काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणी मुद्दामा काठमाडौं जिल्ला अदालतले जाहेरीकर्ताको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई बकपत्रका लागि झिकाउन आदेश दिएको छ ।
आइतबार न्यायाधीश शंकरराज बरालको इजलासले जाहेरीकर्ताको स्वास्थ्य परीक्षण गर्ने चिकित्सक नै बकपत्रका लागि झिकाउनू भन्ने आदेश दिएका हुन् । आइतबार वादीतर्फका कानुन व्यवसायीहरुले मेडिकल टिमका मुख्य डाक्टरको बकपत्र चाहिने माग गरेपछि अदालतले स्वास्थ्य परीक्षण गर्न चिकित्सकलाई बकपत्रका लागि झिकाउन आदेश दिएको हो ।
यसअघि मुख्य चिकित्सकको स्थानमा सहयोगी चिकित्सकको बकपत्र राखिएको भन्दै वादीतर्फका कानुन व्यवसायीले त्यसलाई अस्वीकार गर्दै मुख्य चिकित्सकलाई नै झिकाउन माग गरेका हुन् ।
अदालतले क्रिकेटरद्वय साहब आलम र अनिश श्रेष्ठको पनि वकपत्र गराउन आदेश दिएको छ ।
एक नाबालिकलाई जबरजस्ती करणी गरेको आरोपमा उनीविरुद्ध मुद्दा जारी छ । यसअघि काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेशलाई पाटन उच्च अदालतले सर्तसहित २० लाख धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो ।
उक्त आदेश लगत्तै सन्दीप थुनामुक्त भएका थिए ।



















प्रतिक्रिया