३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

विश्वको सातौँ अग्लो धवलागिरि हिमाल आरोहण गर्न ‘रुट’ तयार



म्याग्दी । विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो धवलागिरि हिमालको चुचुरोमा पुग्ने ‘रुट’ तयार गरिएकोे छ । धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ को भूगोलमा पर्छ । चालु शरदयाममा आरोहण टोली लिएर हिमालमा पुगेका चार जना शेर्पाहरूले ‘रुट’ बनाएर चुचुरोमा पुगेका हुन् । आरोहण कम्पनी सेभेन समिट ट्रेक्सका संस्थापक मिङ्मा शेर्पाले आधार शिविरदेखि बाटो बनाएर धवलागिरिको चुचुरोमा पुगेका चार जना शेर्पाहरूको टोलीले शनिबार ‘रोप फिक्सिङ’ (डोरी तानेका) जानकारी दिए ।

“चौध शिखर अभियान र सात शिखर पदयात्राका शेर्पाहरूको संयुक्त टोलीले धवलागिरिको चुचुरोसम्म मार्ग खोलेको छ”, उनले भने, “यसले गर्दा यस सिजनमा सबै पर्वतारोहीका लागि धवलागिरि हिमाल पहुँचयोग्य भएको छ ।”

सङ्खुवासभाको मकालु गाउँपालिका–१ का टासी शेर्पा, लाक्पा टेम्बा शेर्पा, सोही पालिकाको वडा नं २ का पुर्वा कुसाङ शेर्पा र पासाङ नोर्वु शेर्पाको टोलीले बाटो बनाउने र डोरी तान्नुका साथै चालु शरदयाममा धवलागिरिको सफल आरोहण गर्ने पहिलो टोली भएका छन् ।

शेर्पाहरूको टोलीले हिउँमा डोरी तानेर बाटो तयार पारेपछि उनीहरूको सहयोगमा आरोहीहरू चुचुरोमा पुग्ने गर्छन् । मौसम अनुकूल र अन्य समस्या नभएमा एकदुई दिनभित्र आरोहण टोली धवलागिरिको चुचुरोमा पुग्ने शेर्पाहरूले जनाएका छन् ।

पर्यटन विभागका अनुसार शरदयाममा धवलागिरि आरोहणका लागि तीनवटा समूहका सात जना महिला र १७ जना पुरुषले अनुमति लिएका छन् । अनुमति लिएकाबाट रु ५० लाख ७१ हजार सलामी दस्तुर (शुल्क) प्राप्त भएको छ ।

आरोही, शेर्पा, पथप्रर्दशक र सहयोगीहरूको टाली आधार शिविरमा पुगिसकेका छन् । यसपालि आरोहण टोली मुस्ताङको मार्फादेखि याकखर्क हुँदै आधार शिविर पुगेका हुन् । धवलागिरि गाउँपालिकाको मुदीबगर हुँदै जाने पदमार्ग बिग्रिएको, घुमाउरो र टाढा पर्ने भएकाले मुस्ताङको पदमार्ग प्रयोग गरेर गएका हुन् ।

गत वसन्तयाममा दुईवटा समूहका १५ जनाले आरोहण अनुमति लिएबापत रु ३६ लाख ९१ हजार २६० राजस्व सङ्कलन भएको थियो । सन् २०२४ को शरदयाममा एक समूहका १४ जना पुरुष पर्वतारोहीहरूले आरोहणको अनुमति लिएकामा रसियाका पाँच जनाको हिउँपहिरोमा पुरिएर ज्यान गएको थियो ।

छिनछिनमा परिवर्तन हुने मौसम धवलागिरि आरोहणको चुनौती हो । अन्य हिमालको तुलनामा धवलागिरि आरोहणलाई जोखिमयुक्त र साहसिक मानिन्छ । सन् १९६० मे १३ मा अष्ट्रियाका कुर्ट डिम्बर्गरले पहिलोपटक धवलागिरि हिमालको सफल आरोहण गरेका थिए । डिम्बर्गरसहित पिटर डियनर, एन्स्ट फोरर, एल्बिन सेल्वर्ट, निमा दोर्ज र नवाङ दोर्ज पहिलोपटक धवलागिरिको चुचुरोमा पुगेका थिए ।

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ८ : ३२ बजे

राष्ट्र बैङ्कको अध्ययन : औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव

काठमाडौं । मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा

युवाले सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेको छ : अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा

अदालतको निर्णयले पार्टी टुक्रियो, अब एकता नै विकल्प : शशांक कोइराला

विराटनगर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रेस

लुम्बिनी प्रदेशको बजेट भोलि प्रस्तुत हुँदै, कृषि, रोजगारी र पूर्वाधारमा जोड

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर, सयभन्दा बढी लाभान्वित

काठमाडौं । नेपालस्थित पाकिस्तान दूतावास र पाकिस्तान नेपाल एलुम्नाइ नेटवर्क