१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

धवलागिरिमा अस्ताए रुसी आरोही



म्याग्दी । “चार सहभागीहरूले थप आरोहण जारी राख्न अस्वीकार गरे । दश जना हिउँ चितुवाजस्ता सहभागीहरू धवलागिरि चुम्नका लागि अनुकूल मौसमको पर्खाइमा छौँ”, रुसी पर्वतारोही अलक्जेन्डर डसिकाले सन् २०२४ को सेप्टेम्बर २३ अर्थात् यही असोज ७ गते सामाजिक सञ्जाल ‘इस्टाग्राम’मा धवलागिरि चढ्दै गरेको तस्बिरसहित आरोहणसम्बन्धी जानकारी गराएका थिए ।

संसारको सातौँ आठ हजार एक सय ६७ मिटर अग्लो धवलागिरि हिमाल आरोहणका लागि आएका १४ जना रुसी पर्वतारोहीको नेतृत्वकर्ता डसिकाको यो नै अन्तिम सन्देश बन्न पुग्यो । यही असोज २१ गते अर्थात् अक्टोबर ६ तारिखका दिनदेखि आरोही एकाएक सम्पर्कविहीन भएपछि समाजिक सञ्जालमा बधाई तथा शुभकामना दिइरहेका आफन्त तथा शुभेच्छुकहरू निराश बने ।

धवलागिरिको चुचुरो चुम्न एक सय ६७ मिटरमात्र बाँकी रहेको अवस्थामा असोज २१ गते दिउँसो ११ बजे आधार शिविरमा रहेको टोलीलाई फर्कन लागेको जानकारी गराएका डसिकासहित पाँचजना आरोही सम्पर्कविहीन भएको दुई दिनपछि असोज २३ गते सात हजार एक सय मिटर उचाइमा मृतावस्थामा भेटिए ।

अतिरिक्त अक्सिजनको प्रयोगबिना धवलागिरि आरोहण गर्न आएका डसिका, ओलेग क्रुग्लोभ, भाल्दिमिर किस्टिकोभ, मिखाइल नोसेन्को र दिमित्री स्पिलेभोइ अन्ततः धवलागिरिमै अस्ताए ।

हेलिकप्टर अवतरण गर्न र मानिस हिँडेर पुग्न नसकिने ठाउँमा खसेर ज्यान गुमाएका पाँचै जनाको शव दश दिनपछि बुधबार निकालिएको छ । एयर अल्टिच्युडको हेलिकप्टरबाट रसीमा झुण्डिएर घटनास्थलमा पुगेका सेभेन समिट टे«क्सका सञ्चालक मिङ्मा शेर्पासहितको टोलीले शव उठाएर इटली आधार शिविरमा ल्याएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले आधार शिविरबाट शवलाई काठमाडौंस्थित शिक्षण अस्पतालमा लगिएको बताए । “मौसमको खराबी र प्रतिकूल भूगोलका कारण घटनास्थलबाट शव सङ्कलन गरेर ल्याउन ढिलाइ भएको हो । यसअघि दैनिकजसो शव ल्याउन गएका हेलिकप्टर रित्तै फर्किएका थिए । उद्धारकर्ताहरूको अथक प्रयासपछि हेलिकप्टरबाट रसीमा झुण्डिएर शव ल्याउनुभयो”, उनले भने ।

आइएम टे«किङ एण्ड एक्सिपडिसनमार्फत १४ जना रुसी पुरुष पर्वतारोहीहरू धवलागिरि हिमाल आरोहणका लागि गएका थिए । सो टोलीका डेनिस एलेक्सोन्को र आर्टस्योम तेसेन्त्सेभिल्स्लीले भने धवलागिरिको सफल आरोहण गरेका आरोहण गराउने कम्पनी एक्सपिडिसनले जनाएको छ ।

कम्पनीका अनुसार छ जना पर्वतारोही बीचमै आरोहण रद्द गरेर फर्किएका थिए । आरोही समूहका एकजना भालेरी शामालोलाई फस्ट क्याम्पबाट उद्धार गरी काठमाडौं लगिएको थियो । चौथो क्याम्पमा पुगेपछि माथि जान अप्ठेरो भएका कारण उनले आरोहण रद्द गरेका जनाइएको छ । जिल्लाको धवलागिरि गाउँपालिका–४ मा पर्छ ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहिबार  ७ : १४ बजे

पश्चिम एसियामा द्वन्द्व चर्किंदै, १९ लाख नेपाली असहज अवस्थामा

काठमाडौँ । पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमपछि त्यस क्षेत्रमा

सर्लाहीमा मतदान अधिकृतको मृत्यु

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र भइरहेका बेला सर्लाहीमा खटिएका

रूपन्देहीमा निर्वाचनको तयारी पूरा

बुटवल । जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको

निर्वाचनमा खटिने कर्मचारीले कस्तो आचरण पालना गर्नुपर्छ ?

काठमाडौं । निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनमा व्यवस्था

मतदाताहरु मतदान गर्न ‘पहाडघर’ फर्केपछि सुनसान बन्दै बुटवल (फोटोफिचर)

बुटवल । निर्वाचनको दिन नजिकिएसँगै पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र