२ फाल्गुन २०८२, शनिबार | February 14, 2026

गोर्खालीले २५ वर्ष शासन गरेको पिथौरागढ किल्ला



पिथौरागढ (भारत) । कुमाउँका प्रसिद्ध कवि गुमानी पन्तले आफ्नो कवितामा लेखेका छन् ।
“दिन–दिन खजाना का भार का बोकिया ले,
शिव शिव चुलि में का बाल नैं एक कैका ।
तदपि मुलुक तेरो छोड़ि नैं कोई भाजा,
इति वदति गुमानी धन्य गोर्खाली राजा ।।”
अर्थात् हरेक दिन खजानाको बोझ बोकेर जनताको टाउकोको कपाल उड्यो तर गोरखाको शासन छोडेर देशको कोही पनि नागरिक भागेनन् । त्यसैले हे गोर्खाली राजा तिमी धन्य छौ । भारतको उत्तराखण्डको पिथौरागढस्थित गोर्खाली किल्ला चारैतिरबाट नौ फिट अग्लो पर्खालले घेरिएको छ । पर्खालको चौडाइ पाँच फिट चार इन्च छ । पर्खालमा बन्दुक चलाउन मिल्ने एक सय ५२ वटा प्वाल छन् ।
नालापानी किल्ला जस्तै पिथौरागढको गोर्खाली किल्ला पनि गोर्खालीको बहादुरीको इतिहाससँग जोडिएको ऐतिहासिक ठाउँ हो । जहाँ गोर्खालीले अङ्ग्रेजलाई परास्त गर्दै २५ वर्ष शासन चलाएका थिए । तत्कालीन गोर्खाली सेनाले विशाल नेपाल निर्माणको अभियानलाई पश्चिमतिर विस्तार गर्ने क्रममा अङ्ग्रेज शासकलाई पराजित गरेर यो किल्ला आफ्नो कब्जामा लिएका थिए । त्यति बेला गोर्खाली सेनाले कुमाउ गडवालतर्फ आक्रमण गर्ने क्रममा सुरुवातमा यो किल्ला कब्जामा लिएर विजयको यात्रा तय गरेको इतिहास जानकार बताउँछन् ।
“विशाल नेपालको अभियानलाई पश्चिमतिर फैलाउने क्रममा तत्कालीन गोर्खा सैनिकले सुरुवातमा यही किल्ला कब्जा गरेका थिए ।” इतिहास जानकार हेमबाबु लेखकले भने–“यही किल्लाबाट गोर्खा सैनिकले निरन्तर कुमाउ गडवालमा २५ वर्ष शासन गरेको थियो ।” उनले तत्कालीन इष्ट इन्डिया एन्ड कम्पनीलाई गोर्खा सैनिकले परास्त गर्दै उक्त किल्ला कब्जा गरेको बताए ।
“गोर्खा शासकले आफ्ना प्रशासक राखेर कुमाउ गडवाल क्षेत्रमा निरन्तर २५ वर्ष शासन गरेको इतिहास छ,” उनले भने, “यो किल्लामा गोर्खालीको वीरताको इतिहास छ ।” अहिले यो किल्ला गोरखा किल्ला एवं लन्डन फोर्टका नामले परिचित छ । नालापानीको लडाइँ लड्नुअघि नै पिथौरागढमा सन् १७८९ मा गोर्खाली सेनाले आफ्नो सुरक्षाका लागि यो किल्ला निर्माण गरेका थिए । नालापानी किल्ला र पिथौरागढको गोर्खाली किल्ला दुवै भारतको उत्तराखण्डमा पर्छन् ।
“बहादुर शाहको नेतृत्वमा आएको गोर्खाली सेनाले यो किल्ला कब्जा गरेको थियो ।” इतिहास जानकार रमेश पन्त मीतबन्धुले भने–“यही किल्लाबाट कुमाउ गडवालमा गोर्खालीले निरन्तर २५ वर्ष शासन गरेको हो ।” गोर्खाली किल्लाको लम्बाइ ८८ दशमलव ५ मिटर, चौडाइ ४० मिटर रहेको छ । किल्लाभित्र गहिरो कुवा रहेको इतिहास भए पनि अहिले उक्त ठाउँमा पीपल रोपिएको उनले बताए ।
यो किल्ला गोर्खालीको इतिहाससँग जोडिएकाले नेपालीका लागि महत्वपूर्ण रहेको वीरबहादुर चन्द बताउँछन् । “६१ वर्षअघि मैले पिथौरागढमा अध्ययन गर्दा यो किल्लामा गोर्खाली किल्लाका नामले चर्चित थियो ।” चन्दले भने–“यो किल्ला नेपालीका लागि महत्वपूर्ण र एतिहासिक छ ।” । किल्लासँग गोर्खालीको गहिरो साइनो रहेको उनको भनाइ छ ।
गोर्खाली किल्लामा रहेको सिलालेखमा विभिन्न वंशले राज्य गर्नेक्रममा सैनिकस्थलका रूपमा उपयोग गरेको उल्लेख छ । पिथौरागढमा मल्ल, बम, चन्द, गोर्खाली र अङ्ग्रेजहरुले शासन गरेको पनि उल्लेख गरिएको छ । अहिले उक्त किल्लाको संरक्षण भारत सरकारले गर्दै आइरहेको छ । रासस

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ३ : १८ बजे

युवामा नेतृत्व विकास गर्न ‘इमर्जिङ युथ स्पिकर सिजन थ्रि’ सम्पन्न, निश्चल भट्टराई प्रथम

बुटवल । युवाहरूमा नेतृत्व क्षमता, आत्मविश्वास र सार्वजनिक अभिव्यक्ति सीप

लुम्बिनी प्रादेशिक अस्पतालका २ सय बढी स्वास्थ्यकर्मी तथा कर्मचारीलाई उत्पेरणा तालिम

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत २ सय बढी

महाशिवरात्रि : पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फोटोफिचर)

काठमाडौँ । महाशिवरात्रि पर्वका अवसरमा पशुपति क्षेत्रमा साधुसन्त एवं टाढाबाट

ओलीलाई विजयी बनाउन एमालेद्वारा ३० बुँदे अपील सार्वजनिक

झापा । नेकपा एमालेले झापा निर्वाचन क्षेत्र नम्बर ५ मा