११ चैत्र २०८२, बुधबार | March 25, 2026

दिवा खाजा कार्यक्रम’ सिकाइमा प्रभावकारी बन्दै



देउखुरी । घोराही उपमहानगरपालिका–१८ स्थित श्री मावि रझेनामा कक्षा ५ मा अध्ययनरत सुदीप मगर दिवा खाजा खान पाउँदा खुसी छन् । आइतबार हलुवा, सोमबार चना, मङ्गलबार खीर, बुधबार चिउरा÷पुलाउ, बिहीबार खिचडी÷चिउरा शुक्रबार अण्डा खाने गरी विद्यालयले तालिका बनाएको छ । सोहीअनुसार दिवा खाजा खान पाउँदा उनी दङ्ग छन् ।

सोही विद्यालयमा कक्षा ६ मा अध्ययनरत सम्झना नेपालीलाई खीर खाने दिनको तालिका आउँदा अरु दिनमा भन्दा अझ बढी खुसी लाग्छ । साथीहरुसँगै बसेर दिवा खाजा खान पाउँदा निकै खुसी हुन्छन् । उनलाई खीर निकै मन पर्छ । “दिदी आज के नास्ता पाक्दै छ, आज हामीले के खाने हो ? भन्दै बिहानैदेखि साना नानीबाबुहरु सोध्न आउँछन्”, दिवा खाजा पकाउँदै आएकी सुन्तली चौधरीले भनिन, “कतिपय बालबालिका दिउँसो नास्ता खान पाउने भएपछि पढ्न आउने गरेका छन् ।”

गाउँबाट विद्यालय आउने कतिपय बालबालिकाको घरको अवस्था नाजुक छ । जसका कारण दिवा खाजाको भरमा भोक मेट्नुपर्ने बाध्यता रहेको छ । दिवा खाजा कार्यक्रम लागू भएपछि धेरै बालबालिकाको विद्यालयमा उपस्थिति नियमित हुने गरेको विद्यालयको दाबी छ । कार्यक्रममले अभिभावकमा आर्थिक भार कम परेको छ भने विद्यार्थी नियमित विद्यालयमा उपस्थित हुने गरेका छन् ।

सो विद्यालयमा मन्टेश्वरी, अङ्ग्रेजी माध्यमको १ देखि ६ सम्मका तथा नेपाली माध्यमका १ देखि ६ कक्षासम्मका सातसय १५ बढी बालबालिकालाई दिवा खाजा खुवाउने गरिएको छ । कार्यक्रमले शैक्षिक गुणस्तर कायम गर्न निकै सघाउन पुगेको विद्यालयका प्रधानाध्यापक उद्धव न्यौपानेले बताए । “हामीले साना नानीबाबुलाई हात धुन, खाना खान, सरसफाइमा ध्यान दिने कुराको बारेमा सिकाएका छौँ ।”

सामुदायिक विद्यालयमा कार्यक्रम थप व्यवस्थित बनाउन भन्दै घोराही उपमहानगरपालिकाले शैक्षिक सत्रको सुरुआतबाटै कार्यक्रमको अनुगमन थालेको छ । उपमहानगर शिक्षा विकास समितिले विद्यमान अवस्थाको पहिचान गरी समस्या देखा परेको अवस्थामा सुधार गर्न अनुगमन सुरु गरेको हो ।

कतिपय सामुदायिक विद्यालयमा भर्ना भएका तर नियमित उपस्थित नहुने विद्यार्थीको नाममा पनि खाजा खुवाएको भन्नेलगायत विषयमा गुनासो आएको भन्दै पालिकाले स्थलगत अनुगमन गरेको शिक्षा समिति संयोजक तथा घोराही उपमहानगरका प्रवक्ता राममणि पाण्डेले जानकारी दिए ।

सामाजिक विकास महाशाखा प्रमुख विनोद गौतमले कार्यक्रम बालबालिकाका लागि निकै प्रभावकारी र उपयोगी पाइएको बताए । खाजा खाँदा बालबालिकाले व्यावहारिक ज्ञान आर्जन गर्नुका साथै जीवन उपयोगी सीप पनि सिक्ने अवसर पाएको बताए ।

कार्यक्रम थप व्यवस्थित र नियमित तालिकाअनुसार बालबालिकालाई विद्यालयले खाजा उपलब्ध गराए नगराएको बारेमा अनुगमनपश्चात् प्रतिवेदन तयार पारेर काम गर्ने उपमहानगर शिक्षा महाशाखा प्रमुख नारायणप्रसाद पौडेलको भनाइ छ ।

घोराहीमा ९३ सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम लागू छ । घोराहीमा करिब १५ हजार बराबर विद्यार्थी छन् । वार्षिक एक सय ८० दिनको दिवा खाजा खुवाउने गरी कार्य तालिका बनाएर कार्यक्रम लागू गरिएको छ । गत आवमा करिब रु तीन करोड बराबरको दिवा खाजा कार्यक्रमका लागि बजेट आएको सामाजिक विकास महाशाखाका प्रमुख पौडेलले जानकारी दिए ।

कार्यक्रमले विद्यार्थीको पढाइमा गुणस्तर वृद्धि भएको पालिका उपमेयर हुमा डिसीले बताए । “खाजा कार्यक्रम सञ्चालन भएपछि सामुदायिक विद्यालयमा विद्यार्थी नियमित भएका छन्, पहिलेको तुलनामा अहिले बजारका जङ्कफुड भित्रिएका छैनन्, खानपानमा प्रभावकारीता पर्दै आएको छ”, उनले भने, “यो कार्यक्रम बालबालिकाको पोषण सुरक्षासँगै शैक्षिक लक्ष्य हासिल गर्ने माध्यम पनि हो ।”

यो आवका लागि पहिलो चौमासिकअन्तर्गत ५५, दोश्रो चौमासिकअन्तर्गत ८५ दिनको दिवा खाजा कार्यक्रमको रकम निकासा भईसकेको छ । अब असार मसान्तसम्मको एक सय ८० दिनको लक्ष्य भेट्ने गरी ४० दिन नियमितरुपमा दिवा खाजा खुवाउने कार्यक्रम छ । पालिकामा धार्मिक स्कुलका रुपमा रहेको वैदिक गुरुकुलका लागि अलग्गै अनुदान जाने हुँदा त्यहाँ दिवा खाजा कार्यक्रम लागू भएको छैन । स्थलगत रुपमा गरिएको अनुगमनबाट तयार पारिएको प्रतिवेदनका आधारमा खाजा कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै विद्यार्थी सङ्ख्यालाई मध्यनजर गर्दै वृद्धि गर्न थप जोड दिइने पालिकाको योजना रहेको जनाएको छ । रासस

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  ११ : ०७ बजे

प्रस्तावित प्रधानमन्त्री बालेन्द्र शाहको शपथ शुक्रबार १२ः३४ बजे, पदबहाली २ः१५ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह

फागुन २१ गतेको निर्वाचन मानक : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा कार्यभार सुरु

काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सिंहदरबारस्थित सङ्घीय संसद्

इटहरीको पूर्वाञ्चल क्याफेको आगलागी नियन्त्रणमा

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित पूर्वाञ्चल क्याफे र आईसक्रिम

सुनसान सिंहदरबार

काठमाडौं । देशमा नयाँ आर्थिक वर्षको बजेट निर्माणको चटारो लगभग