२७ असार २०८३, शनिबार | July 11, 2026

सङ्गीत दिवस : गीतसङ्गीत जीवनकै अभिन्न अङ्ग



काठमाडौं । अग्रज गीतकार तथा सङ्गीतकारहरुले गीतसङ्गीत मानव जीवनकै अभिन्न अङ्ग भएकाले समाजलाई अगाडि बढाउने सृजना गर्नुपर्नेमा जोड दिएका छन् ।

विश्व सङ्गीत दिवसका अवसरमा आज नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजनामा यहाँ आयोजित ‘नेपाली समाज र सङ्गीत’ विषयक अन्तरक्रियामा उनीहरुले सङ्गीतलाई छुटाएर मानव जीवन पूर्ण हुन नसक्ने तर्क गरे । सन् १९८१ जुन २१ मा फ्रान्सबाट सङ्गीत दिवस मनाउन थालिएको हो । यो दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

सांसद एवं लुम्बिनी प्रदेशका पूर्वसभामुख पूर्ण घर्तीले नाच, गान, बाजाका धुन प्रतिविम्बित ध्वनि र सुरको संयोजनबाट निर्मित अलग्गै भाषा नै सङ्गीत भएको र यो मानव जीवनका लागि महत्वपूर्ण रहेको बताए । उनले सङ्गीतलाई राज्यले संरक्षण गर्नुपर्नेमा जोड दिँदै सामाजिक चेतनालाई उन्नत बनाउन तथा भ्रम चिरेर समाज विकासमा योगदान दिने महत्वपूर्ण माध्यम गीत सङ्गीत भएको बताए ।

कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका उपकुलपति शम्भू राईले नेपालमा सङ्गीत अनियन्त्रित हुने क्रममा देखिएकाले प्रतिष्ठानले नियन्त्रित गर्ने प्रयास गरिरहेको उल्लेख गरे । वरिष्ठ गीतकार विश्व वल्लभले सङ्गीतको महत्वलाई बचाइराख्न नियमित साधना जरुरी रहेको औँल्याए । उनले आफ्नो कर्म नछाड्न यस क्षेत्रका व्यक्तिहरुलाई अनुरोध गरे । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले थुम्केलीले विद्यालयस्तरका पाठ्यक्रममै अनिवार्य शिक्षाका रुपमा सङ्गीतलाई राख्नुपर्नेमा जोड दिए ।

अर्का वरिष्ठ सङ्गीतकार चिरन पुनले सङ्गीत सृजना मनोरञ्जन मात्र नभई यो राजनीति, अर्थशास्त्र, समाज, संस्कृति सबै क्षेत्रमा जोडिने बताए । उनले भने, “गीतसङ्गीत भनेको त जीवन हो तर अहिले गीतसङ्गीतमा विकृति बढ्यो, परिवारसँग बसेर हेर्न नसकिने गीतहरु छन्, भाइरलका नाममा एउटा मान्छे कुनै ठाउँबाट आएर भ्याइनभ्याइ भइरहेको छ तर वर्षौंदेखि साधना गरिरहेकाहरु कहाँ छन् ?”

गीतकार सङ्घका अध्यक्ष वसन्त वित्यासी थापाले ठाउँ, परिवेश र शब्दअनुसार सङ्गीत प्रस्तुत गर्नुपर्ने बताउँदै भने, “माया प्रेमका मात्रै होइन समाज परिवर्तन गर्ने हो भने चेतना र रुपान्तरणकारी गीत जरुरी देखिएको छ ।” राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीले जुनसुकै समाज परिवर्तनमा गीतसङ्गीतको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै नेपाली सङ्गीतको घेरा सानो रहेको जिकिर गरे । नृत्य निर्देशक सङ्घका अध्यक्ष भुवन श्रेष्ठले सङ्गीत आफैँमा गहन विषय भएको बताए ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्य एवं सङ्गीत विभाग प्रमुख कर्ण गौतमले सङ्गीत मानिसको अभिन्न अङ्ग भएको स्मरण गर्दै बिरामी हुँदा उपचारका लागि, दुःख बिसाउनका लागि पनि सङ्गीतको प्रयोग भइरहेको बताए । उनले अहिलेको समाजमा सङ्गीत नेतृत्वदायी साधन बनिरहेको जिकिर गरे ।

नेपाली गीतसङ्गीतमै विद्यावारिधि गरेकी डा आना स्टरले सङ्गीतलाई मनोरञ्जनका रुपमा मात्रै हेर्न नहुनेमा जोड दिँदै भनिन्, “सङ्गीतमा शक्ति हुन्छ, यो संस्कृति, राजनीति, अर्थशास्त्र सबैसँग जोडिन्छ ।” प्रतिष्ठानका सदस्यसचिव कुष्मा महराले अन्तरक्रियामा महत्वपूर्ण सुझाव आएको र त्यसलाई व्यवहारमा लागू गर्न प्रतिष्ठानले प्रयास जारी राख्ने बताइन् । पूर्वप्राज्ञ माधव प्रधान, जनसांस्कृतिक महासङ्घ नेपालका उपाध्यक्ष डम्बर रोकाया, प्रगतिशील गायक हेमराज आश्रम, गायक झङ्क बुढा मगर, गायिका निलिमा पुनलगायतले धारणा राखेका थिए ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ९ : ४६ बजे

स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिकाले नगर क्षेत्रभित्र उत्पादित स्याउ जिल्ला

शेख हसिना डिसेम्बरमा बंगलादेश फर्कने, अदालतमा हाजिर हुने

नयाँ दिल्ली । हाल भारतमा आश्रय लिइरहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख

विपद्का घटनासम्बन्धी हटलाइन १२३४ अब सबै जिल्लामा

काठमाडौं । विपद्सम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धारसम्बन्धी सेवालाई थप

प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान

काठमाडौं । संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त

कीर्तिपुरको सुकुम्बासी होल्डिङ सेन्टरमा मध्यराति बाढी, ५४ जनाको उद्धार

काठमाडौं । अविरल वर्षासँगै बागमती नदीको जलस्तर बढेपछि कीर्तिपुर नगरपालिका–१०