काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्ने छन् । खेल दिउँसो ४ बजेबाट सुरु हुनेछ ।
पोखरा एभेन्जर्स नेपाली राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेलको कप्तानीमा मैदान उत्रने छ । उत्कृष्ट आक्रमक ब्याट्सम्यानका रूपमा चिनिने कुशलले अघिल्लो खेलमा प्रहार गरेको शक्तिशाली सिक्सले स्टार स्पोर्ट्सको कमेन्ट्री बक्सको सिसासमेत फुटेको घटना चर्चामा छ ।
उता, सुदूरपश्चिम रोयल्स राष्ट्रिय टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा खेल्नेछ । बल, ब्याट र फिल्डिङ तीनै विभागमा प्रभाव जमाउन सक्ने क्षमताका कारण दीपेन्द्रलाई रोक्न विपक्षी टोली चुनौतीपूर्ण मानिन्छ । यी दुई स्टार खेलाडीको कप्तानीमा रहेको टिमबीचको प्रतिस्पर्धालाई निकै रोचक रूपमा हेरिएको छ ।
लिगमा दुवै टोलीले एक-एक खेल खेलेका छन् । विराटनगर, सुदूरपश्चिम र लुम्बिनीले हाल समग्रमा दुई-दुई अंक जोडिसकेका छन् । त्यस्तै काठमाण्डू र चितवनले पनि दुई-दुई अंक बटुलेका छन् । जनकपुर, पोखरा र कर्णाली भने अहिलेसम्म अंकविहीन छन् । आजको खेल पोखराका लागि प्रतियोगितामा पुनरागमन गर्ने अवसर मानिएको छ भने अघिल्लो सिजनको उपविजेता सुदूरपश्चिम लगातार दोस्रो जितको खोजीमा छ ।


















प्रतिक्रिया