२० मंसिर २०८२, शनिबार | December 6, 2025

महानवमी पर्व पनि आजै मनाइँदै, तलेजु भवानी मन्दिर खोलिँदै



काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व पनि आजै नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।

महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दशैँघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ ।

पशुबलि नदिने र शाकाहारीहरुले भने महानवमीका दिनमा कुभिण्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवल समेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन पनि छ ।

मार्कण्डेय पुराणमा उल्लेख भए अनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई बिशेष महत्वका साथ लिइन्छ । कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि पनि दिने गरिन्छ ।

नवरात्रको अन्तिम दिन आज पनि देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड लाग्छ । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखिएको पूजा कोठा वा दशैँ घरमा आज नवदुर्गा मध्येकी नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिन्छ । दुर्गाको प्रतीकका रुपमा कन्यालाई पूजा गरी दक्षिणासमेत दिइन्छ । यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विधिपूर्वक पूजा आराधना गरिन्छ ।

महानवमीका अवसरमा कोतहरुमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरुमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन रहेको छ ।

हनुमानढोकाको दरबार क्षेत्रको तलेजु भवानी मन्दिर खोलिँदै

हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक आज अर्थात् महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर खुल्ने गर्दछ । मन्दिर खुला गरेर भक्तजनलाई दर्शन गराउने तयारी पूरा भएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।

तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने जनाइएको छ ।

मूलचोकमै महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिइन्छ । राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने सङ्कल्पले महाअष्टमीको राति तान्त्रिक विधिले कालरात्रि पूजा गर्ने गरिएको जनाइएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०८१, शुक्रबार  ६ : ४४ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल