काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।
कोशी, मधेस, गण्डकी र बाग्मती प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
विभागले दिउँसो कोसी, मधेस र बाग्मती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहने जनाएको छ । बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेस र बाग्मती प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी र मधेस प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।
विभागका अनुसार आज राति कोसी, मधेस र बाग्मती प्रदेशमा सामान्य बदली रहनेछ । बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुनेछ । बाँकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
विभागका अनुसार शनिबार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरमा छ । नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तरपूर्वी भू-भागमा रहेको न्यूनचापीय क्षेत्र र बंगलादेशको उत्तरी भू-भागमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।


















प्रतिक्रिया