काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको पहिलो क्वालिफायरमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।
मंसिर २३ गते कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा विराटनगरका कप्तान सन्दीप लामिछानेले बलिङ रोज्दै प्रतिद्वन्द्वी टोलीलाई ब्याटिङका लागि आमन्त्रण दिए ।
यसअघि लिग चरणमा आमनेसामने हुँदा विराटनगरले सुदूरपश्चिमको अपराजित यात्रामा रोक लगाएको थियो । सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य विराटनगरले ११.५ ओभरमै चार विकेट गुमाएर भेट्टाएको थियो, जसका कारण आजको महत्वपूर्ण खेलमा सुदूरपश्चिमलाई त्यस्तै आक्रमक प्रदर्शन दोहोरिन सक्ने भय छ ।
लिगमा सुदूरपश्चिम ७ खेलमध्ये ६ जितसहित १२ अंक बटुलेर अंकतालिकाको शीर्ष स्थानमा थियो । विराटनगर १० अंकसहित दोस्रो स्थानमा परेको थियो ।
कीर्तिपुरमा दिउँसो ४ बजेदेखि शुरु हुने पहिलो क्वालिफायरमा विजयी टोलीले सोझै फाइनल प्रवेश पक्का गर्नेछ । पराजित टोलीले भने बुधबार हुने इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्दै फाइनलको सम्भावना जोगाउनुपर्नेछ ।
इलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स भिड्ने तालिका छ ।


















प्रतिक्रिया