काठमाडौं । हर्मित सिंहको विस्फोटक अर्धशतकको सहायतामा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा काठमाण्डू गोर्खाजविरुद्ध १४८ रनको लक्ष्य प्रस्तुत गरेको छ । शीर्ष तथा मध्यक्रम छिट्टै पतन भए पनि हर्मित र कप्तान दीपेन्द्रसिंह ऐरीको जिम्मेवारीपूर्ण साझेदारीपछि सुदूर प्रतिस्पर्धात्मक स्कोरमा पुग्न सफल भयो ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १४७ रन बनायो ।
सुदूरका हर्मितले २० बलमा दुई चौका र छ वटा छक्कासहित ५३ रनको आतङ्कपूर्ण इनिङ खेले । त्यस्तै, कप्तान ऐरीले ३० बलमा तीन चौका र एक छक्कासहित ३९ रन जोडे । ७२-६ को अवस्थामा रहेका यी दुईले सातौँ विकेटका लागि ६१ रनको महत्वूर्ण साझेदारी निर्माण गर्दै टोलीलाई सम्मानजनक योगफलसम्म पुर्याए ।
सुदूरपश्चिमले १६ औँदेखि १८ औँ ओभरको दोस्रो बलसम्म १४ बलमा नै ५३ रन जोड्दै इनिङलाई उकासेको थियो । तर १८ औँ ओभरको तेस्रो बलमा ऐरी आउट भएपछि रन गति पुनः सुस्त बन्यो ।
ओपनरद्वय विनोद भण्डारी र जस ब्रोन पहिलो ओभरमै ‘डक’ हुन पुगे । अस्ट्रेलियन पावर-हिटर क्रिस लिन मात्र दुई रनमा सीमित रहे । आसिफ शेखले २५, इसान पाण्डेले ११ तथा नरेन साउदले ६ रन बनाए । बाँकी ब्याटर दोहोरो अंकमा पुग्न सकेनन् ।
काठमाण्डूका कप्तान करण केसी बलिङमा चम्किए । उनले ४ ओभरमा ३० रन खर्चेर ४ विकेट लिए। यस्तै, मिलिन्द कुमार, सन्नी पटेल र राशिद खानले समान २-२ विकेट हात पारे ।
यो खेल काठमाण्डूको दोस्रो हो । काठमाण्डूले पहिलो खेलमै साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गरेको थियो। सुदूरपश्चिम भने यस सिजनको पहिलो खेल खेल्दै छ ।


















प्रतिक्रिया