९ चैत्र २०८२, सोमबार | March 23, 2026

क्रिप्टो करेन्सीको कारोबार गरेर तीन अर्ब ठगी, ‘मास्टर एजेन्ट’ सहित ७ जना पक्राउ



काठमाडौं । अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) कारोबारमा संलग्न एक गिरोहलाई प्रहरी पक्राउ गरेको छ।  नेपालमा गैरकानुनी रहेको क्रिप्टो कारोबार तथा अनलाइन स्क्याम (ठगी) गरेको गरेको कसुरमा प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट सात जनालाई पक्राउ गरेको हो।

केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार पक्राउ पर्नेमा २२ वर्षीय माइकल डंगौरासहित ७ जना रहेका छन्। कैलाली बर्दगोरिया गाउँपालिका-६ घर भई हाल बुढानिलकण्ठ नगरपालिका-८ गैरीगाउँ बस्ने डंगौरा गिरोहका ‘मास्टर एजेन्ट’ रहेको ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक होविन्द्र बोगटीले बताए।

पक्राउ पर्ने अन्यमा कैलाली बर्दगोरिया गाउँपालिका-६ कै २६ वर्षीय अनिल विश्वकर्मा, काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ बस्ने २१ वर्षीय पियुष श्रेष्ठ छन्।

यसैगरी, दोलखा भीमेश्वर नगरपालिका-४ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने १९ वर्षीय आश्विन चौलागाईं, रौतहट गौर नगरपालिका-९ घर भई काठमाडौं-३१ नयाँ बानेश्वर बस्ने २२ वर्षीय सत्यमकुमार सहनी, बिहार भारत साहेवगञ्ज घर भई काठमाडौं-२५ बस्ने २७ वर्षीय रोशन कुमार र भारत बिहार पूर्वी चम्पास बस्ने ३६ वर्षीय मुन्ना कुमार रहेका छन्।

यो समूहले हालसम्म अभौतिक मुद्राको कारोबार गरेर तीन अर्बभन्दा बढी रकम ठगी गरेको पाइएको बोगटीले बताए। यो रकम डिजिटल फरेन्सिक रिपोर्टको विवरणबाट प्राप्त भएको बोगटीले बताए ।

पक्राउ परेका व्यक्तिहरूले प्रयोग गरिरहेको दुई थान कम्प्युटर, १३ थान मोबाइल प्रहरीले बरामद गरेको छ। यस्तै, नगद पाँच लाख पचास हजार र विभिन्न व्यक्तिको नाममा जारी भएको बैंकको चेक १९ थान बरामद भएको छ।

‘उनीहरूले विभिन्न व्यक्तिहरूलाई संगठित रुपमा परिचालन गरी ठगी तथा अभौतिक मुद्राको कारोबार गर्ने गरेको पाइएको छ,’ बोगटीले भने।

उनका अनुसार विभिन्न बैंक तथा डिजिटल वालेट प्रयोगकर्ताहरूलाई समूहले झुक्याएर बैंक तथा वालेटहरूको आधिकारिक व्यक्ति भन्ने गरेको थियो।  प्रयोगकर्ताको ओटिपीरपिन माग गरेर अनाधिकृत रुपमा बैंक तथा वालेटहरूमा यो समूहले पहुँच पुर्‍याउँथ्यो। यो समूहले सोसल मिडिया ह्वाट्सएप, टेलिग्राम, फेसबुकहरूमा अनलाइन जब पाइने भन्दै ‘घरमै बसेर धेरै कमाउने सकिने’ भनी विज्ञापन गर्ने गरेको थियो।

‘त्यसरी आकर्षक विज्ञापनहरू विभिन्न लिंकहरूबाट पठाएर साइबर फिसिङ गरी प्रयोगकर्ताहरूको बैंक तथा वालेटहरूमा पहुँच पुर्‍याउने गरेको अनुसन्धानमा खुलेको छ,’ बोगटीले भने, ‘उनीहरूको रकम रकम अन्यत्र खातामा ट्रान्सफर गर्ने गरेको पाइएको छ।’

अनलाइन जब भन्दै खोल्न लगाइएका डिजिटल वालेटहरू आफूले प्रयोग गरेर प्रयोग गरेबापत यो समूहले निश्चित रकम नै दिने गरेको अनुसन्धानमा खुलेको छ।

‘यस्ता खाताहरूमा अनलाइन ठगीबाट आर्जित रकम जम्मा गर्ने, क्रिप्टो करेन्सी खरीद-बिक्री गर्ने तथा हुण्डी कारोबार गर्न समेत प्रयोग गर्ने गरेको अनुसन्धानले देखाएको छ,’ उनले भने।

उनका अनुसार ठगी गर्ने समूहले समानान्तर बैंकिंङ कारोबार गरी मानिसहरूको आवश्यकतानुसार नेपालभित्र र बाहिर डिजिटल/क्रिप्टो करेन्सी, गेम पोइन्ट्स एवम् भौतिक मुद्रासमेत कारोबार गर्ने गरेको खुलेको छ।

यस्तै, विदेशमा रहेका नेपालीहरूले पैसा नेपाल पठाउँदा गैरबैंकिङ माध्यमबाट पठाउँदा कर तथा शुल्क तिर्नु नपर्ने र थप रकम समेत फाइदा हुने प्रलोभनमा पारेर समूहका एजेन्टमार्फत् रकम लिने र नेपालमा रहेका नातेदारहरूको खातामा जम्मा गरिदिने गरेको पाइएको छ।

पक्राउ परेकाहरूलाई ठगी तथा राष्ट्र बैंकको अभौतिक वस्तुको कारोबार गर्न नमिल्ने कसुरमा अनुसन्धान थालिएको छ।

छिमेकी मुलुक भारतलगायत अन्य केही देशमा क्रिप्टो करेन्सीलाई करको दायरामा ल्याएर वैध बनाइएको भएपनि नेपालमा भने क्रिप्टो करेन्सीलाई गैरकानुनी मानिन्छ।

पछिल्लो समय क्रिप्टो करेन्सीबाट अर्बौं रकम विदेशिएको भन्दै राष्ट्र बैंकले यसलाई दायरामा ल्याउनेबारे छलफल चलाएको वर्षौं भयो तर अहिलेसम्म क्रिप्टोबारे कुनै नीति बनिसकेको छैन।

क्रिप्टो अर्थात् गुप्त र करेन्सी अर्थात् मुद्रा हो। शाब्दिक अर्थमा क्रिप्टो करेन्सी भन्नाले विनिमयका माध्यमका रूपमा काम गर्ने संकेताक्षर (कोड वा क्रिप्टोग्राफी) द्वारा सुरक्षित विद्युतीय वा भर्चुअल मुद्रा हो। क्रिप्टोमा जोडिएपछि संकेत पाइने र त्यसैमार्फत् नेपाली रकमलाई डलरमा परिणत गरी कारोबार गरिन्छ।

क्रिप्टो करेन्सी गैरकानुनी रहेकाले त्यसबाट कसैलाई फाइदा नै भए पनि उपभोक्ता ठगिने सम्भावना अत्यधिक रहेको प्रहरी बताउँछ।

‘एप वा कोइनमार्फत् डलर खरिद गर्न सक्ने र तुरून्तै अर्कोलाई महंगोमा बेच्न सक्ने, कानुनी दायित्व पनि पूरा गर्नु नपर्ने भएकाले धन कमाउने आशमा हिँडेकालाई फाइदा छ,’ बोगटी भन्छन्।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ६ : २० बजे

बेमौसमी वर्षाबाट इँटा उद्योग प्रभावित

महोत्तरी। बेमौसमी वर्षाका कारण महोत्तरीको इँटा उद्योगहरुमा रु ६ करोड

सडक फराकिलो बनाउन आफ्ना घरटहरा भत्काउन दरवाङवासी आफै अग्रसर

म्याग्दी । मालिका गाउँपालिका–६ दरवाङका बासिन्दाले सडक विस्तार गर्न स्वस्फूर्त

समुदायको विकासमा साझेदारी गर्दै सामुदायिक वन

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मदुईस्थित अशोक सामुदायिक वन

पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

पोखरा । आन्तरिक पर्यटन प्रवद्र्धनको मुख्य उद्देश्यले पूर्वी नेपालको प्रमुख

आज विश्व जल तथा मौसम दिवस मनाइँदै

काठमाडौं । ‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने नाराका साथ नेपालमा