१७ बैशाख २०८१, सोमबार | April 30, 2024

म्याग्दीका बनपाखामा लालीगुराँस हेर्नेको भीड



म्याग्दी । बसन्त ऋतुको सुरुवातसँगै हिमाली जिल्ला म्याग्दीको उच्च र मध्य लेकाली क्षेत्रका वनपाखा रङ्गीविरङ्गी लालीगुराँसले रङ्गिएपछि लालीगुराँसको छेकोबाट सेता हिमाल हेर्दै रमाउन पर्यटकहरु लेकाली क्षेत्रमा उक्लिएका छन् ।

विगतका वर्षमा भन्दा यसवर्ष पाखैभरी ढकमक्क गुराँस फुलेपछि गुराँससँग रमाउन आन्तरिक तथा बाह्य पर्यटक र स्कुल तथा कलेजका विद्यार्थी घोडेपानी, पुनहिल, टोड्के, बेलढुङ्गा जस्ता लालीगुराँसका जङ्गलमा उक्लिएका हुन् । राउण्ड अन्नपूर्ण पदमार्गको प्रमुख आकर्षण मानिएको घोडेपानीमा ढकमक्क फुलेका लालीगुराँस हेर्न आउनेको भीड नै लाग्ने गरेको छ । यस याममा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि हुने गरेको छ ।

अहिले यहाँको जङ्गलमा लालीगुराँस फुलेर ढकमक्क भएकाले अझ बढी आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको स्थानीयवासीले बताएका छन् । आन्तरिक पर्यटक बढ्न थालेपछि स्थानीय होटेल व्यवसायी खुसी भएका छन् । घोडेपानीका होटल व्यवसायी मीना गुरुङले पर्यटकले गर्दा प्रायः सबै होटल आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ भएको बताइन ।

बसन्त ऋतुको आगमनसँगै प्रकृतिले पनि नयाँस्वरुप धारण गरेको छ । राताम्यै फुलेका लालीगुराँस र वन जङ्गलको हरियालीले प्रकृति मुस्कुराइरहेको जस्तो देखिन थालेको छ । उत्तरपट्टी चाँदी जस्तै सेता हिमाल हेर्दै गुराँससँग रमाउन आन्तरिक तथा बाह्य पर्यटक म्याग्दीका पर्यटकीयस्थल घोडेपानी, पुनहिल, मोहरेडाँडा, फुलबारी, खोप्रा, बयली, मालिका गाउँपालिकाको सोले, बेनी नगरपालिका-३ भकिम्लीको स्वर्गाश्रम, धवलागिरि गाउँपालिकाको जलजला, देउराली, मङ्गलाको टोड्के, झाँक्रीपानी, रघुगङ्गाको रुइसेमा पुग्न थालेका छन् । यी ठाउँहरुमा गुराँसको ठूला जङ्गल छन् ।

नेपालमा पाइने ३२ प्रजातिकामध्ये घोडेपानी क्षेत्रको जङ्गलमा रातो, सेतो, गुलावी, चिमालीलगायत नौ प्रकारका गुराँस पाइने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले जनाएको छ । पृष्ठभूमिका हिमाल र लालीगुराँसको जङ्गलको प्राकृतिक सौन्दर्यलाई नियाल्दै आन्तरिक तथा बाह्य पर्यटक मख्ख परेको स्थानीय युवा सञ्चारकर्मी सुरेन गुरुङले जानकारी दिए ।

समुद्री सतहदेखि दुई हजार आठ सय मिटर उचाइमा अवस्थित घोडेपानीमा ४५ घरधुरीको बसोबास छ । अधिकांश घर पर्यटकस्तरका होटल हुन् । पर्यटकहरु आउन थालेपछि होटल व्यवसायी पनि खुसी भएका छन् । घोडेपानीको लालीगुराँसको जङ्गलको पृष्ठभूमिमा धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, नीलगिरि हिमालको साथै सूर्योदय अवलोकन गर्न सकिन्छ । अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख पर्यटकीय केन्द्र मानिने घोडेपानी क्षेत्रको गुराँसको जङ्गललाई समेटेर समुदायस्तरमा अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्ग सञ्चालन भएको छ ।

घोडेपानीका बासिन्दाले गुराँस बचाउन गुराँसका रूख नकाट्ने नियम बनाएका छन् । जथाभावी रूपमा काठ, दाउराका लागि रूख काट्दा गुराँसको जङ्गल मासिएपछि यस्तो नियम बनाएका हुन् । एक्यापको सहयोगमा तारबार लगाएर जङ्गलको घेराउ गरिएको घोडेपानीका बासिन्दा अन्नपूर्ण गाउँपालिकाका पूर्व अध्यक्ष एवम् स्थानीय होटल व्यवसायी डमबहादुर पुनले बताए ।

त्यसैगरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ शिखको जङ्गलमा राताम्मे फुलेको लालीगुँरासँग रमाउन विद्यार्थी र पर्यटक पुगेका छन् । गाउँमा रहेको शिख मावि वरपर नै गुराँस फुलेपछि लोभलाग्दो देखिएको छ । घोडेपानी, पुनहिल जाने पदमार्गमा पर्ने शिख क्षेत्रमा पदमार्ग र सडक आसपासमै गुराँसले जङ्गल राताम्मे बनेका छन् । लालीगुराँस नेपालको राष्ट्रिय फूल हो । लालीगुराँस साधारणतया फागुन, चैत र वैशाखमा फुल्ने गर्दछ । म्याग्दीका वनमा अहिले ढकमक्क गुराँस फूलेर जङ्गलनै हराभरा भएका छन् । बोटभरी ढकमक्क फुलेको गुराँस हेर्दै आकर्षित हुने भएकाले हरेकको मन तान्ने गरेको छ । वनैभरी ढकमक्क लालीगुराँस फुलेपछि गाउँबस्ती नै सुन्दर देखिएको छ ।

वनभरि फुलेका लालीगुराँसका फूल यहाँको प्राकृतिक वरदान मात्र होइन सुकाएर फूलको पत्र जडीबुटीका रूपमा व्यापार गरी आयआर्जन गर्न सकिने भए पनि यसतर्फ ध्यान जान नसकेको वन तथा वनपैदावर र वातावरणको क्षेत्रमा सक्रिय वन डिभिजन कार्यालय म्याग्दीका प्रमुख चन्द्रमणि सापकोटाले बताए । जण्डिस, आउँ, खोकी, कलेजो सुन्निएको, मुखको गन्ध हटाउनसमेत औषधि हुने लालीगुराँस वातावरणीय तथा पर्यटकीय दृष्टिलेसमेत महत्वपूर्ण मानिएको छ

म्याग्दीका करिब ८० प्रतिशतभन्दा बढी वनमा यसरी लालीगुराँस फुलेको पाइन्छ,। लालीगुराँसको बोटदेखि फुलसम्म विभिन्न औषधि निर्माणको लागि प्रयोग हुँदै आएको छ । म्याग्दीमा प्रशस्त लालीगुराँसको जङ्गल रहेकोले आगामी दिनमा प्रशस्त आम्दानीको स्रोत जुट्ने देखिन्छ ।

जिल्लाका विभिन्न स्थानमा लालीगुराँको जुस बनाउने उद्योग स्थापना गर्ने क्रम पनि बढ्दै गएको छ । प्रचारप्रसारको कमीको कारण यहाँका सामुदायिक वनमा फुलेका गुराँसका फुल बिक्री हुन सकेको छैन । गाउँघर गुराँसले सजिएसँगै गाउँमा पुग्ने जो कसैको पनि मन लोभ्याउने गरेको स्थानीयवासीले बताएका छन् ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ११ : ५३ बजे

तेस्रो लगानी सम्मेलन : ‘पर्यटनमा लगानीको ढोका खुल्यो’

काठमाडौं । मुगुको प्रसिद्ध रारा ताल क्षेत्रमा सुविधा सम्पन्न रिसोर्ट

चाँडै चीनसँगका १४ नाका सञ्चालनमा ल्याउँछौं : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले चाँडै चीनसँगका

बुटवल आदर्शनगरको सिद्धेश्वरी सामुदायिक बनको डढेलो बस्ती नजिक झर्दै, सुरक्षा सतर्कता बढाइयो

बुटवल । बुटवल उपमहानगरपालिकाको आदर्शनगर माथिको सिद्धेश्वरी सामुदायिक बनमा लागेको

गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि उत्पादन केन्द्र सञ्चालनमा

गुल्मी । पैचो पसल प्रालीले गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि

नक्कली सवारी अनुमति पत्र प्रकरण : यातायात कार्यालय बुटवलका शाखा अधिकृत र इन्जिनीयर सहित ३ जना पक्राउ

बुटवल। नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणको जालो बुटवल