काठमाडौं । सरकारले भिजिट भिसा प्रकरण गर्न बनाएको उच्चस्तरीय अध्ययन एवं छानबिन समितिलाई रास्वपा र राप्रपाले अस्वीकार गरेका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री रमेश लेखकले पूर्वमुख्यसचिव शंकरदास बैरागी नेतृत्वमा छानबिन समिति गठन भएको र कार्यादेशबारे जानकारी गराएका थिए ।
तर रास्वापका सांसद स्वर्णिम वाग्लेले सरकारले बनाएको सो समिति अस्वीकार गर्ने बताए । उनले गृहमन्त्री रमेश लेखकमाथि नै छानबिन हुनुपर्नेमा उनकै प्रस्तावमा बनेको समितिबाट कुनै छानबिन हुन नसक्ने तर्क गरे । छानबिन समितिका संयोजक तोकिएका शंकरदास बैरागी हालको नेतृत्वबाट लामोसमयदेखि रुचाइएका पात्र भएको जिकिर गर्दै वाग्लेले उनीबाट सरकारको इच्छाअनुसार रिपोर्ट आउनेगरी समिति बनाइएको तर्क गरे । उनले संसदीय समिति वा जाँचबुझ आयोग ऐन अन्तर्गत बहालवाला वा पूर्वन्यायाधीशको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गरे ।
यस्तै राप्रपाका सांसद ज्ञानबहादुर शाहीले अहिले बनाइएको समिति दुधको साक्षी बिरालो भएको आरोप लगाए ।
यसअघि गृहमन्त्री रमेश लेखकले ‘अध्यागमन र भिजिट भिसा सम्बन्धमा विगतदेखि देखिएका समाधान गर्न गठित उच्चस्तरीय अध्ययन एवं छानबिन समिति २०८२ बारे जानकारी गराएका थिए । उनले समितिलाई तीन महिनाभित्र प्रतिवेदन पेस गर्न कार्यदेश दिएको बताए ।


















प्रतिक्रिया