बर्दिया । बर्दियामा बाघको आक्रमणबाट शरीर टाउको अलग भएको अवस्थामा एक महिलाको शव फेला परेको छ । जिल्लाको गुलरिया नगरपालिका-१२ भैसाहीको पश्चिमतर्फ पर्ने नर्सरी नजिकै भैसाहीकी करिब ४५ वर्षीया जगतरानी थारुको शव फेला परेको हो ।
आफ्नै खेतमा काम गर्ने क्रममा बाघले आक्रमण गर्दा भैसाहीकी करिब जगतरानीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।
प्रहरीका अनुसार बाघको आक्रमणमा जगतरानीको शरीर र टाउको अलग भएको अवस्थामा आज बिहान सवा ११ बजेतिर शव फेला परेको हो ।
स्थानीयले जगतरानीको शव देखेपछि वन कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई खबर गरेका थिए । जगतरानीलाई ममफली गोड्न खेतमा गएका बेला बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ । शुक्रबार साँझ नै जगरानीलाई बाघले आक्रमण गरेको प्रहरीले अनुमान गरेको छ । उनी शुक्रबार बेलुका नै खेतमा गएको बताइएको छ । एउटै गाउँमा घर र माइती भएका कारण घरकाले माइती गएको र माइतकाले घरमै रहेको थानेर अबेरसम्म घर नआउँदा पनि खोजी कार्य नगरेको प्रहरीको भनाई छ ।
उनका श्रीमान् र जेठा छोरा वैदेशिक रोजगारको सिलसिलामा विदेशमा छन् भने कान्छा छोरा र बुहारी घरमै छन् ।जगतरानीको शवलाई पोस्टमार्टमका बर्दिया जिल्ला अस्पतालमा राखिएको बर्दिया प्रहरीले जानकारी दिएको छ ।


















प्रतिक्रिया