१३ बैशाख २०८३, आइतबार | April 26, 2026

क्षतिग्रस्त बिपी राजमार्ग : स्रोत सुनिश्चित गर्दै सरकार



काभ्रेपलाञ्चोक । सरकार क्षतिग्रस्त बिपी राजमार्ग पुनःनिर्माणका लागि स्रोत जुटाउन लागेको छ । गत असोज दोस्रो साताको बाढीपहिरोबाट क्षतिग्रस्त राजमार्ग पुनःनिर्माणका लागि सरकार स्रोत जुटाउन लागिपरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सडक कुन मोडालिटीमा कसरी पुनःनिर्माण गर्ने भन्ने विषयमा निक्र्योल गर्न निरीक्षण गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, मन्त्रालयका सचिव केशवकुमार शर्मा तथा डिभिजन सडक कार्यालय भक्तपुरको टोलीले शनिबार क्षतिग्रस्त सडकको अनुगमन समेत गरेको छ ।

सडक अनुगमनमा क्रममा मन्त्री दाहालले करिब एक हप्तामा सडक पुनःनिर्माणका लागि स्रोत सुनिश्चितता हुने बताए। “करिब एक हप्तामा सरकारद्वारा क्षतिग्रस्त सडक पुनःनिर्माणको स्रोत सुनिश्चितता हुनेछ, त्यसपछि प्रक्रियामा लाग्नेछौँ”, दाहालको भनाइ उद्धृत गर्दै कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले भने ।

योगेशका अनुसार एक हप्तामा क्षतिग्रस्त सडक पुनःनिर्माणको स्रोत सुनिश्चितता भए प्रक्रियागत रूपमा अघि बढ्दा आउँदा वैशाखसम्म ठेक्का लगाइ स्थायी पुनःनिर्माण थालिनेछ । त्यसअघि हाल बगरमा गरिएको डाइभर्सन तथा सडकको पुरानै स्थानलाई अवस्था हेरी दुईदेखि तीन मिटरसम्म उचाइ बनाउने तथा अप्ठ्यारो भएको स्थानमा जाली भरेर उचाइ बनाउन सकिने छलफल भएको योगेशले बताए । उनले भने, “कुनै अवरोध नभए वैशाखदेखि पुनःनिर्माण सुरू हुन्छ, अन्यथा वर्षामा गाडी सञ्चालन गर्न अस्थायी रूपमा भए सडकलाई उचाइ गर्नुपर्ने देखिएको हो ।”

कार्यालयद्वारा गत पुसमा गरिएको अध्ययनले क्षतिग्रस्त सडक पुनःनिर्माण गर्न करिब रू साढे नौ अर्ब लाग्ने देखाएको थियो । प्रारम्भिक अध्ययनअनुसार बिपी राजमार्गअन्तर्गत भकुण्डेदेखि नेपाल थोकसम्मको विभिन्न स्थानमा पुनःनिर्माण गर्न रू नौ अर्ब ६६ करोड लाग्ने अनुमान गरिएको हो । उक्त राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित चौकीडाँडादेखि रोशी गाउँपालिकाको कालढुङ्गासम्म १२ किलोमिटर सडकखण्डमध्ये आठ किलोमिटर सडकखण्ड पूर्णरूपमा क्षति पुगेको थियो ।

योगेशका अनुसार उक्त सडकमा तीन किसिमका वाल (आरसीसी रिटेनिङ, प्लम र गेभिएन) लगाउनुपर्ने अध्ययनबाट देखिएको छ । “अध्ययनबाट केही स्थानमा पहिला पुल बनाउनुपर्ने देखिए पनि पुल बनाउने कि, वाल लगाउने भन्नेबारे थप छलफलपछि निष्कर्ष निस्कने छ”, योगेशले भने । उनका अनुसार वाल खोला आउन सक्ने ठाउँमा आरसीसी वाल लगाउनुपर्ने देखिएको छ भने कतै प्लम वाल र कतै गेभिएन वाल लगाउनुपर्ने अध्ययनले देखाएको हो । पुनःनिर्मित सडकमा आसपाल्ट कङ्क्रिटसहित दुई लेनको सडक हुने योगेशले बताए। यसअघि ‘इन्टरमिडियट लेन’ को सडक थियो ।

उक्त राजमार्ग पुनःनिर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज ३० गते नेपालका लागि जापानका राजदूत किकुुता युताकासँग सहयोगबारे छलफल गरेका थिए। मन्त्रालयले जाइकासँग उक्त सडकखण्ड पुनःनिर्माणका लागि सहयोगको प्रस्ताव गरिसकेको छ । मन्त्रालय जाइकाको प्रतिवेदन र जवाफको पर्खाइमा रहेको बताइन्छ । शर्माका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपद् व्यवस्थापन कोषमा रहेको बजेट माग गर्नेसमेत तयारी भइरहेको छ ।

यस्तै दातृ निकायहरू एसियाली विकास बैंक (एडीबी) र विश्व बैंकको सहुलियतपूर्ण ऋण लिएर भए पनि राजमार्गको पुनःनिर्माणको तयारीमा मन्त्रालय रहेको जनाइयो । पुनःनिर्माणका लागि स्रोत सुनिश्चित लम्बिए आउने वर्षको वर्षामा यातायात सञ्चालनमा निकै कठिनाइ ब्यहोर्नुपर्ने योगेशले बताए । उनले भने, “हाल स्रोत सुनिश्चितता भएको भए काम सुरू गथ्र्यौँ, अब ढिला भयो भने वर्षाभरि यातायात सञ्चालन नहुन सक्छ ।” उहाँका अनुसार पूर्णरूपमा सडक पुनःनिर्माण गर्न कम्तीमा पनि दुई वर्ष लाग्ने अध्ययनले देखाएको छ ।

राजमार्गको भत्किएको खण्ड पुनःनिर्माणका विषयमा जापान सरकारले सहयोग गर्ने सङ्केत देखिएको छ । जापानको अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले पनि कात्तिक दोस्रो सातामा क्षतिग्रस्त सडकको अध्ययन गरिसकेको छ ।

यद्यपि, जाइकाले यस विषयमा कुनै हालसम्म प्रतिवेदन प्रस्तुत गरेको छैन । तर, जाइकाको प्रतिनिधिसँग मन्त्रालय तथा डिभिजन सडकका अधिकारीसँगको छलफलमा भने एक दुई स्थानमा जाइकाले क्षगिग्रस्त सडकको पुनःनिर्माण गर्ने सङ्केत दिएको योगेशले जानकारी दिए । उनले भने, “नेपालस्थित जाइकाको अधिकारीसँग औपचारिक रूपमा भएका छलफलमा क्षतिग्रस्त सबै सडक पुनःनिर्माण नभए पनि एक÷दुई स्थानमा पुनःनिर्माण गर्ने सङ्केत दिइएको छ ।”

जापानका सम्राटको ६५औँ शुभजन्मोत्सव तथा जापानको राष्ट्रिय दिवसका अवसरमा नेपालका लागि जापानका नवनियुक्त राजदूत माएदा तोरूले ताहाचलस्थित आफ्नो सरकारी निवासमा आयोजित समारोहमा नेपाल–जापान सम्बन्धका विविध पक्षबारे चर्चा गर्दै अघिल्लो वर्षायाममा आएको बाढीपहिराले क्षतिग्रस्त बिपी राजमार्ग मर्मतका लागि जापानले पहल गर्ने बताएका थिए ।

बिपी रानमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास)अन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको वर्खेखोलासम्मको सडकखण्डको अधिकांश सडक क्षतिग्रस्त अवस्थामा छ । बाढीपहिरोले अवरूद्ध राजमार्ग दुई हप्तापछि सञ्चालनमा ल्याइएको उक्त राजमार्ग केन्द्रीय राजधानी काठमाडौँलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रूपमा रहेको उक्त राजमार्ग कतै एकतर्फी तथा कतै दुईतर्फी हुने गरी सञ्चालनमा ल्याइएको हो ।

जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३र५४ बाट बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास एक सय ६० किमी सडक) निर्माण कार्य सुरू गरिएको थियो । खण्डखण्ड विभाजन गरी विसं २०७२ असार १८ गते निर्माण सम्पन्न गरी औपचारिक रूपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

तत्कालीन अवस्थामा २६ बिलियन जापानी येन र नेपाल सरकारको १ दशमलव १ बिलियन (जापानी येन) लागतमा उक्त राजमार्ग निर्माण भएको थियो । जाइकाद्वारा निर्मित उक्त राजमार्ग सडक निर्माण गर्दा प्रति किमी रू ३५ करोड लागत थियो । उक्त रकम हालको हिसाबमा प्रति किमी रू ५० करोडभन्दा माथि पर्नेछ ।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  ४ : ०७ बजे

दलीय गठबन्धनलाई पराजित गर्दै खजुरा खानेपानीमा स्वतन्त्र उम्मेदवार विजयी

खजुरा । बाँकेको खजुरा गाँउपालिका ३ खजुरा बजारमा सञ्चालनमा रहेको

आज ५७२ सवारी चालकलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीको विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’का क्रममा आज

विपद्जन्य घटना : १२ दिनमै २३ जनाको मृत्यु, ७३ जना घाइते

काठमाडौँ । विभिन्न विपद्जन्य घटनामा परेर यो महिनाको १२ दिनमै

विभिन्न जिल्लामा भारी वर्षा, अझै बदली हुने

काठमाडौँ । मौसम बदलीसँगै आज देशका विभिन्न जिल्लामा भारी वर्षा

बुटवलमा सरकारी जग्गामा बनेका संरचना हटाइने, उपमहानगरको सूचनापछि डोजर चल्ने सम्भावना

बुटवल । बुटवल उपमहानगरपालिकाले सरकारी स्वामित्वको जग्गामा निर्माण गरिएका घरटहरा