपति जसपाले पाउनुपर्ने अडान व्यक्त गरे । ओलीले अहिले सरकारमा सहभागी हुन आग्रह गर्दै र पछि बाँकी कुरा मिलाउँदै जाने आश्वासन दिएका छन् ।

प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्दा जसपाबिना नै मन्त्रिपरिषद् विस्तार गरे । प्रधानमन्त्री प्रचण्डले जसपाका लागि छुट्याइएका दुई मन्त्रालय वन तथा वातावरण र युवा तथा खेलकुद आफैंसँग राखेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । तर, जसपा यथास्थितिमा सरकारमा सहभागी नहुने अडानमा छ ।

शक्ति बाँडफाँटमा असन्तुष्टि व्यक्त गर्दै जसपा संसदीय दलका नेता रामसहाय यादवले यथास्थितिमै पार्टी सरकारमा सहभागी नहुने बताए । आफ्नो दलसँग कुनै सरसल्लाह नगरी अगाडि बढ्ने काम भएको बताउँदै उनले अहिलेकै अवस्थामा पार्टी सरकारमा सहभागी हुने अवस्था नरहेको स्पष्ट पारे ।

मधेस प्रदेशमा सत्तारूढ गठबन्धनको सहमतिनुसार जसपाले मुख्यमन्त्री पाएको छ । अढाई वर्षपछि मधेसको मुख्यमन्त्री आलोपालो सहमतिनुसार जनमतको हुनेछ । केन्द्रमा दुईवटा मन्त्रालय पाइरहेको जसपाले उपराष्ट्रपति वा थप एक मन्त्रालय पाउनुपर्ने बटमलाइन बनाएको छ र उसको अडान कायमै छ ।

१२ सिट रहेको जसपाले सत्ता गठबन्धनभित्र तीनवटा मन्त्रालयसहित उपराष्ट्रपतिमा दाबी गर्दै आएको छ । भागबन्डामा १४ सिट रहेको राप्रपालाई रोजेअनुसारकै तीन मन्त्रालय र उपप्रधानमन्त्रीसमेत दिँदा जसपालाई दुई मन्त्रालय छुट्याइएको छ । प्रदेशमा मुख्यमन्त्री दिएको भन्दै केन्द्रमा दुई मन्त्रालयमा मनाउने प्रयासमा प्रचण्ड र ओली छन् ।

उद्योग पाए मात्रै सरकारमा सहभागी हुने जनमतको अडान

जनमत पार्टीले आफूले रोजेको मन्त्रालय नपाएको भन्दै सरकारबाट बाहिरिने अल्टिमेटम दिँदैआएको छ । सत्तारूढ दलको बीचमा भएको सहमतिनुसार जनमतले खानेपानी मन्त्रालय पाएको छ ।

जनमत पार्टीका उपाध्यक्षसमेत रहेका अब्दुल खान अहिले बिनाविभागीय मन्त्रीका रूपमा रहेका छन् । ११ पुसमा उनले बिनाविभागीय मन्त्रीका रूपमा शपथ लिए पनि खानेपानी मन्त्रालयको कार्यभार सम्हालेका छैनन् ।

जनमतले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउनुपर्ने अडानमा छ । तर, सत्तारूढ दलहरूका बीचमा भएको सहमतिनुसार सो मन्त्रालय एमालेको भागमा परेको छ । एक महिना हुनै लाग्दासमेत खान बिनाविभागीय मन्त्रीकै हैसियतमा छन् । जनमतले समेत सत्तारूढ दलहरूका बीचमा मन्त्रालयको भागबन्डामा असन्तुष्टि व्यक्त गर्दै आएको छ ।

पूर्वसहमतिनुसार मन्त्रालय नदिएर सत्तारूढ दलले बेइमानी गरेको आरोप खानले लगाए । यस विषयमा अध्यक्ष सीके राउतले प्रचण्ड र ओली दुवैलाई भेटेरै यथास्थितिमा सरकारमा रहन नसकिने बताउँदै आएका छन् । स्रोतका अनुसार एमालेले खानेपानी मन्त्रालय लिएर उद्योग मन्त्रालय जनमतलाई दिने तयारी भइरहेको बताइन्छ । उद्योग मन्त्रालय नपाएको खण्डमा जनमत थप एक मन्त्रालय पाउनुपर्ने अडानमा छ ।

रेशमको रिहाइपछि नै सरकारमा सामेल हुने अडानमा नाउपा
नागरिक उन्मुक्ति पार्टी भने जेलमा रहेका आफ्ना संरक्षक तथा पूर्वसांसद रेशम चौधरीको रिहाइपछि मात्रैसरकारमा सहभागी हुने अडानमा रहेको छ । सरकारलाई समर्थन गर्दासमेत नाउपाले सोही सर्त अघिसारेको थियो ।

प्र्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीले कानुनी प्रक्रिया पु¥याएर चौधरीलाई जेलमुक्त गरिने आश्वासन दिएका छन् ।

के गर्छ लोसपा ?

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको लोसपा विपक्षी कित्तामा छ । प्रचण्डलाई विश्वासको मत दिए पनि लोसपा सभामुख र उपसभामुखको निर्वाचनमा सत्तारूढ गठबन्धनका साझा उम्मेदवारलाई मत दिएन ।

नेपाली काँग्रेस नेतृत्वको विपक्षी गठबन्धनमा रहेको लोसपा सरकारबाहिरै रहने निष्कर्षसहित विपक्षी कित्तामा सहभागी छ । नागरिकतासहितका मुद्दा आफूहरूले उठाउँदै आएको र सो माग पूरा गर्ने आश्वासन सत्तारूढ दलले गरेपछि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको लोसपाले जनाएको छ । आजको राजधानी दैनिकमा सुभाष साहले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ७ : ५४ बजे

तयारी पोसाक सङ्घका पदाधिकारीसँग प्रधानमन्त्रीले छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल तयारी पोसाक उद्योग सङ्घका

अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण

गण्डकी । गत आवमा एक सय ६९ देशका पर्यटकले अन्नपूर्ण

क्यानाडाली वस्तुमा ५० प्रतिशतसम्म नयाँ कर लगाउने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने विभिन्न

कक्रोच पार्टीको संसद मार्चमा मिडियाविरुद्ध आक्रोश, संचारकर्मीबीच चर्कियो बहस

कुनै पनि ठूलो विरोध प्रदर्शनमा सञ्चारमाध्यम वा पत्रकारहरू आन्दोलनकारीको निशानामा

विश्वविजेता स्पेनको स्वदेशमा भव्य स्वागत, २० लाख समर्थक सडकमा उत्रिए

काठमाडौं । फिफा विश्वकप २०२६ को उपाधि जितेर स्वदेश फर्किएको