काठमाडौं । नेपाल क्रिकेट सङ्घ क्यानको आयोजनामा कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा यही मङ्सिर १ गतेदेखि दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) जारी छ ।
प्रतियोगिता नेपाली क्रिकेटको विकासका साथै नवप्रतिभाका लागि सुनौलो अवसरका रूपमा रहेको छ । लयमा क्रिकेट खेलेर पनि प्लेफर्म नपाएका खेलाडीका लागि एनपीएल सुनौलो अवसर बनेको हो । साथै आर्थिक हिसाबले पनि खेलाडीको अवस्था मजबुद बनाउन सहयोग मिलेको छ ।
कीर्तिपुर मैदानमा फ्लडलाइट र प्याराफिट पनि जडान गरिएको छ । घरेलु मैदानमै फ्लडलाइट पहिलोपटक प्रतियोगिता भएको हो । यसको अनुभव नेपाली खेलाडीले घरेलु मैदानमै गर्न पाए ।
एनपीएलमा धेरै नवप्रतिभाले पनि अवसर पाएका छन् । उनीहरुका लागि सुखद् पक्ष पनि हो । विदेशी खेलाडीबाट सिक्ने र अनुभव साटासाट गर्न समेत मिलेको छ । प्रत्येक टोलीको अन्तिम ११ मा चार जना खेलाडी खेल्ने गर्दछन् । जसले गर्दा मैदानमै उनीहरुबाट नेपाली खेलाडीले सिक्ने मौका मिलेको छ ।
फाइनल पुगेका सुदूरपश्चिम रोयल्सका युवा खेलाडी हिक्मत महरा एनपीएल खेल्न पाउँदा एकदमै खुसी देखिएका छन । ट्यालेन्ट हन्टबाट छानिएका हिक्मतले पहिलोपटक कीर्तिपुर मैदानमा क्रिकेट खेलेका हुन् । उनले भने, “पहिलोपटक एनपिएलमार्फत कीर्तिपुर मैदानमा खेल्न पाउँदा निकै खुसी छु । विदेशी खेलाडीबाट अनुभव पनि लिन पाइयो ।”
चितवन राइनोजविरुद्ध डेब्यू गरेका हिक्मतले उक्त खेलमा विदेशी खेलाडी शैफ जैबको विकेट पनि लिए । उनले भने, “मेरो ड्रिम डेब्यू भएको छ । पहिलो खेलमै विदेशी खेलाडीको विकेट लिदा एकदमै खुसी छु ।
एनपीएलका साथै ग्रासरुट क्रिकेट पनि निरन्तर रूपमा भएमा नयाँ प्रतिभा अझै आउने हिक्मतको भनाइ छ ।
विराटनगर किङसका अलराउन्डर खेलाडी नरेन भट्ट पनि एनपीएलले नेपाली क्रिकेटको विकास र नवप्रतिभाका लागि राम्रो अवसर रहेको बताउँछन । उनले भने, “नयाँ खेलाडीका लागि सिक्ने र क्षमता देखाउने राम्रो अवसरका रूपमा एनपिएल रहेको छ, यहाँ राम्रो प्रदर्शन गर्न सके भविष्यको ढोका पनि खुल्छ ।”
नेपाली यु १९ राष्ट्रिय टोलीको कप्तानीसमेत सम्हालीसकेका नरेनले टिभीमा हेर्ने खेलाडीसँग खेल्न र अनुभव लिन पाइरहेका बताए । उनले भने, “टिभीमा हेर्ने खेलाडीसँगै खेल्न मिलेको छ । अनुभव साटासाट गर्न पाइएको छ । यो सिक्ने अवसर हो । यहाँ राम्रो खेल्नु हाम्रो लागि आवश्यक छ ।”
लुम्बिनी लायन्सका बलर अलराउन्डर शेर मल्ल एनपिएल राम्रो एक्सपोजर भएको बताउँछन । उनले भने, “एनपीएल राम्रो एक्सपोजर हो । यहाँ हामीले राम्रो प्रदर्शन गर्न सक्नुपर्दछ । यहाँ राम्रो खेल्यौँ भने भोलि राष्ट्रिय टिममा पर्ने समभावना हुन्छ ।”
खेलाडीका लागि आर्थिक हिसाबले पनि एनपीएल राम्रो रहेको बताउदै उनले क्रिकेट खेलेरै पनि बाच्न सकन्छि भन्ने आधार भएको बताए । उनले भने, “क्रिकेट महङ्गो खेल छ । एनपिएलमा बोली लगाएर खेलाडी किनिने भएकोले खेलाडीको आर्थिक अवस्था पनि बढ्दै जान्छ । क्रिकेट खेलेर पनि बाच्न सकिन्छ भन्ने आधार हुन्छ ।”
नेपाली क्रिकेटकै ठुलो लिग खेल्न पाउँदा सुदूरपश्चिम रोयल्सका दीपक बोहरा पनि खुसी रहेका छन । उनले भने, “ठुला खेलाडीसँगै खेल्न पाउँदा एकदमै खुसी छौँ । एनपीएलबाट राम्रो अनुभव हुँदैछ । धेरै कुरा सिक्न पाइरहेका छौँ ।”
पोखरा एभेन्जर्सबाट एनपीएल खेलेका किरण ठगुन्ना पनि एनपिएलबाट धेरै कुरा सिक्ने मौका मिलेको बताउँछन । उनले भने, “एनपिएलबाट धेरै कुरा सिक्न मिलेको छ । विदेशी खेलाडी र नेपाली अग्रज खेलाडीसँग अनुभव साटासाट गर्न पाइयो ।”
नेपाल क्रिकेट सङ्घ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपालमा पछिल्लो समय लोकप्रिय खेलका रूपमा क्रिकेट उदाएको बताए । नेपाली क्रिकेटको यो स्वर्णीम युग हो । योभन्दा पहिला क्रिकेटको यो उचाइ पुग्न सकेको थिएन । उनले भने, “एनपीएलले क्रिकेट थप बलियो बनाउँदै खेलाडीलाई व्यवशायिक बनाउन मद्दत पुग्नेछ । साथै खेलाडी उत्पादनका लागि पनि महत्वपूर्ण छ । एनपिएलले नेपाली क्रिकेटको विकासमा थप टेवा पुर्याउनेछ ।”
जारी एनपीएलमा आठ टोली सहभागी छन् । जसमध्ये कर्णाली याक्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज बाहिरिसकेका छन् ।
विराटनगर किङस र लुम्बिनी लायन्स फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा आज भिड्दैछन् । आज जित्ने टोली मङ्सिर २७ गते सुदूरपश्चिम रोयल्ससँग फाइनलमा खेल्नेछ ।


















प्रतिक्रिया