६ जेष्ठ २०८१, आइतबार | May 20, 2024

शिक्षण छाडेर पशुपालनमा रमाइरहेका गोपाल



दाङ । दाङको घोराही उपमहानगरपालिका-२ रामपुर निवासी ३४ वर्षीय गोपाल खनाल विसं २०७३ सालअगाडि उनी शिक्षण पेसामा आवद्ध थिए । गाउँमै एक बोर्डिङ स्कुलमा पढाउँदै आएका उनी पछिल्लो आठ वर्षदेखि भने शिक्षण छोडेर कृषि पेसामा लागिरहेका छन ।

‘ग्रीन लक्ष्मी गाई तथा भैँसी फर्म’ स्थापना गरेदेखि उनी अरु सबै काम छोडेर यही पेशामा रमाइरहेका छन । “शिक्षण पेसा अथवा अन्य कुनै जागीर गर्नुभन्दा आफ्नै व्यवसाय गर्दा आत्मसन्तुष्टि र आम्दानी पनि हुने बुझाइसहित फर्म स्थापना गरेको थिए । अहिले यसमै रमाइरहेको छु”, खनालले भने, “कोरोनाको समयमा केही समस्या भए पनि अहिले सहज हुँदैगएको छ । अब त यसैमा अभ्यस्त भइसकेँ ।”

सुरुआती दिनमा चार लिटरबाट दूध बेच्न सुरू गरेका उनले हाल एक सय २० लिटर उत्पादन गरेर बिक्री गरिरहेका छन । त्योमध्ये अधिकांश दूध डेरीलाई बिक्रिविरण गर्दै आएको बताउने उनलाई अहिले बिहान उठेदेखि बेलुकासम्म गाईभैँसीको स्याहारसुसार र दूधको चाजापाँजो मिलाउन भ्याइनभ्याई छ । परिवारको सहयोग र आफ्नो मेहनतले रु ४० हजारबाट सुरू गरिएको व्यवसायमा अहिले रु ६० लाख लगानी पुगेको खनालको भनाइ छ । “सुरुआती दिनमा व्यवसाय कसरी अगाडि बढ्ला भनेर चिन्ता लाग्ने गथ्र्यो तर निरन्तर मेहनत गरेमा सफलता मिल्दो रहेछ ।

अहिले मासिक रु एक लाखको कारोबार गरिरहेको छु भने वार्षिकरूपमा करिब रु सात लाखसम्म बचत हुने गरेको छ”, खनालले भने । उनले गाईभैँसीका लागि आवश्यक दाना बजारबाट किन्ने गरे पनि घाँस भने आफैँ उत्पादन गर्न थालेदेखि आम्दानीको केही रकम जोगाउन सकिएको बताए । उनी स्थानीय सरकारले किसानको समस्या बुझ्न र व्यवसायवृद्धिका लागि प्रोत्साहन गर्नसके थप सहज हुने उनको बुझाइ छ ।

उनी व्यावसायिक पशुपालन र कृषि उद्यम गर्न चाहनेहरूलाई सरकारले सहुलियतका कार्यक्रम ल्याए विदेशीन चाहने युवालाई पनि स्वदेशमै रोक्न सकिने धारणा राख्छन । किसानका लागि सहुलियतका कार्यक्रम ल्याउनसके धेरै जना उद्यमशीलतातर्फ आकर्षित हुन्छन् भन्ने उनको विश्वास छ । त्यसो गर्न नसके पनि भएका नीतिनियमको कार्यान्वयन र किसानमैत्री ऐन कानुन बनाउनसकेमा पनि उद्यमशीलता विकासमा टेवा पुग्नसक्ने उनले बताए । “मजस्ता उद्यमशील युवाले स्थानीय सरकारलाई आग्रह नगरेका पनि हैनौँ तर विविध कारण जिल्लामा विभिन्न पेसा-व्यवसायमा जोडिएका युवासमेत पछिल्लो समय व्यवसाय नै बन्दगरेर विदेशीन थालेका छन् । यसलाई रोक्न जरूरी छ”, उनले भने ।

डेरीलाई प्रतिलिटर रु ७० मा बिक्री गर्ने उनको सबैभन्दा ठूलो चित्त दुखाइ आफैँले उत्पादन गरेको दूधको मूल्य निर्धारण प्रक्रियामा सङ्लग्न हुन नपाउनुमा छ । “हामीले नाफाघाटा, दुःखकष्ट सहेर उत्पादन गर्छौ तर न सरकारले दूधको उचित मूल्य निर्धारण गर्छ न त मूल्य निर्धारण प्रक्रियामा कृषकलाई सहभागी गराउँछ । यसले हामीलाई निराश बनाएको छ”, खनालले गुनासो गरे ।

खनालको फर्ममा अहिले २८ वटा गाईभैँसी छन् । उनीलगायत घोराही उपमहानगरपालिका-२ रामपुर क्षेत्रका किसानबाट दैनिक एक हजार लिटरभन्दा बढी दूध उत्पादन हुने गरेको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  १२ : ०० बजे

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं । छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ

एमाले बाँके नवौं अधिवेशन : मतदान जारी

नेपालगन्ज । नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशन अन्तर्गत ३

कांग्रेस संसदीय दलको बैठक भोलि सोमबार बिहान बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक

संसदीय छानबिन समिति गठन नभएसम्म कांग्रेसले प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक चल्न नदिने

काठमाडौं । कांग्रेस महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले संसदीय छानबिन

गोर्खा मिडियाको सहकारीबाट ऋण लिने प्रक्रियामा म संलग्न छैन- गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसको गनगनले मात्र