काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका कारण हवाई सेवा प्रभावित भएको छ । विशेषगरी धनगढी, नेपालगञ्ज र भैरहवा क्षेत्रमा दृष्यता कमजोर हुँदा उडान सञ्चालनमा समस्या देखिएको हो । दृष्यताको हिसाबले सबैभन्दा बढी भैरहवा प्रभावित भएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विनु महर्जनका अनुसार आज बिहान ५:४५ बजेको तथ्यांकमा भैरहवाको भिजिबिलिटी १ सय मिटर मात्र मापन गरिएको छ । यस्तै कैलालीको धनगढी र धनुषाको जनकपुरमा ५ सय मिटर, मोरङको विराटनगरमा १ हजार मिटर, बाँकेको नेपालगञ्जमा १ हजार २ सय मिटर र काठमाडौंमा ६ हजार मिटर भिजिबिलिटी रहेको छ ।
मौसमविद् महर्जनका अनुसार दिउँसोतिर हुस्सु-कुहिरो क्रमशः घट्दै जाने सम्भावना छ । मौसमविद्हरूका अनुसार दृष्यता एक किलोमिटरभन्दा बढी भएमा हुस्सु र सोभन्दा कम भएमा कुहिरो भनिन्छ, जसअनुसार कुहिरो हुस्सुभन्दा बाक्लो हुने गर्दछ । हुस्सु-कुहिरोले घामका किरण छेक्ने र जमिन तात्न समय लाग्ने भएकाले जाडोको अनुभूति बढी हुने गर्दछ ।
आज बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ । धनगढीको तापक्रम भने हिजोको तुलनामा खासै घटबढ भएको छैन । धनगढीमा हिजो दिउँसो पौने तीन बजेसम्म पनि भिजिबिलिटी १ हजार ५ सय मिटर मात्र रहेको थियो । सोमबार बेलुकादेखि नै धनगढी क्षेत्रमा हुस्सु लागेपछि हवाई यात्रा प्रभावित भएको थियो ।
हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन। यद्यपि आज राति र भोलि पश्चिम नेपालमा आंशिक बदली रहने सम्भावना रहेको छ । तर पानी पर्ने सम्भावना नरहेको मौसमविद् महर्जनले जानकारी दिइन् ।



















प्रतिक्रिया