८ पुस २०८२, मंगलबार | December 23, 2025

रास्वपा सभापति लामिछानेसहितका प्रतिवादीको अदालतमा बयान सुरु हुँदै



गण्डकी । सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित पाँच प्रतिवादीको आजदेखि जिल्ला अदालत कास्कीमा बयान सुरु हुँदैछ ।

यसअघि आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले लामिछानेसहित ३१ जनाविरुद्ध सहकारी ठगीमा मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमासमेत मुद्दा दायर भएको छ ।

जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले लामिछाने, छविलाल जोशीसहित अदालतमा उपस्थित गराइएका पाँच जना प्रतिवादीको बयान सुरु हुने जानकारी दिए । “गोलामार्फत इजलासको टुङ्गो लागेपछि प्रतिवादीहरुको बयान सुरु हुन्छ, बयान सकिएपछि मात्र थुनछेकको आदेश हुन्छ”, उनले भने । सरकारी वकिलको कार्यालयले पोखराको सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ ।

लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीका सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले जानकारी दिइन । यस्तै लामिछानेसँगै रामबहादुर खनाल, छविलाल जोशी र लीला पछाइविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरिएको उनले बताए ।

लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा रु २७ करोड ८९ लाख ४४ हजार सात सय बिगो दाबीसहित मुद्दा दर्ता गरिएको हो । रु ७४ करोड ३४ लाख ७१ हजार बढी बिगो दाबी गरी छविलाल जोशीविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर गरिएको हो । प्रतिवादी खनालसँग रु १४ करोड ३० लाख ९१ हजार नौ सय ११ र पछाइसँग रु २४ करोड ६७ लाख सात हजार २४ बिगो दाबी गरिएको सहायक जिल्ला न्यायाधिवक्ता शर्माले जानकारी दिइन ।

सहकारी ठगीतर्फ लामिछानेलाई रु तीन करोड ३७ लाख ६५ हजार र जोशीविरुद्ध रु पाँच करोड २६ लाख ६५ हजार र दीपेश पुनसँग रु दुई करोड १४ लाख आठ हजार आठ सय ४३ बिगो माग गरिएको छ । सहकारी ठगीका आरोपित अन्य व्यक्तिलाई पनि कसुरअनुसारको बिगो र सजायको मागसहित मुद्दा दर्ता गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ । सहकारीको बचत रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । उनीमाथि कास्कीसहित अन्य जिल्लामासमेत सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ । सूर्यदर्शन सहकारी ठगीका मुख्य योजनाकार जीबी राईलगायत अन्य आरोपी भने अझै पनि फरार छन् ।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  १० : ५६ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही पुस

सरकारी टोलीद्वारा नेपाली कांग्रेसको कार्यालय निरीक्षण

ललितपुर । उद्योग, वाणिज्य तथा आपूर्तिस कानुन, न्याय तथा संसदीय

सरकारी टोलीद्वारा पेरिसडाँडास्थित नेकपाको कार्यालयमा अनुगमन

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेपाली कम्युनिस्ट पार्टी

महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महान्यायाधिवक्ता कार्यालयले फौजदारी न्याय

कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको समय भोलि दिउँसोसम्म

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको समय भोलि दिउँसो