१० जेष्ठ २०८१, बिहिबार | May 23, 2024

अन्तरपुस्तामा पुर्ख्यौली संस्कृति : ‘बालबालिकादेखि वृद्धवृद्धासम्म सक्रिय’



बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीका १० वर्षका सायुज फगामी पुर्ख्यौली नाचमा मादले बनेर नाच्छन् । वडा अध्यक्ष समेत रहेका ओमप्रसाद फगामीबाट मादल बजाएर नाच्न सिकेका सायुज विगत एक वर्षदेखि पुर्ख्यौली नाच समूहमै आबद्ध भएका छन् । गाउँमा हुने हरेक सार्वजनिक तथा सांस्कृतिक कार्यक्रममा प्रस्तुत गरिने पुर्ख्यौली नाच र प्रतियोगितामा समेत उनी मादले बनेर सहभागी हुने गरेका छन् ।

सायुज मात्रै होइन भुरुङकै ९ वर्षका कुशल फगामी पनि पुर्ख्यौली नाचमा मारुनी बनेर सहभागी हुने गरेका छन् । भुरुङ तातोपानीको पुख्र्यौली समूहमा मादले र मारुनीको भूमिकामा रहेका दुई बाल कलाकारको छमछमी नाचले धेरैको ध्यान तान्ने गरेको छ । पुर्ख्यौली नाच पुनमगर समुदायको मौलिक संस्कृतिको रुपमा चिनिन्छ । पुर्ख्यौली नाचमा अहिले बालबालिका, युवायुवती, प्रौढदेखि वृद्धवृद्धासम्मका चार पुस्ता सहभागी हुने गर्छन् । पुर्ख्यौली नाचलाई अन्तरपुस्ता हस्तान्तरण गरेर संरक्षण गर्न यहाँ, स्थानीयवासी, अग्रज कलाकार, वडा कार्यालय र अन्नपूर्ण गाउँपालिकाले सक्रियता बढाएका छन् ।

पुर्खाले सिर्जना गरेको मौलिक संस्कृति लोप भएर जाने अवस्था आएपछि आफुले समेत मादले मारुनी नाच सिकेर संरक्षणमा जुटेको भुरुङ तातोपानीका वडा अध्यक्ष फगामीले बताए । ‘‘पुराना कलाकार सकिँदै जाँदा पुर्ख्यौली पनि हराएर जाने अवस्था आउन थालेको थियो, हामीले नै नसिके भोलिका पुस्तालाई कसले सिकाउँछ भनेर पुर्ख्यौली नाच सिकेका हौँ, अहिले नयाँ पुस्तालाई पनि सिकाउन थालेका छौँ’’–वडा अध्यक्ष फगामीले भने ।

अन्नपूर्ण गाउँपालिकाको दोबा, भुरुङ, दाना, नारच्याङ, लेकगाउँ, पाउद्धार, स्वाँत, खिबाङ, शिख, हिस्तान, औल, रिम, घराम्दीलगायतका बस्तीमा पुख्र्यौली नाच प्रचलनमा रहेको छ । यस क्षेत्रमा बच्चा जन्मिएको छैटौँ दिनमा गरिने छैटी, भात खुवाउने दिन, छेवर, गुनिउचोली, विवाह लगायतका संस्कारजन्य कार्यक्रममा सोरठी भाकामा पुख्र्यौली नचाउने चलन रहेको छ । कतिपय ठाउँमा मृत्यु संस्कारमा समेत सोरठी भाकामा दुःख, पीर, वेदना, जीवन भोगाई र सङ्घर्षका गीत गाएर सान्त्वना दिने प्रचलन समेत रहेको छ ।

आफ्ना पुर्खाले चलाउँदै आएको पुख्र्यौली संस्कृतिको मौलिकता मासिने डरले अन्नपूर्ण गाउँपालिकाका स्थानीय पुख्र्यौली सोरठी भाका र मादले मारुनी नाचको संरक्षणमा जुटेका छन् । यहाँ वृद्धवृद्धादेखि बालबालिकासमेत पुख्र्यौली संस्कृतिमा सहभागी हुने गर्छन् । नयाँ पुस्तालाई पुरानो संस्कृति दिनकै लागि पुराना कालकार पुख्र्यौली नाच्ने र गाउनेमा कम्मर कसेर लागेको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका पुराना कलाकार चन्द्रप्रसाद फगामीले बताए ।

‘‘मैले पनि अग्रजबाट सिकेको हुँ, बुढ्यौली लाग्यो तर पुख्र्यौलीको माया लाग्छ, कतै युवाहरुलाई सिकाउन सकिएन भने हराएर जाने त होइन भन्ने चिन्ताले अझैपनि मादले बनेर नाच्ने गर्छु, सोरठी र सिरफुले पनि गाउन सक्छु ’’–फगामीले भने । नारच्याङका वडा सदस्य समेत रहेका लेकगाउँका युवा श्याम पुर्जाले आधुनिक सूचना प्रविधिको पहुँच र आयातीत संस्कृतिका कारण स्थानीय स्तरमा रहेका पुख्र्यौली संस्कृति ओझेलमा परेकाले आफु समेत पुख्र्यौली नाचमा सहभागी हुन थालेको बताए ।

उनले पछिल्लो समय विभिन्न सार्वजनिक कार्यक्रमदेखि मेला, महोत्सव र सांस्कृतिक कार्यक्रममा पुख्र्यौलीलाई प्राथमिकता दिन थालेको जानकारी दिए । अन्नपूर्ण गाउँपालिका– १ दोबाका पुराना कालकार गमबहादुर पुर्जाले ठाउँ अनुसार गीतको भाका र नाचको ताल फरक फरक पर्ने भएपनि पुख्र्यौली संस्कृति मौलिक जीवन्त संस्कृतिको रुपमा रहेको बताए । ‘‘यो नाच र गीतको इतिहास लामो छ, एक पुस्ताबाट अर्को पुस्ता हुँदै आजसम्म जीवन्त रहेको पुख्र्यौली संस्कृतिलाई आगामी पुस्तामा समेत पु¥याउन जरुरी छ’’– उनले भने ।

दोबा पुख्र्यौली समूहका अर्का कलाकार पदमबहादुर पुर्जाले पुख्र्यौली संस्कृतिमा मादले–मारुनी नाच नयाँ पुस्ताले सिक्न थालेपनि सोरठी भाकामा गीत गाउने सीप भने अझै नयाँ पुस्तामा हस्तान्तरण हुन नसकेको बताउँछन् । ‘‘ सोरठी गाउन स्वरमात्रै दिएर हुँदैन, गीतका कथा र भाका पनि गाउन जान्ने हुनुपर्छ, त्यसको लागि धेरै मेहनत गर्नुपर्छ, अहिलेसम्म युवा पुस्ता नाच्न सक्ने भएका छन्, गाउन भने पुरानै कलाकार जुट्नुपर्छ’’–पुर्जाले भने । कला संस्कृतिको क्षेत्रमा पुख्र्यौली नाच आफैँमा अनौठो संस्कृतिको रुपमा रहेको छ ।

यो नाचको सुरुवातमा मादलको तालमा सरस्वती जगाउने गरिन्छ । यसरी देवी देवतालाई सम्झेर सरस्वती जगाउँदा धेरैजसोको शरीरमा सरस्वती चढेर काम्ने गर्छन् । ‘‘पहिले देवीदेवता बनाउँदा देउताले छुनेहरु आफै काम्न थाल्छन्, मादलको २२ ताल बजाएर देवतालाई बाचा फुकाएपछि स्वतस्फुर्त उनीहरु सामान्य अवस्थामा आउँछन्’’– पुराना कलाकार चन्द्रप्रसाद फगामीले भने । पुख्र्यौलीमा कम्तीमा चार÷चार जना मादले र मारुनी नाच्ने गर्छन् ।
पुरुषको पोशाक लगाएका मादले कम्मरमा मादल भिरेर बजाउँदै नाच्छन् भने महिलाको पुख्र्यौली भेषभुषामा सजिएका पुरुष नै मारुनी बनेर नाच्ने गर्छन् । पुख्र्यौलीमा मुख्य गीत निकाल्ने गिताङ्गेले पुराना राजा रानी र देवी देवताका कथा सँगै माया, प्रेम र आफ्नो पुर्खाका दुःख–सुखलाई समेटेर सोरठी गीत गाउने गर्छन् भने महिलाको समूहले लामो स्वरमा हाइ भरेर साथ दिने गर्छन् । पुख्र्यौली नाचमा मादले, मारुनी, सोरठी गाउने र हाइ मार्नेलगायतको भूमिकामा कम्तीमा २० जना बढी सहभागी हुने गर्छन् ।

मौलिक चिनारीको रुपमा रहेको पुख्र्यौली संस्कृतिको संरक्षणमा जागरण ल्याउन पहल थालेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भरतकुमार पुनले बताए । ‘‘यो वर्ष भुरुङमा पालिका र वडा कार्यालयको समन्वयमा पुख्र्यौली नाच प्रतियोगिता नै सम्पन्न गरेका छौँ, यसले पुख्र्यौलीको विविधताको एक अर्कामा सिकाईसँगै नयाँ पुस्तामा संस्कृतिको सीप विकासमा सघाएको हामीले विश्वास लिएका छौँ, यस्ता कार्यक्रमलाई हामीले आगामी वर्षमा समेत निरन्तरता दिनेछौँ’’–गाउँपालिका अध्यक्ष पुनले भने । गाउँपालिकाले नीति तथा कार्यक्रममा नै मौलिक कला, संस्कृतिको संरक्षणलाई प्राथमिकतामा राखेर कला र संस्कृतिको विकास, प्रवद्र्धन र प्रचार प्रसारमा जुट्ने जनाएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  १ : ३० बजे

ढोरपाटनमा दोस्रो याममा १० नाउर र सात झारलको सिकार

बागलुङ । वैधानिक रुपमा सिकार खेल्न पाइने नेपालकै एक मात्र

१८सय रुपैयाँले घट्यो बिहीबार सुनको भाउ, चाँदीमा कति ?

काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटकको गन्तव्यमा विकास गर्न सरकार क्रियाशील छ : प्रधानमन्त्री

लुम्बिनी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार बुद्धको विचार,

गर्मीले अण्डा उत्पादन घट्दा लागत बढ्यो

चितवन । अण्डाको मूल्य बढेपछि उत्साहित कुखुरापालक किसान गर्मीका कारण

बौद्ध दर्शन मानव समुदायका लागि प्रेरणादायी छ : माधव नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी  (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले