नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकामा आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । नेपाल पत्रकार महासंघ बाँकेको आयोजना तथा राप्तीसोनारी गाउँपालिकाको आर्थिक सहयोगमा बुधवारदेखि तीन दिने तालिम सुरु भएको महासंघका सचिव कृष्ण ओलीले जानकारी दिए ।
तालिमको शुभारम्भ गर्दै राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले मुलुक परिवर्तनमा नेपाली पत्रकारिताहरुको योगदान महत्वपूर्ण रहेको बताए । यो तालिमले स्थानीय सरकारको सुशासन र जवाफदेहिता उजागरमा भूमिका खेल्ने विश्वास उनले व्यक्त गरे । उनले चौतर्फी नकारात्मक प्रवृत्ति बढिरहेका बेला पत्रकारिताका माध्यमबाट सकारात्मक सन्देश प्रवाहका भूमिका खेल्न पनि आग्रह गरे ।
पछिल्लो समय नकारात्मक प्रवृत्तिको पीडा जनप्रतिनिधिले खेप्दै आएको पनि उनले गुनासो सुनाए । उनले तथ्यपरक आलोचना गर्न सुझाव दिए । तर पूर्वाग्रही भएर आलोचना गर्नु पत्रकारिताको आचारसंहिताभित्र नपर्ने उनले बताए । उनले आगामी आर्थिक वर्षका लागि सञ्चार नीतिका लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता पनि जनाए ।
यस्तै राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष मनिषा सिंह थारुले पालिकाले गर्दै आएका सकारात्मक कामहरुलाई पनि मिडियामार्फत प्रचार गरिदिन आग्रह गरिन् । उनले नकारात्मक कुरामात्र नभएर सकारात्मक कुराहरु पनि मिडियाहरुले उठाउनुपर्ने सुझाव दिइन् ।
यस्तै नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले स्थानीय तहमा पत्रकारहरुको उत्पादनमा जोड दिएर आधारभूत पत्रकारिता तालिम प्रदान गर्न लागिएको बताए । उनले तालिममा सहभागिहरुलाई नागरिक पत्रकारिताको माध्यमबाट पत्रकारिताको भूमिका निर्वाह गर्न सक्ने पनि बताए । उनले पत्रकारिताको सीप सिकेर मर्यादित पत्रकारिताको अपेक्षा समेत गरे । उनले स्थानीय सञ्चार नीति निर्माणका लागि भूमिका खेल्न पालिकासँग आग्रह गरे ।
पहिलो दिन पत्रकार शंकर खनाल र अर्जुन ओलीले प्रशिक्षण दिएका छन् ।


















प्रतिक्रिया