काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण अन्तर्गत आइतबार कुनै खेल छैन । भने सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दुई रोमाञ्चक खेल हुँदैछन् । पहिलो खेल सोमबार बिहान ११:४५ बजे सुरु हुनेछ, जहाँ जनकपुर बोल्ट्स र विराटनगर किंग्स भिड्नेछन् । दोस्रो खेल दिउँसो ४ बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच हुनेछ ।
एनपीएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरी आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । अहिलेसम्म दुई-दुई खेल खेलेका सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स चार-चार अंकसहित क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । तीन खेल खेलेको काठमाण्डु गुर्खाज दुई अंकसहित तेस्रो स्थानमा रहेको छ ।
लुम्बिनी, चितवन र कर्णालीले दुई-दुई अंक जोडिरहेका छन् भने जनकपुर र पोखरा अहिले पनि अंकविहीन छन् । जनकपुरले एक मात्र खेल खेलेको छ भने पोखरा लगातार दुई खेल हारिसकेको छ । दोस्रो सिजनको एनपीएल मङ्सिर १ गतेदेखि सुरु भएको हो र मङ्सिर २७ गतेसम्म जारी रहनेछ । हरेक दिन दिउँसो र राति गरी कीर्तिपुरमै खेलहरू आयोजना भइरहेका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले प्रत्येक खेलका लागि ९ हजार ४५० टिकट बिक्री गर्दै आएको छ ।
लिग चरण, तीन प्लेअफ खेल र फाइनल गरी प्रतियोगितामा जम्मा ३२ खेल हुनेछन् । शनिबारका खेलका लागि साधारण टिकट ५०० र प्रिमियम टिकट १५०० रुपैयाँ तोकिएको छ । अन्य दिन लिग चरणका खेलका लागि टिकट मूल्य ५०० र १००० रुपैयाँ रहेको छ ।
प्लेअफका खेलमा भने जनरल टिकट १००० र प्रिमियम टिकट २००० रुपैयाँ तोकिएको क्यानले जनाएको छ ।


















प्रतिक्रिया