५ पुस २०८२, शनिबार | December 20, 2025

विद्युत प्राधिकरण आर्थिक वर्षको पहिलो ६ महिनामा १५ अर्ब ३६ करोड नाफामा



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८०/८१को पहिलो ६ महिनामा १५ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ ।

प्राधिकरणको चालु आवको ६ महिनाको वित्तीय विवरण (अपरिष्कृत) अनुसार, यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्य आम्दानीबाट कुल ६७ अर्ब २८ करोड ७७ लाख रुपैयाँ आम्दानी गरेको छ । विद्युत् खरिद, प्रशासनिक, आयोजनाहरुलगायतमा जम्मा ५१ अर्व ९२ करोड ७१ लाख रुपैयाँ खर्च भएको छ । प्राधिकरणको मुख्य आम्दानी र खर्च क्रमश ः विद्युत बिक्री र खरिद तथा आयोजनाहरुमा हुने गरेको छ ।

प्राधिकरणले समीक्षा अवधिमा १५ अर्ब ३६ करोड ६ लाख रुपैयाँ नाफा (करकट्टी गर्नुअघि) आर्जन गरेको छ । गत आर्थिक वर्ष २०७९/८०को सोही अवाधिमा प्राधिकरणको नाफा १० अर्ब ९१ करोड ६० लाख रुपैयाँ थियो ।

गत आवको पहिलो ६ महिनाको तुलनामा प्राधिकरणको नाफा चालु आवको सोही अवधिमा ४ अर्ब ४४ करोड ४६ लाख रुपैयाँले बढी हो । गत आवको नाफा १२ अर्ब ३३ करोड रुपैयाँ थियो । आव २०७२/७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरुबाट निरन्तर नाफामा छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् चुहावट नियन्त्रण, आन्तरिक रुपमा तथा भारतर्फको विद्युत निर्यात बढ्दा आम्दानीमा भएको बृद्धि, खर्च नियन्त्रणलगायतले गर्दा चालु आवको पहिलो ६ महिनामा उल्लेख्य नाफा कमाउन सफल भएको बताए ।

‘बजेट सीमितताका कारण सरकारबाट लगानीका लागि पर्याप्त रकम पाउन सकिरहेका छैनौं, यस्तो जटिल अवस्थामा संस्थाले कमाएको नाफाबाट विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार विस्तार तथा सुदृढीकरण, विद्युतीकरणतर्फका आयोजनाहरुमा हरेक वर्ष अरबौं रुपैयाँ लगानी गरिरहेका छौं’,कार्यकारी निर्देशक घिसिङले भने ।

‘विद्युत्मा आत्मनिर्भर बन्न, आन्तरिक रुपमा खपत बढाउन र उपभोक्तालाई गुणस्तरीय र भरपर्दो विद्युत् उपलब्ध गराउन उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाहरुमा आगामी वर्षहरुमा १०/१२ खर्ब रुपैयाँभन्दा बढीको लगानी आवश्यक पर्छ, नगद प्रवाहका लागि संस्थाको नाफाले मात्र पुग्दैन ।’

प्राधिकरणले चालु आवको ६ महिनामा विद्युत बिक्रीबाट ४५ अर्ब ४९ करोड ३८ लाख रुपैयाँ सङ्कलन गरेको छ । यस अवधिमा देशभित्रका ऊर्जा उत्पादकहरुबाट र भारतबाट आयात गरी ३० अर्ब ४८ करोड ५८ लाख रुपैयाँको विद्युत् खरिद गरिएको छ । प्राधिकरणका सहायक तथा सम्वद्ध कम्पनीहरुवाट २८ अर्ब ४९ करोड ९६ लाख र भारतबाट १ अर्व ९८ करोड ६२ लाख रुपैयाँको विद्युत् आयात गरिएको हो । समीक्षा अवधिमा नेपाल सरकारमार्फत विनियोजन गरिएको वैदेशिकतर्फ ९ अर्व ०३ करोड ८४ लाख रुपैयाँ खर्च भएको छ ।

नाफा/नोक्सानको अवस्था

आर्थिक बर्ष                             नाफा(रुपैयाँ)                                            घाटा(रुपैयाँ)
२०७२/७३                                                                                              ८ अर्ब ८९ करोड
२०७३/७४                              १ अर्ब ५० करोड
२०७४/७५                             ३ अर्ब ४४ करोड
२०७५/७६                             ९ अर्ब ८१ करोड
२०७६/७७                             ११ अर्ब ७५ करोड
२०७७/७८                            ६ अर्ब ९ करोड
२०७८/७९                             १३ अर्ब ३७ करोड
२०७९/८०                             १२ अर्ब ३३ करोड
२०८०/८१ (६ महिना)             १५ अर्ब ३६ करोड
स्रोत : नेपाल विद्युत प्राधिकरण

१३ अर्बको विद्युत निर्यात, २ अर्बको आयात
नेपाल विद्युत प्राधिकरणको चालु आवको पहिलो ६ महिनामा १३ अर्ब ३८ करोड ५६ लाख रुपैयाँको विद्युत भारतर्फ निर्यात गरेको छ । सोही अवधिमा १ अर्व ९८ करोड ६२ लाख रुपैयाँको विद्युत् आयात गरिएको छ ।

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ ।

प्रााधिकरणले आइएक्सको डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत र मध्यकालीन विद्युत् सम्झौताबमोजिम भारतीय कम्पनी एनटिपिसी विद्युत व्यापार निगम लि–एनभिभिएन (NTPC Vidyut Vyapar Nigam Ltd-NVVN)लाई बिक्री गरिरहेको छ । एनभिएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ ।

समीक्षा अवधिमा १ अर्व ४७ करोड ६४ लाख युनिट विद्युत निर्यात गरिएको छ । सुख्खायाम सुरुभएसँगै नदी तथा खोलानालामा पानीको बहाव घटेर जलविद्युत आयोजनाहरुको विद्युत् उत्पादन घटेपछि अहिले देशभित्रको आन्तरिक माग धान्न भारतबाट विद्युत् आयात भइरहेको छ ।

समीक्षा अवधिमा २२ करोड ५ लाख युनिट विद्युत् आयात गरिएको छ । वर्षायाम सुरुभएसँग फेरि विद्युत् निर्यात सुरु हुने छ ।

 

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  १ : २७ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ