६ फाल्गुन २०८२, बुधबार | February 18, 2026

भूकम्पपीडितलाई सहयोग जुट्दै, राहत वितरण एकद्वार प्रणालीबाट



काठमाडौं । जाजरकोट भूकम्पका कारण भएको मानवीय र भौतिक क्षतिपछि त्यस क्षेत्रका लागि सहयोग जुट्न सुरु भएको छ । विभिन्न कम्पनी तथा सङ्घ संस्थाले भूकम्प पीडितलाई सहयोग रकम घोषणा गर्न सुरु गरेका छन् ।

निजी क्षेत्रको ठूलो वायु सेवा कम्पनी बुध्द एयरले भूकम्पपीडितका लागि रु एक करोड आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ । “जाजरकोट तथा रुकुम पश्चिममा गएको भूकम्पका कारण थुप्रै नागरिकले ज्यान गुमाएको र थुप्रै परिवार घरबारबिहीन भएका छन् । यस दुःखद् परिस्थितिमा हामी सबै नेपालीले हातेमालो तथा सहयोगका लागि तयार हुनैपर्छ । बुध्द एयर प्रालिको तर्फबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा रु एक करोड सहयोग दिने निर्णय गरेका छौँ”, कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । बुध्द एयरले उद्धार तथा राहत सामग्री ढुवानीमा पनि सहयोगका लागि प्रतिबद्धता जनाएको छ ।

निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले पनि भूकम्पपीडितलाई रु ५० लाख सहयोग गर्ने भएको छ । कर्णाली प्रदेशको मुख्यमन्त्री राहतकोषमा सो रकम जम्मा गर्ने निर्णय गरिएको एनसेलका कानुनी तथा नियामक निकाय प्रमुख विशाल उपाध्यायले जानकारी दिए ।

एनसेलले भूकम्प प्रभावित क्षेत्रमा रु ४० लाख बराबरको ‘भ्वाइस’ र ‘डाटा’ निःशुल्क गर्ने पनि निर्णय गरेको छ । यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भूकम्प प्रभावित क्षेत्रमा आवश्यक सहयोग गर्न र सेवा सञ्चालन गर्न निजी क्षेत्रका सेवा प्रदायकहलाई आग्रह गरेको थियो । आजै नेपाल टेलिकमले पनि पाँच दिनका लागि भूकम्प प्रभावित क्षेत्रमा भ्वाइस र एसएमएस निःशुल्क तथा सीम पनि वितरण गर्ने घोषणा गरिसकेको छ ।

गैरआवासीय नेपाल संघ (एनआरएनए)का अध्यक्ष बद्री केसी नेतृत्वको कार्यसमितिले पनि भूकम्पपीडितलाई रु १० लाख उपलब्ध गराउने घोषणा गरेको छ । महासचिव गौरीराज जोशीले आज एक विज्ञप्ति जारी गरी संघको तर्फबाट पहिलो चरणमा सरकारको राहत कोषमा रु १० लाख उपलब्ध गराउने जानकारी दिए ।

त्यसैगरी आरके शर्मा नेतृत्वको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले भूकम्पपीडितका लागि रु २१ लाख सहयोग गर्ने भएको छ । अध्यक्ष शर्माले आज विज्ञप्ति जारी गर्दै एनआरएनए अभियन्ताबाट सङ्कलन गरेर उक्त रकम सहयोग गर्ने बताएका हुन् । उनले भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि अभियन्ता चिकित्सकीय टोलीसहित खटिएको जानकारी दिए ।

सरकारले भूकम्पबाट बढी प्रभावित जाजरकोट र रुकुम पश्चिम जिल्लालाई केन्द्रीय राहत व्यवस्थापन कोषबाट तत्काल रु पाँच÷पाँच करोड आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा आज बसेको सरोकारवालाको बैठकले राहत वितरणलाई एकद्वार प्रणालीबाट सञ्चालन गर्ने निर्णय गरेको छ । कम्बल, पाल, खाद्यान्न पठाउने काम भइसकेको सरकारले जनाएको छ ।

सुदुरपश्चिम प्रदेश सरकारले पनि भूकम्प प्रभावित क्षेत्रका लागि तत्काल रु एक करोड सहयोग उपलब्ध गराउने भएको छ । प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि तत्काल कर्णाली प्रदेश सरकारको कोषमा सहयोग गर्ने निर्णय गरेको हो ।लुम्बिनी र कोशी प्रदेश सरकारले १ करोड ५० लाख सहयोग गर्ने घोषणा गरेको छ ।

सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद्को आज बसेको आकस्मिक बैठकले भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्रीसहित २० चिकित्सकको टोली तत्काल पठाउने निर्णयसमेत गरेको बैठकपछि प्रदेश सरकारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच मानव सेवा आश्रम र आनिछोइङ डोल्मा फाउण्डेसनले भूकम्पबाट परिवारका सम्पूर्ण सदस्य गुमाइ अनाथ भएका बालबालिका, अशक्त वृद्धवृद्धा र एकल महिलालाई तत्काल संरक्षण प्रदान गर्ने जनाएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ५ : २६ बजे

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । आज स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको

बाँकेका सीमावर्ती पसलमा अवैध भारतीय ‘अण्डा’ फेला

नेपालगन्ज । बाँकेका सीमावर्ती पसलमा नेपाल सरकारले प्रतिबन्ध लगाएको भारतीय

पशुपतिनाथ मन्दिरमा खटिएका प्रहरीमाथि आक्रमण गर्ने युवक पक्राउ

काठमाडौं । महाशिवरात्री पर्वको सुरक्षाका लागि पशुपतिनाथ मन्दिर क्षेत्रमा खटिएका

नेपाली कांग्रेसको ‘प्रतिज्ञापत्र’ सर्वसम्मत पारित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले आगामी प्रतिनिधिसभा

रास्वपा मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्माद्वारा पार्टी परित्याग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेशकी संस्थापक सभापति