२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

जलविद्युत् र मल कारखानामा लगानी गर्न रुसलाई आग्रह



काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले ठूला जलविद्युत् आयोजना र रासायनिक मल कारखानामा लगानी गर्न रुसलाई आग्रह गरेका छन् । नवनियुक्त अर्थमन्त्री पुनलाई बधाई ज्ञापन गर्न आज अर्थ मन्त्रालय पुगेका नेपालका लागि रुसी राजदूत अलेक्सेई नोभिकोभसँग अर्थमन्त्री पुनले यस्तो आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

“हामीले विद्युत् खपतका लागि अन्तर्राष्ट्रिय बजारको सुनिश्चितता गरिसकेका छौँ । अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि नेपालमा जलविद्युत् उपयुक्त क्षेत्र हो”, अर्थमन्त्री पुनले भने, “सरकारले स्वदेशमै रासायनिक मल कारखाना खोल्ने नीति लिएको छ । यसमा लगानी गर्न रुस इच्छुक भएमा त्यसको वातावरण बनाउन हामी तयार छौँ ।” नेपालले आगामी वैशाखमा आयोजना गर्न लागेको लगानी सम्मेलनमा बढीभन्दा बढी रुसी लगानीकर्ता आउने वातावरण बनाउन पनि अर्थमन्त्री पुनले राजदूत नोभिकोभलाई आग्रह गरे ।

जवाफमा राजदूत नोभिकोभले अर्थमन्त्री पुनको प्रस्ताव सकारात्मक रहेको बताउँदै रुसी लगानीकर्तासँग कुरा गर्ने प्रतिवद्धता जनाए। भू–राजनीतिक कारणले पनि नेपालमा रुसी लगानीका लागि अत्यन्तै सकारात्मक वातावरण रहेको उनको भनाइ थियो । नेपालका दुवै छिमेकीमूलुक चीन र भारतसँग रुसको राम्रो सम्बन्ध रहेको उल्लेख गर्दै उनले नेपाल–भारत सीमा क्षेत्रमा दुवै मुलुकलाई लक्षित गरी मल कारखाना खोल्ने वा उत्पादित सामग्री ल्याएर बेच्न सकिने सम्भावना औंल्याए।

राजदूत नोभिकोभका अनुसार रुसको उद्योग वाणिज्य सङ्घको नेतृत्वमा लगानी सम्मेलनमार्फत् लगानी गर्न सकिने क्षेत्रको पहिचानका लागि बिहीबार एक प्रतिनिधिमण्डल नेपाल आउँदैछ । प्रतिनिधि मण्डलले सरकारी अधिकारी, लगानी बोर्ड र निजी क्षेत्रसँग साक्षात्कार गर्ने उनको भनाइ छ ।

द्विपक्षीय सम्झौताबिनै रुसी सेनामा नेपाली युवा भर्ती भएको विषयमा पनि अर्थमन्त्री पुनले चासो राखेका छन् । रुसी सेनामा कार्यरत नेपालीलाई स्वदेश फिर्तीको वातावरण बनाउनसमेत उहाँले रादजूत नोभिकोभलाई आग्रह गरे। रुस–युक्रेन युद्धमा परी मृत्यु भएका नेपालीको शव फर्काउने वातावरण बनाउन, घाइतेको उपचार तथा मृतक परिवारलाई राहत एवं क्षतिपूर्तिको व्यवस्था गर्न पनि अर्थमन्त्री पुनले रुसको ध्यानाकर्षण गराए ।

“रुसी सेनामा आफ्ना नागरिक भर्ती गराउने हाम्रो नीति नभएको विषयमा परराष्ट्र मन्त्रालयले यसअघि नै स्पष्ट गरिसकेको छ । तर, पनि विभिन्न बाटो भएर गएका नेपाली रुसी सेनामा भर्ती भएका छन्”, उनले भने, “यसमा नेपाल सरकारसँगै आम जनताको गम्भीर चासो र चिन्ता छ । म यहाँमार्फत् रुस सरकारलाई रुसी सेनामा कार्यरत नेपालीको घर फिर्तीको वातावरणका लागि आग्रह गर्दछु ।”

जवाफमा राजदूत नोभिकोभले नेपालीलाई सेनामा भर्ती गर्ने कार्यमा नेपाल सरकार दोषी नभएको स्पष्ट पार्दै रुसले पनि नेपालीलाई बोलाएर सेनामा भर्ती नगरेको तर्क गरे । भारत र दुबईसहित विभिन्न मुलुकबाट अवैध रुपमा गएका नेपाली स्वेच्छाले सेनामा भर्ती भएको उनले उल्लेख गरे ।

रुसले फिर्ता पठाउन चाहे पनि सबै नेपाली स्वदेश फर्कन इच्छुक नभएको खबर आफूले पाएको दाबी पनि उनले दाबी गरे । “नेपालले पठाएर वा हामीले आह्वान गरेर उनीहरु सेनामा भर्ती भएका होइनन् । स्वेच्छाले भर्ती भएकाले स्वदेश फर्कभन्दा पनि धेरै नेपाली नफर्कने मनस्थितिमा रहेको खबर हामीले पाएका छौंँ”, राजदूत नोभिकोभले भने ।

युक्रेनी सेनाले बन्धक बनाएका नेपालीलाई युद्धबन्दी साटासाट गरेर मुक्त गराउने तयारी भइरहेको जानकारी पनि राजदूत नोभिकोभले अर्थमन्त्री पुनलाई दिए । “हाम्रो सेनाको नियन्त्रणमा रहेका युक्रेनी फौजका सदस्यसँग साटेर भए पनि नेपालीहरुलाई युक्रेनबाट मुक्त गर्ने तयारी छ”, उनले भने ।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  ३ : ३५ बजे

दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै कामपा

काठमाडौं । काठमाडौं महानगरपालिकाले एम्बुलेन्स सेवालाई वैज्ञानिक, व्यावहारिक र थप

दार्चुलामा झोलुंगे पुल निर्माणका लागि हर्क साम्पाङको श्रमदान अभियान घोषणा

काठमाडौं । सांसद हर्क साम्पाङले दार्चुलामा तुइन विस्थापन गरी झोलुंगे

आज सभामुखको उम्मेदवारी दर्ता, रास्वपाबाट डोलप्रसाद अर्यालको दाबी

काठमाडौं । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार प्रतिनिधिसभाको सभामुख

सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा

म्याग्दी । धवलागिरि गाउँपालिका-१ गुर्जा सडक सञ्जालमा जोडिएको छ ।

विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

काठमाडौं । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले