२२ बैशाख २०८१, शनिबार | May 4, 2024

सदभाव छर्दै मोहर्रम पर्व : हुसैनको त्याग र बलिदानको सम्झना



बुटवल । मोहर्रम प्रमुख इस्लामिक पर्व हो । यो हिजरी माह मुहर्रमको पहिलो दश दिनसम्म मनाइन्छ । इस्लामी समुदायको यो विशेष पर्वलाई हिन्दूहरूले पनि मनाउने भएकाले पछिल्लो समयमा मुहर्रम आपसी भाइचारा र धार्मिक सद्भावको पर्व बन्दै गएको छ ।

मुहर्रमको बढी महत्त्वपूर्ण दिन ‘आशूरा’ हो, जो मुहर्रमको दशौँ दिन पर्दछ । विभिन्न मुस्लिम समुदायका लागि यसको धार्मिक महत्त्व अलग–अलग हुनसक्छ । अधिकांश मुस्लिम समुदाय आशूरालाई अत्यन्त महत्त्वका साथ मान्ने भएकाले यसलाई विशेषरूपमा मनाउने गरेका छन् ।

भाकल गरी घरमा स्थापना गरिएको ताजियालाई पूजाअर्चना गर्नाले पारिवारिक सुख, समृद्धि तथा मनोकामना पूरा हुने जनविश्वास छ । साथै यो पर्व श्रद्धापूर्वक मनाउनाले परिवारिक सुख, शान्तिका साथै बिग्रेको कामसमेत बन्ने गरेको कपिलवस्तुका सामाजिक अभियान्ता रामदयाल ठाकुरले बताए ।

“हिन्दूहरू समेतले मनाउने भएकाले पछिल्लो समयमा मुहर्रमको रौनकता बढ्दै गएको छ । यो पर्व मान्नेहरूले ताजिया बनाइ ढोल, मजिरा, तासा बजाउँदै झर्रा आदि गीत गाउने चलन छ ।” मधेस मानवअधिकार गृह कपिलवस्तुका उपाध्यक्ष तथा सामाजिक अभियान्ता ठाकुरको भनाइ छ ।

आशूराका दिन ताजिया यात्रा गर्दै मुहर्रमका सहिदहरूको यादमा मातम मनाइन्छ र शहिदहरूलाई श्रद्धाञ्जलि दिइन्छ । यसको अतिरिक्त, सामाजिक तथा धार्मिक कार्यक्रम आयोजित हुन्छ । हिन्दूहरूले पनि यो पर्वलाई निराहार व्रत बसी शोक समारोहका साथ, ताजिया यात्रा गर्दै मनाउने गरेका छन् ।

इस्लामिक क्यालेन्डरअनुसार मुहर्रम इस्लाम धर्मको पहिलो महिना हो । यसलाई ‘हुरमतको महिना’का साथै ‘गम र मातम’को महिना पनि भनिन्छ । प्रत्येक वर्षको यो महिना पैगम्बर महोमदको नाति इमाम हुसेन ‘सहिद’को सम्झनामा हिन्दू र मुस्लिम समुदाय एकसाथ मनाउने गरेका छन् ।

सन् २०२३ मा मुहर्रम २० जुलाईबाट सुरू भएको छ, त्यसैले यो वर्ष २९ जुलाईमा मुहर्रम मनाइँदैछ । इस्लाम धर्मका अनुसार यो महिनाले न्याय र अधिकारका लागि विशेष महत्त्व र इतिहास बोकेको छ । यही महिनामा हजरत इमाम हुसैनले कर्बलाको लडाइँमा सहादत प्राप्त गरेका थिए ।

मुहर्रम महिनाको पहिलो दश दिन इमाम हुसेनको शोकका रूपमा मनाइन्छ । यसलाई आशूरा पनि भनिन्छ । हजरत इमाम हुसैन अफ्ना ७२ साथीसहित मोहर्रम महिनाको दशौँ दिन कर्बलाको मैदानमा सहिद भएकाले उनैको सहादत र बलिदानीका लागि यो दिनलाई विशेषरूपमा सम्झिने गरिएको छ ।

“हजरत इमाम हुसैन न्याय, धर्म र अधिकारका लागि तत्कालीन इराकका बादशाह याजिदविरुद्धको लडाइँमा उनको सेनाबाट परिवारका सदस्य र अन्य साथीसहित कर्बलाको मैदानमा सहिद भएका थिए । उनी समानता, न्याय र दयालुताको लागि लड्ने गर्थे”, मुस्लिम अगुवा अब्दुल्ला अलिगले बताए ।

तत्कालीन सल्तनतमा त्यहाँका नागरिकले अत्यधिक अन्याय भोग्नुपरेको उनीहरुकै मुक्तिका लागि यमाम हुसैनले सहिद हुनु परेको बताइन्छ। अब्दुल्ला अलिगलका अनुसार विशेषगरी त्यस्तै परम्परागत अधिकारको तत्कालीन राजनीतिक तथा धार्मिक वातावरणले त्यहाँका नागरिकलाई भयमुक्त हुन र आत्मनिर्भरता प्रदान गर्न असमर्थ बनाएको थियो ।

को थिए हजरत इमाम हुसैन ?

हजरत इमाम हुसैन पैगम्बर ए इस्लाम हजरत मुहम्मद साहबका नाति थिए । इमाम हुसैनका वालिद अर्थात् पिताको नाम हजरत ‘शेरेखुदा’ अली थियो, उनी पैगम्बर साहबको ज्वाइँ थिए । त्यसैगरी इमाम हुसैनको आमाको नाम बिबी फातिमा थियो ।

हजरत अली धार्मिक तथा सामाजिक मुखिया थिए । उनलाई चौथो खलिफा बनाइएको थियो । हजरत अलीको सहादतपछि मानिसहरू इमाम हसन (हुसैनका दाजु)लाई खलिफा बनाउने पक्षमा थिए, तर विद्रोह गरेर हजरत अमीर मुआविया खलिफा भए ।

“ ६० हिजरीमा तत्कालीन शासक याजिद इस्लाम धर्मको सम्राट बन्न चाहे । उनी सम्पूर्ण अरब आफ्नो नियन्त्रणमा लिन चाहन्थे । त्यसैले इन्सानियत बचाउन याजिदको विरोधका इमाम हुसैनले कर्बलाको लडाइँमा सहिद भए”, मदरसा व्यवस्थापन समिति लुम्बिनी प्रदेश उपाध्यक्ष मौलाना मशूद नेपालीले बताए ।

कसरी मनमाइन्छ, मोहर्रम ?

मोहर्रमको दशौँ दिन अर्थात् आशूराका दिन ताजियादारी गरिन्छ । इमाम हुसैनको इराकमा दरगाह छ, जसको हुबहु नक्कल गरी ताजिया बनाइन्छ । शिया उलेमाका अनुसार मोहर्रमको चाँद निस्किने पहिलो तारिखमा ताजिया राखिन्छ । यो दिन इमाम हुसैनको सहादतको सम्झनामा ताजियासहित जुलुस निकालिन्छ । जबकि ताजिया निकाल्ने परम्परामात्र शिया समुदायमा रहेपनि भारत र नेपालका बिभिन्न स्थानहरुमा सुन्नि मुसलमान भित्रको बरेली समुहले ताजिया निकाल्ने गरेका छन् ।, उत्तरी भारत र नेपालको अधिकांश ठाउँमा हिन्दूहरूले पनि ताजियासहित जुलुस निकाल्ने गरेका छन् । नेपालगन्जमा पनि धुमधामका साथ ताजिया कर्बलामा लगेर बिसर्जन गरिएको जामा मज्दिज इदगाहाका पूर्व अध्यक्ष अब्दुल रहमान मियाले बताए ।

यो वर्ष नेपाल र भारतमा मोहर्रमको सुरुआत २० जुलाईबाट भएको छ । त्यसैले भारतमा आशूरा २९ अगस्तमा मनाइँदैछ । पाकिस्तान र बङ्गलादेशमा पनि आशूरा २९ अगस्त २०२३ मै मनाइँदैछ । जबकि सउदीअरब, ओमान, कतार, इराक, बहरिन, संयुक्त अरब अमिरातसमेत अन्य अरब देशमा मुहर्रम १९ जुलाईबाट प्रारम्भ भएकाले मातमको दिन २८ जुलाईमै मनाइएको छ ।

“हुसैनको त्याग र बलिदानले अन्तर्राष्ट्रियस्तरमा पनि विश्वसनीयता प्राप्त गरेको छ । यसले अधिकारको मुद्दालाई समाजवादी परिवर्तनमा सहायक बन्ने प्रेरणा पनि प्रदान गरेको छ”, मदरसा व्यवस्थापन समिति लुम्बिनी प्रदेशका उपाध्यक्ष मौलाना मशूद नेपालीले भने, “यस शोकपूर्ण अध्यायमा हजरत इमाम हुसैनलाई एक दृढ व्यक्तिगतता र न्यायमयी स्वभावका कारणले एक धार्मिक नायक र मानवीय समर्थकको रूपमा चिनिन्छ ।”

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ९ : ५५ बजे

राष्ट्रियसभाको विधायन समितिद्धारा लुम्बिनी गुरुयोजना र अन्य विकासबारे स्थलगत अध्ययन तथा निरीक्षण

लुम्बिनी । राष्ट्रियसभा अन्तर्गत गठित सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन

ग्लोबल आईएमई बैंकले दियो बागमती प्रदेश स्तरीय साक्षरता तथा डिजिटल तालिम

काठमाडौं । ग्लोबल आईएमई बैंकले बागमती प्रदेश स्तरीय वित्तिय साक्षरता

दोस्रो रुपन्देही पालिका स्तरीय पुरुष भलिबलको उपाधी शुद्धोधन गाँउपालिकालाई

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको रुपन्देही पालिका

विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान गरेर शिक्षा दिन सके शैक्षिक क्षेत्रमा गुणात्मक विकास हुने

बर्दिया । विद्यालयमा अध्ययनरत विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान

एक सय रुपैयाँको नोटमा सरकारले नेपालको नयाँ नक्सा छाप्ने

काठमाडौं । सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको