२९ मंसिर २०८२, सोमबार | December 16, 2025

कक्षा १२ को परीक्षा दिएर बसेकालाई कोदोको परिकार उत्पादन र प्याकेजिङ तालिम



खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले कक्षा-१२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई कोदोको बिस्कुट उत्पादन, ‘ब्राण्डिङ’ र ‘प्याकेजिङ’सम्बन्धी तालिम दिएको छ ।

नगरपालिकाको रैथाने बाली कोदोखेतीलाई प्रवर्द्धन गर्दै स्थानीय युवा पुस्तालाई आफ्नै ठाउँमा स्वरोजगार बनाउने उद्देश्यले कक्षा-१२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई सहभागी गराएर नगरपालिकाले तालिम दिएको हो ।

‘कोदोको परिकार, स्वास्थ्यको सुरक्षा र आम्दानीको आधार’ भन्ने नारासहित वडा नं ७ महादेवस्थानस्थित वडा कार्यालयमा आयोजना गरिएको सात दिने तालिम शुक्रबार औपचारिकरुपमा समापन गरिएको छ । एकजना स्थानीय महिला उद्यमी तथा १२ जना विद्यार्थीको सहभागिता रहेको तालिममा सहभागी प्रशिक्षार्थीले उत्पादन गरेका कोदोको बिस्कुट, कुकिज, निम्की, पाउरोटी, मफिन र दुनोट प्याकेजिङ गरेर समापन कार्यक्रममा प्रदर्शन गरिएको थियो ।

तालिममा सहभागीले बनाएका कोदोका परिकार त्रिधार्मिकस्थल हलेसी बजारमा सञ्चालन गरिएको कोसेली घरमा राखेर बिक्री गर्ने र हलेसी आउने पाहुनालाई उपहारस्वरुप प्रदान गर्ने योजनाका साथ तालिमको आयोजना गरिएको हलेसी तुवाचुङ नगरपालिकाका-७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिएका छन । “त्रिधार्मिकस्थल हलेसी आउने भक्तजन तथा दर्शनार्थीले कोसेलीको रुपमा लैजानका लागि यहाँको उत्पादन खोज्ने गरेका छन् । कोदोको परिकारलाई यहाँको प्रमुख उत्पादनका रुपमा ब्राण्डिङ गर्नेगरी तालिमको आयोजना गरिएको हो”, उनले भने, “तालिममा सहभागीले व्यावसायिक रुपमा उत्पादन गरेका कोदोका परिकार नगरपालिकाको तर्फबाट खरिद गरिदिन्छौँ । खरिद गरिएको परिकार कोसेली घरमा राखेर उपहारस्वरुप पाहुनाहरूलाई वितरण गर्ने योजना बनाएका छौँ ।”

नगरपालिकाको कृषि शाखाद्वारा सञ्चालित तालिमको सहजीकरण काठमाडौंबाट झिकाइएको खाद्य प्राविधिक आर्जन गौतमले गरेका थिए । दक्ष प्राविधिको सहजीकरणमा कोदोको परिकार बनाउने तालिम निःशुल्क लिन पाएपछि सहभागीहरू व्यावसायिक बन्न उत्साहित बनेको नगरपालिकाले जनाएको छ ।

रैथाने बाली ‘कोदो’को बजार सम्भावनालाई आत्मसात् गर्दै स्थानीय युवाका लागि सीपमूलक उद्यमशीलता प्रति आकर्षित गर्नका लागि तालिमको आयोजना गरिएको नगरप्रमुख विमला राईले बताए । “तालिममा सहभागीले पौष्टिकता, परम्परा र उद्यमशीलताको पाठ एकैसाथ सिक्न पाएका छन् । उनीहरूलाई तालिमले केवल सीपमात्र होइन, आत्मविश्वास र प्रेरणा पनि थपिदिएको छ”, उनले भने, “कोदोको पोषण, स्वाद र प्रयोगशैलीको विविधता उजागर गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको थियो । तालिमले रैथाने बाली कोदोको उत्पादन तथा मूल्य वृद्धि र स्थानीय उद्यमशीलतालाई थप टेवा पुर्याउने अपेक्षा गरिएको छ ।”

तालिममा सहभागीलाई कोदोको परम्परागत प्रयोगलाई आधुनिक परिकारमा रूपान्तरण गर्दै गुणस्तरीय परिकार उत्पादन, ब्राण्डिङ, प्याकेजिङ तथा बजारीकरणका पक्षमा पनि व्यवहारिक जानकारी र अभ्यास गराइएको नगरपालिकाले जनाएको छ ।

जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने यो नगरपालिकाले कोदोमा पाइने प्रोटिन, क्याल्सियम, आइरन तथा एन्टि-अक्सिडेन्टजस्ता पोषकतत्वहरूलाई ध्यानमा राखेर कोदो बालीलाई पोषण सुरक्षा र स्थानीय रोजगारीसँग जोड्ने प्रयास गरेको हो ।

तालिम समापन अवसरमा प्रशिक्षार्थीले उत्पादन गरेका सबै परिकारहरू कार्यक्रममा उपस्थित अतिथि तथा सहभागीहरूले अवलोकन गर्नुका साथै स्वाद परीक्षण गरेका छन् । तालिममा सहभागी विद्यार्थीले उत्पादन गरेका कोदोको विभिन्न प्रकारका परिकार गुणस्तरीय र स्वादिष्ट रहेको समापन कार्यक्रमका सहभागीले बताएका छन् ।

सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकामा रैथाने बाली कोदो उत्पादन बढी हुने भएकाले पनि त्यसलाई प्रवर्द्धन गर्दै कोदोको विभिन्न प्रकारका परिकार उत्पादन गरेर बजारीकरण गर्न तालिमको आयोजना गरिएको जनाइएको छ ।

तालिमले विशेषगरी युवालाई सीपमार्फत सशक्त बनाउने, महिलालाई आम्दानीको अवसर दिने र रैथाने कृषि बाली उत्पादनको संरक्षण तथा सम्वर्द्धनमा उल्लेखनीय योगदान पुर्याउने अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८२, शनिबार  ८ : २५ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको