११ माघ २०८२, आइतबार | January 25, 2026

जनैपूर्णिमा : गाउँघरमा लोपोन्मुख हुँदैछ जनै बनाउने सीप



नवलपरासी । पछिल्लो समय गाउँघरमा जनै बनाउने प्रचलन हराउँदै जाँदा बाह्य उत्पादनको भर पर्नुपर्ने अवस्था सृजना भएको छ ।

युवापुस्ताले जनै बनाउन चासो नदिँदा तथा सुलभ मूल्यमा बजारमा किन्न पाइँदा जनै बनाउनेक्रम हराउँदै गएको बर्दघाट सुस्तापूर्व कावासोती-६ का शालिकराम न्यौपानेले बताए । “अधिकांश युवा वैदेशिक रोजगारीमा गएकाले पनि जनै बनाउने सीप नहुँदा हिजोआज यो क्रम हराउँदै गएको पाइन्छ”, उनले भने, “सहजता र आधुनिकताले पनि धेरै परम्परा र मौलिक सीप लोप हुँदै गएका छन् ।”

केही वर्ष अगाडिसम्म जनै बनाएर आफन्तलाई पनि दिने गरेको भए तापनि पछिल्लो समय बजारबाट खरिद गरी प्रयोग गर्ने गरेको कावासोती-१७ का धनपति अधिकारीले बताए। “पछिल्लो समय युवाले नियमित जनै लगाउनै छाडे”, उनले भने, “अहिलेका छोरानातिले जनै लगाएर के हुन्छ भनेर उल्टै आफ्नो रीतिरिवाज भुल्न थालेका छन् । यो चिन्ताको विषय हो ।”

गाउँमा अहिले जनै बाट्नै छाडिसकेको अधिकारीले बताए । जनैपूर्णिमाका लागि बजारबाट मेसिनले बाटेको जनै खरिद गरेर ल्याएको उनले बताए । बजारमा विदेशबाट आयातित र विभिन्न मेसिन तथा उपकरण प्रयोगबाट बनाइएका जनै फरक–फरक मूल्यमा उपलब्ध हुने गरेका छन् । नयाँ जनै फेर्नुपर्ने हिन्दू संस्कारमा रहिआएको मान्यताअनुसार जनैपूर्णिमाका लागि जनैको कारोबार पनि धेरै हुने गरेको पाइन्छ ।

विगत वर्षहरूमा गाउँघरमा ब्राह्मण तथा क्षेत्री समुदायका व्यक्तिहरूले एक महिना अघिदेखि नै जनै बाट्न सुरु गर्ने गरेको र त्यो नै उत्कृष्ट जनै रहने गरेको पण्डित बुद्धिसागर भण्डारीले बताए । “आफ्नै हातले धागो सङ्ग्ल्याएर, कतुवामा बाटेको जनै नै राम्रो हो, हिजोआज मेसिनको प्रयोगबाट जनै लगाउनु बाध्यता भइसक्यो”, उनले भने, “भारतबाट आउने जनै निकै सस्तो हुन्छ, तर त्यसको बनावट राम्रो र उपयुक्त हुँदैन ।”

पछिल्लो समय हिन्दू धर्मावलम्बीको पवित्र पर्वका रूपमा मनाइने जनपूर्णिमाको महत्त्व नयाँ पुस्ताले बिर्सँदै गएको पण्डित भण्डारीले गुनासो गरे । “रक्षाबन्धनका दिन नजिकैको धार्मिक मठमन्दिरमा गएर विधिपूर्वक पूजाआजा गर्नुपर्ने भए तापनि बजारमा भित्रिएका जनै र धागोलाई प्रयोग गर्न थालिएको छ”, उनले भने, “आधुनिकताका नाममा र युवापुस्ता व्यस्त रहने हुँदा संस्कृति लोप हुने अवस्थातिर पुग्ने हो कि भन्ने चिन्ता थपिएको छ ।”

शास्त्रीय मान्यताअनुसार विशेषगरी तागाधारी ९ब्राह्मण, क्षेत्री, वैश्य० वर्गले वर्ष दिन वेद पढ्नुपर्ने र त्यसको साङ्गे ९समाप्ति०को दिनका रूपमा जनैपूर्णिमालाई लिइने पण्डित भण्डारीले बताए । यस दिन स्नान गरी सप्तऋषिसहित ब्रह्मा, विष्णु, महेश्वरको पूजा गरी जनै मन्तरेर त्यसलाई धारण गर्ने प्रचलन छ । ठाउँठाउँमा पुरोहितले विधि पुर्याएर पूजा गरेको जनै र रक्षाबन्धन धारण गर्नुपर्ने हो उनले भने ।

जनैपूर्णिमा (रक्षाबन्धन)का दिन इष्टमित्रसँग जनै लगाउने र रक्षाबन्धन बाँध्नाले शत्रुबाट रक्षा हुने जनविश्वास रहिआएको छ । “तागाधारीले कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र अरुन्धतीसहित सप्तऋषिलाई तर्पण दिने भएकाले जनपूर्णिमालाई ऋषितर्पणी पनि भन्ने गरिएको छ”, उनले भने, “हिन्दू धर्मावलम्बीले यस पूर्णिमाको दिन नजिकैको तीर्थस्थलमा गई मन्त्रोच्चारण गरी विधिपूर्वक पूजाआजा गरेर घरमा लगेको जनै र रक्षाबन्धन लगाएर जनैपूर्णिमा पर्व मनाउने परम्परा रहिआएको छ ।”

प्रकाशित मिति : ३ भदौ २०८१, सोमबार  ७ : ५८ बजे

विवादास्पद व्यापारीको करोडौँको गाडी प्रकरणमा बालेन शाह मौन, पत्रकारको प्रश्न टार्दै हिँडे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा कांग्रेस-एमालेका उम्मेदवार विजयी

बुटवल । लुम्बिनी प्रदेशमा सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस

कोसी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा कांग्रेसका थापा तथा एमालेका पोर्तेल र मेचे विजयी

विराटनगर । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत कोसी प्रदेशबाट नेपाली कांग्रेसका सुनीलबहादुर

सामाजिक सञ्जालमा भ्रम फैलाउनेविरुद्ध कारबाही गर्न आदेश कुर्नु पर्दैन : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले ‘सामाजिक सञ्जालबाट भ्रम फैलाउनेविरुद्ध कारबाही

रेशम चौधरीको उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी