६ पुस २०८२, आइतबार | December 21, 2025

नेपाल–भारतबीचको सम्बन्ध सुमधुर ढङ्गबाट अघि बढिरहेको छ : परराष्ट्रमन्त्री साउद



काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपाल–भारतबीचको सम्बन्ध सुमधुर र अद्वितीय ढङ्गबाट अघि बढिरहेको बताएका छन् ।

भारतको ७५औँ गणतन्त्र दिवसका असरमा नेपाल–भारतमैत्री समाजद्वारा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री साउदले जनस्तरमा समेत प्रगाढ रहेको सम्बन्धलाई थप सुमधुर तुल्याउन विभिन्न कालखण्डमा उठेका प्रश्नलाई वार्ता र छलफलका आधारमा निष्कर्षमा पुर्याइने धारणा राखे ।

मन्त्री साउदले भने, “दुई देशबीचको सन् १९५० को सन्धि र सीमा बहुआयामिक विषय भएकाले जनताका हित हुनेगरी वस्तुगत र व्यावहारिक भएर निर्णयमा पुग्नुपर्छ ।” दुवै देश मित्रशक्ति भएकाले मिलेर जान नसकिने कुरा सोच्न पनि नसकिने बताउँदै उनले दुवै देशका सीमाक्षेत्रमा रहेका नागरिकप्रति असल व्यवहार र संस्कार प्रदान गर्न सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई तालिम र प्रशिक्षणको खाँचो औँल्याए ।

परराष्ट्र मन्त्रालयको नेतृत्व सम्हालेपछि भएका भेटघाट र भ्रमणमा भारतीय नेताहरू र नागरिकमा नेपाल र नेपालीप्रति सहृदय देखेको बताउँदै मन्त्री साउदले सुस्ता र कालापानीका विषयमा पनि भारतीय पक्षले हार्दिकताकासाथ कार्यदलमार्फत काम ठोस रूपमा अघि बढोस् भन्ने मनसाय आफूले पाएको बताए ।

उनले भने, “नेपाल र भारत एउटै सांस्कृतिक विरासतमा रहेका मुलुक हुन् । दुई देशबीच सदियौं पुरानो अन्योन्याश्रित सम्बन्ध छ । भाषा, भूगोल र संस्कृतिले जोडेको छ, यो सम्बन्ध समृद्धि, विकास र शान्तिका लागि प्रयोग गरिनुपर्छ ।” विगत ७५ वर्षमा आर्थिक विकास र समृद्धिका हिसाबले भारत विश्वका अन्य देशका लागि आदर्शकै रूपमा रहेको बताउँदै मन्त्री साउदले दुवै छिमेकी मुलुक आपसी हितका आधारमा सम्बन्धलाई थप अनुपम बनाएर अघि बढिरहेको उनको भनाइ छ ।

त्यस अवसरमा पूर्वउपराष्ट्रपति परमानन्द झाले दुवै देशबीचको सम्बन्ध केन्द्रमा मात्र नभई क्षेत्रगतरूपमा समेत थप प्रगाढ तुल्याउनतर्फ मिलेर काम गर्नुपर्ने आवश्यकतामा जोड दिए ।

नेकपा (माओवादी केन्द्र)का नेता देवेन्द्र पौडेलले मानव जातिका सबै चुनौती सामना गर्न नेपाल–भारतबीच मिलेर काम गर्न आवश्यक रहेको विचार प्रकट गरे । भारतले औद्योगिकरण, आर्थिक वृद्धि, सूचना प्रविधिको विकासमा ठूलो फड्को मारेको बताउँदै उनले समान भाषा र संस्कृति भएको हुनाले दुवै देशले मिलेर सबैखाले चुनौतीलाई सामना गरी अघि बढ्नुपर्ने अहिलेको खाँचो औँल्याए ।

नेकपा (एमाले)का नेता डा राजन भट्टराईले नेपाल र भारत छिमेकीमात्र नभई बहुआयामिक विशिष्ठतासहितका हितैसी सम्बन्ध रहेको बताए। उनले भने, “भारतसँग आर्थिक, सांस्कृतिक, समाजिक, सभ्यताका हिसाबले जोडिएका छौं, त्यो सम्बन्धलाई अहिलेको चेतना र बुझाइअनुरुप परिभाषित गर्दै सुमधुर र प्रगाढ तुल्याउने हिसाबले अघि बढनुपर्छ ।”

लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले दुवै देशबीच भाषा, संस्कृति, धर्म समान रहेकाले विशेषखाले सम्बन्ध रहेको बताए । उनले भने, “छिमेकी मुलुक भारत विश्वमै सम्पन्नतातर्फ उन्मुख भइरहेका बेला छिमेकमा रहेको नेपाल भने विपन्नताबाट स्तरोन्नति हुन नसक्नु चिन्ताको विषय हो । राजनीतिक स्थिरता कायम गरी नेपालले अघि बढ्नुपर्ने अहिलेको खाँचो छ ।”

नागरिक समाजका अगुवा डा सुन्दरमणि दीक्षितले आफ्नो गुरुकुल भारत विकासका दृष्टिले फलेको, फुलेको र फष्टाएको देख्दा खुसी लागेको बताए । नेपाल–भारतमैत्री समाजका अध्यक्ष प्रेम लस्करीले सनातनदेखि नै नेपाल–भारतबीच भेषभूषा, धर्म, संस्कृति र नदीनालाले जोडेको सम्बन्धलाई कसैले चाहँदैमा नडगमगाउने बताए ।

भारतीय दूतावासका डिसिएम प्रशन्न श्रीवास्तवले सामाजिक र सांस्कृतिक हिसाबले दुवै देशबीचमा जनस्तरमा समेत घनिष्ट र प्रगाढ सम्बन्ध रहेको बताए । उनले भने, “विगतमा भूकम्पमा समेत भारत र भारतीय जनताले प्रभावित क्षेत्रमा राहत र सहयोग उपलव्ध गराउने अवसर पाएका थिए ।”

भारतले शुक्रबार आफ्नो ७५औँ गणतन्त्र दिवस मनायो । समाजले हरेक वर्ष गणतन्त्र दिवसका अवसरमा नेपाल र भारतका राजनीतिज्ञ तथा कूटनीति क्षेत्रका बुद्धिजीवीसँग दुई देशबीचका सम्बन्धका विविध आयामबारे छलफल तथा अन्तरक्रिया गर्दै आएको छ ।
(((

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  ७ : ५७ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ