काठमाडौं । नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले पदबहाली गरेका छन् ।
साविकको गृहमन्त्रालय जेलेर नष्ट भएपछि पुरानो सामान्य प्रशासन मन्त्रालयमा स्थापना गरिएको मन्त्रालय पुगेर अर्यालले पदबहाली गरेका हुन् । उनले पदबहाली गरेलगत्तै जेनजी आन्दोलनमा शहीद भएका नागरिकहरूको सम्मानमा राष्ट्रिय शोक मनाउने निर्णय गरेका छन् । शोकको दिन मन्त्रिपरिषद्ले तोक्ने छ भने सो दिन राष्ट्रिय झण्डा आधा झुकाइनेछ ।
गृहमन्त्री अर्यालले मृतक परिवारलाई किरिया खर्चका रूपमा प्रतिपरिवार एक–एक लाख रुपैयाँ उपलब्ध गराउने घोषणा पनि गरेका छन् । साथै, उनले शव व्यवस्थापनका लागि निःशुल्क सवारीसाधन उपलब्ध गराइने र दुर्गम क्षेत्रमा हेलिकप्टरमार्फत व्यवस्था गरिने व्यवस्था गरिने जनाएका छन् ।
अर्यालले सोमबार शीतलनिवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए । प्रधानमन्त्री सुशीला कार्कीले आजै उनलाईसहित तीन जना नयाँ मन्त्री नियुक्त गरेकी थिइन् ।
अर्याल यसअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका सल्लाहकारका रूपमा कार्यरत थिए ।


















प्रतिक्रिया