१ चैत्र २०८२, आइतबार | March 16, 2026

‘दक्षिण एसियाका अधिकांश मुलुक कुनै न कुनै नामका आतङ्कवादबाट प्रताडित’



काठमाडौँ । तत्कालीन ब्रिटिस सरकारको उपनिवेशबाट मुक्त भएपछि दक्षिण एसियाका अधिकांश मुलुक कुनै न कुनै नामका आतङ्कवादबाट बेला बेला प्रताडित हुँदै आएका छन् ।

दक्षिण एसियाका अफगानिस्तान, पाकिस्तान, भारत, बङ्गलादेश, श्रीलङ्का, नेपाल, भुटान र माल्दिभ्समध्ये अधिकांश मुलुकमा आन्तरिक र सीमापार आतङ्कवादी गतिविधि देखिने गरेका छन् ।

‘दक्षिण एसियाली आतङ्कवादः परियोजना प्रतिवेदन’का अनुसार यस क्षेत्रमा रहेका कूल २१३ आतङ्कवादी समूह मध्ये १२४ समूह सक्रिय छन् । उपनिवेशवादबाट मुक्त भएपछि यस क्षेत्रका अधिकांश मुलुकमा सन् १९७० देखि २०२० सम्मको अवधिमा विभिन्न खालका एक लाख ९० हजार घटना भएका प्रतिवेदनमा उल्लेख छ ।

त्यसमध्ये सबैभन्दा बढी अफगानिस्तानमा ३९ प्रतिशत, भारतमा २५, पाकिस्तानमा २४ र श्रीलङ्कामा पाँच प्रतिशत घटना भएका अन्तरराष्ट्रिय द्वन्द्व विशेषज्ञ डा इन्दिरा अधिकारीले बताइन् । “राज्य संवदेनशील नभएका बेला, राज्यप्रति असन्तुष्टि बढेको समयमा र दमन भएका अवस्थामा आतङ्कवादका घट्ना बढेका देखिन्छन,” उनले भनिन्, “नियन्त्रणका लागि मुख्य कारण खोजी गरी जनता केन्द्रित सुरक्षा रणनीति आवश्यक हुन्छ । आतङ्कवाद नियन्त्रणका लागि आन्तरिक एकता र क्षेत्रीय सहकार्यसमेत आवश्यक छ ।”

यस क्षेत्रमा अलगाववादी विद्रोह, धार्मिक उग्रवाद, अतिवादलगायत विभिन्न प्रकारका आतङ्कवादी क्रियाकलाप हुने गरेका देखिन्छन् । भारतमा सन् २००४ भएको मुम्बई आक्रमण, काश्मीर विद्रोह र मध्य भारतको नक्सल हिंसा, अफगानिस्तानमा सन् २०२१ मा भएको काबुल विमानस्थल बम विस्फोट, श्रीलङ्कामा एलटिटीइका आत्मघाती बम आक्रमण र सन् २०११ इस्टर आइतबारको आक्रमण, बङ्गलादेशमा जमात–उल–मुजाहिदीन बङ्गलादेश (जेएमबी) जस्ता समूहका आक्रमण, सन् २०१६ ढाकामा भएको क्याफे आक्रमण यस क्षेत्रका आतङ्कवादी हमलाका केही उदाहरण हुन् ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दक्षिण एसियामा आतङ्कवाद सामाजिक, आर्थिक र भू–राजनीतिक कारणहरूसँग गाँसिएको बहुआयामिक समस्या भएको बताए । नेपाल भारत विकास मञ्चले आइतबार आयोजना गरेको कार्यक्रममा ‘दक्षिण एसियामा आतङ्कवाद र दीर्घकालीन समाधान’ सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै उनले यसबाट मानव जीवन, आर्थिक प्रगति, सामाजिक सद्भाव र क्षेत्रीय स्थिरतामा ठूलो प्रभाव पारेको उल्लेख गरे ।

वरिष्ठ अधिवक्ता त्रिपाठीले भने, “सीमापार आतङ्कवाद समाधानका लागि क्षेत्रीय सहयोग, सीमा सुरक्षा, लक्षित आतङ्कवाद विरोधी उपाय र सामाजिक–आर्थिकजस्ता मूल कारण सम्बोधन गरिनुपर्छ ।” यस्तै, सैन्य प्रतिक्रिया, कूटनीति, आर्थिक विकास र पुनःसामाजिकीकरणको सन्तुलित दृष्टिकोण, प्रविधि प्रयोग, गैर–राज्यीय समूह निष्क्रिय पार्न पुनःसंवाद, राजनीतिक स्थिरता, गरिबी निवारण र शिक्षा प्रवर्द्धनमा जोड दिनुपर्ने उनको सुझाव छ ।

आतङ्कवाद नियन्त्रण गर्न समृद्धि र रोजगारी आवश्यक

आतङ्कवाद निर्मुल गर्न यस क्षेत्रमा क्षेत्रीय संयन्त्र गठन गरी विभिन्न प्रयाससमेत भइरहेका छन् । तथापि, बेला बेला समस्या उत्पन्न भइरहेकाले त्यसका मूल कारक पहिचान गरी सम्बोधन गरिनुपर्ने जानकारहरूको भनाइ छ । पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्यले विविध कारणले दक्षिण एसिया आतङ्कवादी समूहको केन्द्र बन्न पुगेको उल्लेख गरे । यसमा आन्तरिकदेखि सीमापार समस्यासँग जोडिएका विविध पक्ष कारक रहेको भन्दै उनले सैनिक बलले मात्र आतङ्कवाद दीर्घकालीन रुपमा निर्मूल नहुने धारणा राखे । “यसका लागि आर्थिक सामाजिक, राजनीतिक समाधानका उपायको खोजी गर्नुपर्छ । आतङ्कवादका विभिन्न कारणले यस क्षेत्रको क्षेत्रीय सङ्गठन सार्क नै ओझेलमा परेको अवस्था छ”, पूर्वसचिव आचार्यले भने ।

पूर्वउपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री उपेन्द्र यादवले चरम गरिबी र बेरोजगारीले आतङ्कवादलाई प्रश्रय पुगिरहेको बताए । शक्ति र सत्ताका साथै स्रोतसाधनको समान वितरण भएमा समाजमा शान्ति र अमनचयन कायम हुने उनको बुझाइ छ । उनले भने, “आतङ्कवाद निर्मूल गर्न मुख्य कारक खोजी गर्ने र सङ्गठित सञ्जाल रोक्नुपर्ने आवश्यकता छ । यस क्षेत्रमा आतङ्कवाद नियन्त्रण गर्न भारतजस्तो ठूलो मूलुकले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ र यसमा अरु मुलुकको सहकार्य तथा समन्वय आवश्यक छ ।”

पूर्वरक्षामन्त्री डा मीनेन्द्र रिजालले नेपाल र भारतबीच जनस्तरमा सदियौँदेखि सम्बन्ध रहिआएको उल्लेख गर्दै खुला सिमानाका कारण उत्पन्न हुने समस्या समाधानमा दुवै देश गम्भीर बन्नुपर्ने बताए । नेपालको आफ्नो भूमि कुनै पनि हालतमा भारतविरुद्ध प्रयोग हुन नदिनेतर्फ सरकार र सबै दल स्पष्ट रहेको बताए ।

पूर्वगृहमन्त्री शक्ति बस्नेतले यस क्षेत्रमा गरिबी, अशिक्षा, असमानतालगायत कारणले आतङ्कवादलाई प्रोत्साहन गरिरहेको बताए । नागरिकको जीवन सरल र सहज बनाई आत्मसम्मान तथा पहिचान दिन सके आतङ्कवाद निर्मूल गर्न सकिने उनको धारणा छ । राज्यले आफ्ना जनतालाई आश्वस्त बनाउन शिक्षा, स्वास्थ्य, समावेशीता, विविधताको उचित व्यवस्थापनलगायत पक्षमा ध्यान दिनुपर्नेमा बस्नेतको जोड छ ।

पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोले जुनसुकै नाममा हुने आतङ्कवाद विश्वमै अस्वीकार्य भएको र यसलाई कसैले पनि समर्थन गर्न नहुने बताए । उनले आफ्नो भूमि कुनै पनि मित्र राष्ट्रको खिलापमा प्रयोग हुन नदिन सरकार सधैँ चनाखो हुनुपर्ने बताए ।

मञ्चका अध्यक्ष रामकिशोर सिंहले दक्षिण एसियामा विकास र समृद्धिका लागि आतङ्कवाद नै सबैभन्दा बढी चुनौतीका रूपमा देखिएको बताए । उनले सबै मुलुक मिलेर दीर्घकालीन समाधानका लागि लाग्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ९ : १० बजे

पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थमा भारी मूल्य

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्यापन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन