२२ माघ २०८२, बिहिबार | February 5, 2026

व्यावसायिक बाख्रापालनतर्फ किसानको आकर्षण



मध्यविन्दु । बर्दघाट सुस्तापूर्वका किसान व्यावसायिक बाख्रापालनतर्फ आकर्षित हुन थालेका छन् । कम समयमा बढी आम्दानी हुने भएपछि यहाँका किसान बाख्रापालनतर्फ आकर्षित भएका हुन् ।

गत आर्थिक वर्षमा जिल्लामा बाख्रापालन गर्ने किसान, व्यावसायिक फार्म र उत्पादित खसीबोका वृद्धि भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख ऋषभ गुरागाईँले बताए । आव २०७९/८० मा भन्दा २०८०/८१ मा बाख्रापालन गर्ने किसानको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको र यसले उत्पादन पनि बढेको पाइएको छ । “आव २०८०/८१ मा नयाँ १८ बाख्रा फार्म दर्ता भई सञ्चालनमा आएका छन् । अहिले जिल्लामा व्यावसायिक बाख्रा फार्मको सङ्ख्या दुई सय ७४ पुगेको छ”, उनले भने, “आव २०७९/८० मा दर्ता भएका बाख्रा फार्म दुई सय ५६ थियो ।”

फार्म नै दर्ता गरेर बाख्रापालन गर्नेको अनुपातमा व्यक्तिगत रूपमा खोर बनाएर बाख्रा पाल्ने सङ्ख्या अझ उल्लेख्य रहेको पाइएको छ । जिल्लामा आव २०७९/८० मा एक लाख ४३ हजार नौ सय ९० वटा बाख्रा रहेकामा गत आवमा सो सङ्ख्या २३ हजार सात सय ८९ ले थप भई एक लाख ६७ हजार सात सय ७९ पुगेको विज्ञ केन्द्रको तथ्याङ्कमा देखिएको छ ।

“पछिल्लो तीन वर्षमा जिल्लामा ४५ हजार दुई सय २२ बाख्रा थप भएका छन्”, प्रमुख गुरागाईँले भने, “तुलनात्मक रूपमा बाख्रापालनमा कम मेहनत लाग्ने र छिटो नगद आम्दानी हुने भएकाले यसतर्फ अग्रसर भएको देखिन्छ ।”

बाख्रापालन गर्ने किसानको सङ्ख्या बढेसँगै यहाँ मासुको उत्पादन पनि बढेको पाइएको छ । आव २०७९/८० मा खसीबोकाको मासु पाँच सय ८१ मेट्रिक टन उत्पादन भएकामा गत आवमा ९५ मेट्रिक टनले वृद्धि भई छ सय ७६ मेट्रिक टन पुगेको प्रमुख गुरागाईँले बताए । जिल्लामा उत्पादन भएको खसीबोका किसान आफैँले बिक्री गर्ने गरेका छन् भने केही सहकारीमार्फत सङ्कलन गरेर बिक्री गर्ने गरिएको छ ।

“गत आवमा यहाँ उत्पादन भएको खसीबोकामध्ये एक सय ६६ मेट्रिक टन सहकारीमार्फत सङ्कलन गरी बिक्री गरिएको छ भने पाँच सय ११ मेट्रिक टन किसान आफैँले बिक्री गरेका छन्”, उनले भने । नवलपरासी (बर्दघाट सुस्तापूर्व) बाट गत आवमा एक सय ५० मेट्रिक टन खसीबोका काठमाडौं, पोखरा र चितवनका बजारमा निकासा भएको तथ्याङ्कमा उल्लेख छ ।

पछिल्ला वर्षहरूमा पशुपालनका क्षेत्रमा गाईभैँसी पाल्ने किसानको सङ्ख्या घट्दै गए पनि बाख्रापाल्नेको सङ्ख्या भने बढ्दै गएको छ । पशुपालनका क्षेत्रमा धेरै मेहनत र परिश्रम गर्नुपर्ने भएकाले त्यो क्षेत्रभन्दा कम मेहनत लाग्ने बाख्रापालनतर्फ किसानको आकर्षण बढेको देखिएको केन्द्रका प्रमुख गुरागाईँले बताए ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ८ : २८ बजे

ओमोडा शोरुममा आइकार भी २३ गाडी बुटवलमा सार्वजनिक

बुटवल । सिद्धि विनायक मोटर्स प्रालिले बहुप्रतिक्षित आइकार भी २३

जथाभावी राखिएका बस नियन्त्रणमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन उपत्यका

टी-२० विश्वकप वार्मअप : क्यानडालाई ६ विकेटले हराउँदै नेपालको लगातार दोस्रो जित

काठमाडौं । आईसीसी टी-२० क्रिकेट विश्वकपको वार्मअप खेलमा नेपालले लगातार

रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट रौतहटमा चार वर्षीया बालिकाको मृत्यु, उम्मेदवार र गाडी चालक फरार

जनकपुरधाम । रौतहट-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार

काश्मिर समस्या समाधान बिना दक्षिण एसियामा दिगो शान्ति सम्भव छैन : पाकिस्तान

काठमाडौं । ‘काश्मिर एक्यवद्धता दिवस’को अवसरमा नेपालस्थित पाकिस्तानी दूतावासले एक