१६ माघ २०८२, शुक्रबार | January 30, 2026

बुटवल-नारायणगढ सडक : विनयी खोलामा डाइभर्सन निर्माण नगरिने, मालवाहक सवारी सञ्चालनमा रोक



नवलपरासी । बुटवल-नारायणगढ सडक खण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी खोलामा डाइभर्सन निर्माण नगरिने भएको छ । गत पुस २६ गते दुम्कीवास पुल भाँचिएपछि डाइभर्सनमार्फत यातायात सञ्चालन गरिँदै आएकोमा खोलामा आउने बाढीले बगाउन थालेपछि अब डाइभर्सन निर्माण नगरिने भएको हो ।

गत बिहीबार राति विनयी खोलामा डाइभर्सनबाट जाँदै गरेको बस नै खोलाले बगाए पछि पुनःडाइभर्सन निर्माण नगरिने निर्णय गरिएको नवलपरासी ९बर्दघाट सुस्तापूर्व०का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले बताए । जेठको अन्तिम हप्तादेखि लगातार वर्षा भई रहेकाले पटक-पटक डाइभर्सन बगाउने समस्या बढे पछि सो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।

“जिल्लास्थित सरोकारवालाको बैठकबाट खोलाको डाइभर्सनमा थप जोखिम बढेकाले अब नयाँ बन्दै गरेको पुल नै छिटो सञ्चालन गर्ने गरी पर्खने निर्णय गरिएको छ”, उनले भने, “दुम्कीवास पुल असार १६ गतेदेखि सञ्चालन गर्न सकिने निर्माण पक्षले जानकारी गराएको छ त्यसैले त्यो समयसम्म वैकल्पिक सडक नै प्रयोग गर्नुपर्ने हुन्छ ।”

यस सडकखण्डअन्तर्गत दुम्कीवास पुलको विकल्पको रूपमा हलुका सवारीलाई होङ्सी सिमेन्ट गेट हुँदै सर्दीबाट दुम्कीवास बजार निस्कने सडक प्रयोग गरिएको छ । तर मालवाहक सवारीसाधन पूर्ण रूपमा रोकिएको छ । वर्षा सुरू भएसँगै दाउन्ने क्षेत्रमा सडक चिप्लो र हिलो हुँदा सवारी गुड्न नसकेकाले त्यो क्षेत्रमा पनि अवरोध कायम रहेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।

“दाउन्ने खण्डमा वर्षाका कारण भने अहिलेको अवस्थामा सवारी चलाउन सकिँदैन, त्यसलाई मर्मत गर्नुपर्छ, मर्मत कार्य यथाशीघ्र अगाडि बढाउनुपर्छ, अन्यथा अहिलेको अवस्थामा ठूला सवारीसाधन यो बाटो चलाउन सकिँदैन”, उनले भने, “रातिको समयमा ठूला साना कुनै पनि सवारीसाधन चलाउन सकिँदैन भन्ने निष्कर्षमा हामी पुगेका छौँ । यो दाउन्ने सडक मर्मत हुनुपर्यो, पुल सञ्चालन भएपछि मात्रै पूर्ववत् रूपमा सवारी चलाउन सकिन्छ भन्ने हाम्रो निष्कर्ष हो । यही निर्णय हामीले माथिल्लो निकायमा पठाएका छौँ ।”

यस सडकखण्डमा विगत पाँच दिनदेखि मालवाहक सवारीसाधनबीच बाटोमा रोकिएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेका सवारी विनयी खोलाका कारण रोकिएका छन् भने पश्चिमबाट पूर्वतर्फ हिँडेका सवारी दाउन्ने पहाडमा रोकिएका छन् । अहिलेको अवस्थामा मालवाहक सवारी चलाउन सकिने अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी पाण्डेले स्पष्ट पारे ।

“मालवाहक सवारीसाधन अहिलेकै अवस्थामा कटाउन सक्ने अवस्था छैन, उहाँहरूलाई फर्किएर वैकल्पिक बाटो प्रयोग गर्नुस् भन्ने हो, सकियो भने यो पुल खोलेपछि मात्र चलाउन सक्ने अवस्था छ, अहिलेकै अवस्थामा यहाँबाट पास गराउने अवस्था छैन”, उनले भने, “छिटो मर्मत गर्न सकियो भने हप्ता दिन पछि सम्भव होला, तर पनि खोलामा पानी घट्ने अवस्था छैन । ट्रकका चालकलाई के अनुरोध गर्दछौँ भने अहिले फर्कनुस् बाटो पूणरूपमा मर्मत भए पछि मात्र प्रयोग गर्नुस् ।”

देशकै प्रमुख राजमार्गको रूपमा रहेको पूर्व–पश्चिम राजमार्ग क्षेत्र नै अहिले अस्तव्यस्त बन्दा धेरै समस्या सिर्जना भएका छन् । निर्माणको लागि भत्काइएको सडक वर्षा परेपछि हिलाम्य हुने स्वाभाविक भए पनि ठेकेदारको लापार्वाहीले समस्या चर्किएको विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताए । विसं २०७५ देखि विस्तारको नाममा भत्काइएको नारायणगढ–बुटवल सडक खण्डको दाउन्ने दुम्कीवासमा अहिले धेरै चुनौती बढ्दै गएको छ ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  ८ : २६ बजे

मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस पल्टिँदा ३८ जना घाइते

काठमाडौं । चितवनको मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस दुर्घटना हुँदा ३८

काठमाडौं-तराई/मधेस द्रूतमार्ग निर्माणको प्रगति ४५ प्रतिशत

मकवानपुर । देशको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकताप्राप्त काठमाडौं-तराई/मधेस द्रूतमार्ग

हिमपातपछि कोरला नाकाबाट निकासी तथा पैठारी प्रभावित

मुस्ताङ । मङ्गलबारको भारी हिमपातपछि माथिल्लो मुस्ताङस्थित नेपाल-चीन उत्तरी कोरलानाकाबाट

अन्यत्र निख्रिएपछि सुन्तला टिप्न थालेका बाँसखर्कका किसानले दोब्बर मूल्य पारे

म्याग्दी । अन्यत्रको निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका-१

सम्भावित डुबान र कटान जोखिम कम गर्न बक्स कल्भर्ट निर्माण गर्दै काठमाडौं महानगरपालिका

काठमाडौं । काठमाडौं महानगरपालिकाले बर्खाको समयमा हुने सम्भावित डुबान र