७ श्रावण २०८१, सोमबार | July 22, 2024

बन्दुक बोक्ने लाहुरेको सपनाको ‘महल’ गोरखा युनाइटेड स्कुल



कोहलपुर ।  सामान्यतया पल्टनियाहरु पेन्सन पकाएर फेर्केपछि उत्पादनशील काममा भन्दा मोज मस्ती र ऐयासी जिन्दगी बिताउने गर्दछन् । जति गरियो पल्टनमा गरियो भन्दै बाँकी पेन्सनको जीवन सुखसयल र रमाइलो गरि बिताउने हो भन्दै रमाईलो जिन्दगी बिताइरहेका धेरै पल्टनियाहरुलाई हामीले देख्न सक्दछौं । थोरै लाहुरेहरु मात्र त्यस्ता भेटिन्छन्, जस्ले नेपाल फर्केर उद्यम गर्छन्, ब्यापार गर्छन् र उत्पादनशील कर्ममा आफुलाई लगाउँछन् । पछिल्लो समय त पल्टनियाहरु पेन्सन पाकेपछि पनि नेपाल नफर्केर पल्टनमा रहेकै देशमा अन्य काम गरेर बस्नेहरुको संख्या पनि धेरै छ । पल्टनबाट फर्केर पनि देशमा पवित्र उत्पादनशील कर्म गर्ने निकै थोरै लाहुरे मध्यको एउटा नाम हो केशर बहादुर आले ।

दैलेखको नारायण नगरपालिकाका २०१८ सालमा जन्मेका आले २०२९ सालमा आफ्नो बुवा आमाको पछि लाग्दै बाँकेको साबिक नौबस्ता र हालको बैजनाथ गाँउपालिकामा बसाई सरेर आएका थिए । उमेरमा बैंश चढ्दा नचढ्दै आलेमा मलेयाको लाहुरे बन्ने हुटहुटी चल्यो । १० कक्षामा बढ्दा बढ्दै केशर आले इस्वी सम्बत २०८० मा ब्रिटिस आर्मीमा भर्ति हुन पुगे । १९ वर्षको कलिलो उमेरमा भर्ति भएका आलेले १९ वर्ष पल्टनमा बिताए । पल्टनको अधिकांस समय मेडिकल हेडक्वाटरमा बिताएका उनलाई पल्टनमै रहँदा नेपालमा फर्केपछि नर्सिङ होम खोल्ने तिब्र चाहना थियो । मनमनै नेपालमा नर्सिङ होम खोलेर स्वास्थ्य सेवा दिएको पल्टनकै ड्युटीमा आलेले कल्पना गर्दथे ।

सम्बत १९९९ मा पेन्सन पकाएर नेपाल फर्केका आलेलाई बाँकेको कोहलपुरमा नर्सिङ होम खोल्ने तिब्र इच्छा थियो । मेडिकल हेडक्वाटरमा काम गर्दै उनले नेपालबाट अण्डर एसएलसी मै भर्ति भएपनि प्रमाणपत्र स्तरको पढाई पुरा गरेका थिए । नेपालमा फर्केपछि केही पल्टनिया साथीहरुको संयुक्त लगानीमा स्वास्थ्य क्षेत्रमा काम गर्ने इच्छा सहित नेपाल फर्केका उनले आए लगत्तै साथीहरुसंग छलफल गर्न सुरु गरे ।

धेरै साथीहरुसंग सल्लाहकै क्रममा उनको महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका प्रध्यापक डा रमबिलास गुप्ता र अर्का प्राध्यापक अशोक बस्नेतसँगको बसाईमा डा. गुप्ताले पैसा कमाउने भए नर्सिङ होम र शिक्षा र धर्म कमाउने भए विद्यालय खोल्न सल्लाह दिएपछि भने आलेको दिमाख घुम्यो । पैसा त पल्टनबाट कमाइएकै छ, अव धर्म र सेवा दुबै गर्नु पर्छ भन्ने उनलाई लाग्यो र त्यसै दिनबाट उनले विद्यालय खोल्ने अठोट सुरु गरे ।

३६ जना पूर्व ब्रिटिस आर्मी , सिंगापुर पुलिस र केही हाल बहाल रहेका आर्मी र पुलिससँगको बसाईमा आफ्ना सहित तिनीहरुको घरबाट मात्र पनि १६५ बालबालिका पढाउन सकिने देखियो । १६५ जना विद्यार्थी र आठ जना शिक्षक कर्मचारीबाट सुरु भयो केशर आलेको गोरखा युनाइटेड पब्लिक स्कुल ।

आलेको नेतृत्वमा केही लाहुरेहरुले कोहलपुर –२ मा संचालनमा ल्याएको गोरखा युनाइटेड पब्लिक स्कुल यतीबेला पश्चिम क्षेत्रकै गुणस्तरीय शिक्षा प्रदान गर्ने थलोका रुपमा स्थापित भएको छ । पल्टनबाट फर्केको ५ महिनापछि नै बिद्यालय संचालनको यात्रा सुरु गरेका आलेले २०५६ सालमै स्कुल स्थापनाका लागि जग्गा खरिद् गरे । संस्थापक तथा सञ्चालक समितिका अध्यक्ष आलेका अनुसार स्कुलले २०५७ सालमा कक्षा ५ बाट कक्षा सञ्चालन गरेको थियो । २०५७ सालमा स्थापना भएको स्कुलले कक्षा नर्सरीदेखि स्नातक तहसम्म अध्ययन गराउँदै आएको छ । सो विद्यालयमा हाल १७ सय जनाभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । २०५८/२०५९ अध्यायपन सुरु गरेको गोरखा युनाइटेडका विद्यार्थीहरूको एसएलसीको पहिलो ब्याच भने २०६० सालको ब्याच हो ।

२०६५ मा विज्ञान संकाय तर्फ आइएससी विज्ञान विषय अध्ययन सुरु गरेको विद्यालयले २०६६ मा प्लस टु तर्फ व्यवस्थापन सङ्कायमा पढाइ सुरु भएको हो । २०७४ सालबाट भने गोरखामा स्नातक तहमा कृषितर्फ बिएस्सी पढाइ भइरहेको छ ।

उनी २०५७ सालदेखि सञ्चालक अध्यक्षको भूमिका हाल पनि क्रियाशील देखिन्छन् । पल्टनिया अनुशासनलाई कायम गर्दै केशरले विद्यालय समग्र व्यवस्थापनको जिम्मा पनि आफैले लिएका छन् । गोरखामा अध्धयन गरेका विद्याथी कम्तीमा कुलतमा लाग्दैनन् र अनुशाशित हुन्छन् भन्ने ट्रेडमार्क बनाउन आले सफल देखिन्छन् । विद्यालयका लगानीकर्ताहरू अधिकांश बेलायतमा छन् । नेपालमा करिब ५ –७ जना मात्रै लगानीकर्ताहरू सहित केशरले विद्यालय संचालनको संघर्ष जारी राखेका छन् ।

युनाइटेडको प्रिन्सिपलको रुपमा साधना थापा, कृषितर्फ बिएस्सीमा क्याम्पस चिफको रुपमा प्राध्यापक इश्वरीचन्द्र प्रकाश तिवारीले नेतृत्व गरिरहेका छन् ।

गोरखामा अध्ययन गर्न विद्यार्थीहरूको पछिल्लो समय तँछाडमछाड नै हुने गर्दछ । यहाँ बालबालिका अध्ययन गराउन शक्तिकेन्द्र समेत लाग्ने गरेको आले बताउँछन् । सोर्स फोर्स भन्दा योग्य र कर्मशील विद्यार्थी विद्यालयको रोजाईमा पर्ने गरेको उनी बताउँछन् । उनका अनुसार कुनैपनि लगानीकर्ताहरूले एक रुपैयाँ पनि नाफा लिने गरेका छैनन् । वार्षिक रुपमा भएको नाफा विद्यालयकै स्तर उन्नतीमा खर्च गर्ने गरि लगानीकर्ताहरुले प्रतिबद्धता ब्यक्त गरेको आलेले बताए ।

स्कुलको नाममा ९ बिगाहा जग्गा रहेको छ भने अहिले भएको पूर्वाधार सबै विद्यालयको हो । आगामी शैक्षिक सत्रबाट कक्षा नर्सरी देखि कक्षा पाँचसम्म फोनबाट अध्‍यापन सुरु गरिने विद्यालयले योजना बनाएको छ । यतिमात्रै होइन विद्यार्थीहरूको स्विमिङ पुल र शिक्षक कर्मचारीहरूको लागि जिम स्थापना गर्नेसमेत योजना पञ्चवर्षीय योजनामा समावेश गरिएको छ । आगामी पाँच वर्षमा गोरखा युनाइटेड पब्लिक स्कुल सम्पूर्ण रुपमा डिजिटल स्कुल बन्ने आलेले बताए। उनका अनुसार स्मार्ट बोर्ड टिचिङ सुरु हुनेछ भने नर्सरीदेखि स्नातक तहसम्म व्यवहारिक शिक्षा लागू हुनेछ ।

हालै प्रकाशित एसईईमा गोरखाका ३.६ देखि ४.० जीपीएमा १५ जना, ३.२ देखि ३.६ जीपीएमा ३७ जना, २.८ देखि ३.२ जीपीएमा ४३ जना र २.४ देखि २.८ जीपीएमा १५ जना गरि ११० जना एसईई उत्तिर्ण भएका छन् ।

पञ्चवर्षीय योजना सुनाउँदै आलेमगर भन्छन् गोरखामा नर्सरीदेखि युकेजीमा विद्यार्थीले किताब बोकेर स्कुल आउनु पर्नेछैन । पाठ्यक्रमको कन्सेप्टमा शिक्षकले पुस्तक तयार गरेर व्यवहारिक र प्रविधिमैत्री रुपमा शिक्षा प्रदान गर्नेछन् ।’ उनले भने । योजना कार्यान्वयन २०८० सालको सुरु नै कार्यान्वयनको चरणमा पुगिसकेको छ । विस्तारै माथिल्ला कक्षाहरूमा समेत योजना लागू हुनेछ । २०८१ मा कक्षा १ देखि ५ सम्म लागू हुनेछ । पाँच वर्षमा हरेक वर्ष गरी कक्षा १२ सम्म लागू हुने उनले बताए । त्यसपछि तल्ला कक्षाका विद्यार्थीहरूले झोला र किताब बोक्ने छैनन् ।

गोरखाका ९० प्रतिशत विद्यार्थी रोजगारमा लागि सकेको पनि आलेले दाबी गर्छन् । आलेका अनुसार गोरखा युनाइटेड पब्लिक स्कुलमा अहिले अध्ययन गरिरहेको ब्याच २१ औँ हो । नर्सरीदेखि कक्षा १० सम्म अहिलेसम्म १७ सय भन्दा बढी विद्यार्थी पासआउट भइसकेका छन् । प्लस टु तर्फ २०६५ देखि हालसम्म १३ सय जना पासआउट भइसकेका छन् । यहाँ अध्ययन गरेका हरू विश्वविद्यालय हरूमा प्रोफेसर सम्म भएका छन् ।

अहिले अध्ययन गरिरहेका विद्यार्थीहरूले शैक्षिक रुपमा मात्रै होइन, खेलकुद, विज्ञान प्रविधि, वाक कला लगायतमा निपूर्ण रहेको स्कुलले जनाएको छ । जिल्ला मै उत्कृष्ट रिजल्ट रहेको छ । गोरखा कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज पनि हो । यसमा ५० जना विद्यार्थीको कोटा रहेको छ । क्याम्पस प्रमुख प्रोफेसर इश्वरी चन्द्र प्रकाश तिवारी अहिले सातौं सेमेस्टर पढाइ भइरहेको बताउँछन् । उनी भन्छन् ,‘कृषि नेपालको मेरुदण्ड हो, कृषि विना जिविकोपार्जन सम्भव छैन । बढ्दो जनसङ्ख्याको भरणपोषण हो । गाँसको लागि आवश्यक हो । रोजगारमूलक शिक्षाका लागि कृषि अध्ययन भइरहेको छ ।’

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  २ : १८ बजे

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्यले गरे दाबी पेस

बुटवल । नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यले लुम्बिनी

भ्रष्टाचारको निष्पक्ष र स्वतन्त्र छानबिनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न समयमा चर्चामा आएका

हरिवंश आचार्यले दिए आफ्नो स्वास्थ्य सामान्य रहेको जानकारी

काठमाडौँ । हास्य कलाकार हरिवंश आचार्यको नाकभित्रको सानो नसा फुटेको

प्रधानमन्त्री ओली र बर्षमान पुनबीच संसदमा भनाभन !

काठमाडौँ । प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी

देशभरका शिवालयमा भक्तजनद्वारा पूजाआजा

काठमाडौं । साउनको पहिलो सोमबार आज देशभरका शिवालयमा भक्तजनले पूजाआजा