१ श्रावण २०८३, शुक्रबार | July 18, 2026

प्रजनन केन्द्रमा जन्मिए तीन सय घडियाल गोही



नवलपुर । चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा रहेको घडियाल प्रजनन केन्द्रमा यस वर्ष तीन सय सात बच्चा जन्मिएका छन् । सङ्कटापन्न अवस्थामा रहेका घडियाल गोहीको संरक्षण गर्ने उद्देश्यले सन् १९७८ मा कसरामा सो केन्द्र स्थापना गरिएको थियो ।

केन्द्रमा जन्मिएर हुर्काइएका घडियाल हरेक वर्ष प्राकृतिक बासस्थानमा लगेर छाड्ने गरिएको छ । यस वर्ष जन्मिएका घडियाल गोहीहरू वयस्क भएपछि प्राकृतिक बासस्थानमा छाडिने निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बताए । तिवारीका अनुसार हाल प्रजनन केन्द्रमा साना–ठूला सबै गरी छ सय ४० घडियाल छन् ।

“निकुञ्जको प्रजनन केन्द्रमा हुर्काइएका वयस्क घडियाललाई सन् १९८१ बाट देशका विभिन्न नदीमा लगेर छाड्ने गरिएको छ”, उनले भने, “अहिले प्रजनन केन्द्रमा तीन सय सात नयाँ जन्मिएका, ७२ एक वर्ष उमेर समूहका, एक सय ८७ किशोरावस्थाका, ४१ उपवयस्क र ३३ वयस्क घडियाल रहेका छन् ।” यस केन्द्रमा हुर्किएका घडियाललाई निकुञ्जले बर्सेनि राप्ती, नारायणी नदीमा छाड्ने गरेको छ । प्रजनन केन्द्रमा हुर्किएका घडियालहरू निकुञ्जले हालसम्म देशका अन्य नदीहरू सप्तकोशी, बबई, कर्णाली र कालीगण्डकीमा लगेर प्राकृतिक बासस्थानमा छाडिसकेको अधिकृत तिवारीले बताए ।

उनका अनुसार १९८१ बाट हालसम्म एक हजार आठ सय ५२ घडियाललाई प्रजनन केन्द्रमा हुर्काइएर प्राकृतिक बासस्थानमा छाडिएको छ । “प्रजनन केन्द्र स्थापनापछि हालसम्म राप्तीमा एक हजार एक सय ३२, नारायणीमा चार सय १९, सप्तकोशीमा एक सय १५, बबईमा एक सय १०, कर्णालीमा ४१ र कालीगण्डकीमा ३५ वटा घडियाल छाडिएको छ”, उनले भने, “अहिले कालीगण्डकी नदीमा घडियाल भेटिएको छैन । सप्तकोशीमा गत वर्ष केही घडियाल देखिएको थियो भने अन्य नदीमा घडियाल सहजै देख्न सकिन्छ ।”

प्रजनन केन्द्रमा हुर्काएर प्राकृतिक बासस्थानमा छाड्ने गरिएको गोहीमध्ये थोरैमात्रै जीवित रहने गरेको पाइएको उनले बताए । “राप्तीमा छाडिएका गोहीहरूको बाँच्ने प्रतिशत अलि बढी छ”, उनले भने, “अन्य नदीमा छाडिएका गोही हराउने गरेका छन्, केही नदीहरू बग्दै भारततर्फ जाने गरेका छन् भने केही गोही विभिन्न कारणले मर्ने गरेका छन् ।” नारायणीबाट बग्दै भारततर्फ गएको गोहीहरू नवलपुरको त्रिवेणीस्थित भैसालोटन पुलबाट नेपालतर्फ फर्किन नसक्ने अधिकृत तिवारीले बताए ।

“नदी प्रणालीमा रहेका गोही पनि बोटेहरूले माछा मार्न प्रयोग गर्ने तियारी जालमा अल्झिएर मर्ने गरेका छन्”, उनले भने, “हामीले तियारी जाल प्रयोग गरेर नदीमा माछा मार्न प्रतिबन्ध लगाएका छौँ । तर लुकीछिपी तियारी जाल प्रयोग हुँदा सङ्कटापन्न अवस्थामा रहेका गोही त्यो जालमा जेलिएर मर्ने गरेका छन् ।” निकुञ्ज र संरक्षणकर्मीले बर्सेनि जालमा बेरिएका घडियाललाई उद्धार गर्ने गरेका छन् । प्राकृतिक बासस्थानमा जोखिमयुक्त अवस्थामा रहेका घडियालका अन्डा सङ्कलन गरेर प्रजनन केन्द्रमा लगेर बच्चा जन्माउने गरिएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ७ : ४३ बजे

सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति

काठमाडौँ । सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति भएको

स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोड बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष

काठमाडौँ । नेपाल टेलिभिजन (हाल, सार्वजनिक सेवा प्रसारण संस्था) को

एमाले उपाध्यक्ष पौडेललाई साधारण तारेखमा छाड्न आदेश

काठमाडौँ । विशेष अदालतले नेपाली कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष

खजुरा क्यान्सर अस्पतालमा आजबाट लिक्विड अक्सिजन प्लान्ट संचालनमा

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालमा

खजुरा क्यान्सर अस्पतालका बिग्रेका उपकरणहरु राष्ट्रिय आविस्कार केन्द्रले मरमत गरिदिने

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल