बुटवल । सहकारी ठगी र सङ्गठित अपराधको अभियोगमा थुनामै रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अध्यक्ष रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीको मुद्दा आज उच्च अदालत बुटवलमा पेसी तोकिएको छ ।
उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुवरका अनुसार दुवैको मुद्दा आजको पेसीमा छलफलका लागि प्रस्तुत हुनेछ । यसअघि लामिछाने पक्षका कानुन व्यवसायीले दुई पटक मितिमिति परिवर्तनको अनुरोध गरेपछि बहस स्थगित भएको थियो ।
बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा संलग्नता आरोपमा रवि लामिछाने र छविलाल जोशी दुवै पुर्पक्षका लागि थुनामा छन् । जिल्ला अदालत रुपन्देहीले लामिछानेले बिगो रकम दाखिला गरे पनि साउन २६ गते जमानत अनुमति नदिई थुनामै राख्ने निर्णय गरेको थियो ।
जिल्ला अदालतको सो आदेशविरुद्ध लामिछानेले भदौ ९ गते उच्च अदालत बुटवलमा पुनरावेदन दिएका थिए ।
सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेसहितका प्रतिवादीमाथि १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरी अभियोगपत्र दायर गरिएको छ ।
लामिछानेले सो रकमको चौथाइ भाग अर्थात् २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक जमानत प्रमाण पेस गरेका थिए । जोशीले पनि सोही अनुपातको जमानत दस्तुर अदालतमा पेश गरेका छन् ।
आजको सुनुवाइले दुवै प्रतिवादीको थुनछेकबारे महत्वपूर्ण निर्णय आउने अपेक्षा गरिएको छ ।


















प्रतिक्रिया