काठमाडौं । नेपाली कांग्रेसका रामहरि खतिवडा संसदीय सुनुवाइ समितिको सभापतिमा निर्विरोध निर्वाचित भएका छन्।
सङ्घीय संसद् सचिवालयले बिहीबार दिउँसो २ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेकोमा खतिवडाको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् ।
सङ्घीय निजामती सेवा विधेयक, २०८० मा रहेको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी प्रावधानमा संसदीय विशेष समितिले देखाएको नैतिक जिम्मेवारीका कारण खतिवडाले साउन २८ गते राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको पदबाट राजीनामा दिएका थिए । तर, राजीनामा दिएर एक महिना नबित्दै उनले अर्को समितिको नेतृत्व पाएका हुन्।
सभामुख देवराज घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार सुनुवाइ समितिमा खतिवडाको मात्रै उम्मेदवारी परेको हो। निर्वाचन प्रक्रिया पूरा गर्न सचिवालयले तयार पारेको कार्यतालिका अनुसार शुक्रबार सवा ५ बजे बस्ने समिति बैठकमार्फत उनको सभापतिमा निर्वाचित भएको आधिकारिक घोषणा गरिनेछ।
यसअघि रिक्त बनेको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा भदौ १० गते ईश्वरीदेवी न्यौपाने चयन भएकी थिइन्।


















प्रतिक्रिया