२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

संविधान घोषणाको दशक विशेष रूपमा मनाइने, प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन



काठमाडौँ । नेपालको संविधान घोषणा भएको एक दशक पुगेको अवसरमा यस वर्ष भव्यताका साथ उत्सव मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ मूल समारोह समिति गठन भएको छ ।

नेपाली जनताको बलिदानीपूर्ण र लामो सङ्घर्षको उपलब्धिस्वरुप जनताबाट निर्वाचित संविधानसभाबाट २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थासहितको संविधान जारी भएको दिनलाई राष्ट्रिय दिवस मानिन्छ । यस वर्ष संविधान जारी भएको १० वर्ष पुगेकाले दिवसलाई थप हर्षोल्लासपूर्ण र भव्य बनाउन नेपाल सरकारले तयारी गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बसेको बैठकले आगामी असोज २, ३ र ४ गते नेपालभित्र र विदेशस्थित नेपाली दूतावास तथा नियोग र जनस्तरमा समेत दीपावलीलगायत विभिन्न कार्यक्रम गरी दिवस मनाउन मूल समारोह समिति गठन गरिएको हो । मूल समारोह समितिमा उपप्रधानमन्त्रीहरू, मन्त्री र राज्यमन्त्रीहरू, नेपाल सरकारका मुख्यसचिव, नेपाली सेनाका प्रधानसेनापति, नेपाल सरकारका सचिव तथा विशिष्ट श्रेणीका राजपत्राङ्कित अधिकृतहरू, काठमाडौँ उपत्यकाका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरू, सुरक्षा निकायका प्रमुखहरू सदस्य र गृह मन्त्रालयका सचिव सदस्यसचिव रहनेछन् । बैठकले विषयगत उपसमिति पनि गठन गरेको छ ।

दिवसका अवसरमा असोज ३ गते काठमाडौँको सैनिक मञ्च, टुँडिखेलमा आमनागरिकको उपस्थितिमा मूल समारोह हुनेछभने प्रदेश र स्थानीय तहमा विभिन्न कार्यक्रम प्रस्ताव गरिएका छन् । यसैगरी, दिवसका अवसरमा राष्ट्रिय गान र राष्ट्रभक्तिको साङ्गीतिक महोत्वस (नेसनल डे कन्सर्ट) आयोजना, झाँकी प्रदर्शनीलगायत कार्यक्रम प्रस्ताव गरिएको छ । दिवसका अवसरमा वर्तमान संविधान निर्माणको ऐतिहासिक पृष्ठभूमि, संविधानको महत्त्व, संविधानमा अन्तरनिहित पक्षमा केन्द्रित विशेष संवाद, परिसंवाद तथा सन्देशमूलक नाटकजस्ता सृजनात्मक र रचनात्मक कार्यक्रम निर्माण तथा सञ्चालन गरी रेडियो नेपाल, नेपाल टेलिभिजन, सामुदायिक वा निजी क्षेत्रसमेतका विद्युतीय तथा छापा माध्यम एवं सामाजिक सञ्जालमा प्रसारण र प्रकाशनको व्यवस्था मिलाउने प्रस्ताव गरिएको छ ।

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान घोषणाको १० वर्ष पुगेको अवसरलाई राष्ट्रिय र जनस्तरमा विशेष रूपमा मनाउन आग्रह गरे । उनले संविधानसँग विकास, राष्ट्रियता, आधुनिकता, मौलिक हक, महिला सशक्तीकरण, समावेशिताका चरित्र, लोककल्णयकारी राज्य, संस्कृति आदि पक्षसँग जोड्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले वडा र विद्यालय तहसम्म कार्यक्रम आयोजना गर्ने र अधिक रूपमा जनतालाई संविधानको उपलब्धि र महत्त्वसँग एकाकार गराउन आग्रह गरे ।

प्रकाशित मिति : ८ भदौ २०८२, आइतबार  ७ : ०१ बजे

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ब्यागेज व्यवस्थापनको ‘लाइभ फिड’ सेवा सुरु

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुको ब्यागेज व्यवस्थापनलाई थप पारदर्शी

लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृत

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘उच्च पहाडी तथा

सुनको मूल्य पाँचहजार ९००ले घट्यो, चाँदीको के छ ?

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु पाँच

जनतालाई जोगाउनु सरकारको पहिलो प्राथमिकता हुनुपर्छ : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नारायणी

बुटवलमा आजदेखि तीनदिने दीपावली सडक खाना महोत्सव

बुटवल । नेपालीको दोस्रो ठूलो पर्व तिहारको अवसरमा बुटवलमा आजदेखि