१९ माघ २०८२, सोमबार | February 2, 2026

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण



कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा ‘फाउल पोक्स’ रोगको सङ्क्रमण देखिएको छ । नगरपालिकाको वडा नं ८ का किसानले फार्ममा पालेका कुखुरामा उक्त भाइरल रोगको सङ्क्रमण पुष्टि भएको हो ।

नगरपालिकाका पशुपन्छी शाखा प्रमुख रामप्रसाद भट्टका अनुसार फाउल पोक्स भाइरस कुखुरा तथा अन्य पन्छीमा देखिने सङ्क्रामक भाइरल रोग हो । यसलाई एभिन पोक्स पनि भनिन्छ ।

सङ्क्रमित कुखुरामा कल्ली, ठुँडो, आँखाको वरिपरि तथा पखेटामा दाना, फोका वा पपडीजस्ता घाउ देखिने, खाना कम खाने, कमजोर हुने, तौल घट्ने तथा अण्डा उत्पादन घट्ने लक्षण देखापर्ने उनले उल्लेख गरे ।

केही गम्भीर अवस्थामा मुख र घाँटीभित्र घाउ देखिँदा श्वास फेर्नसमेत समस्या हुने र कुखुराको मृत्युदर उच्च हुने शाखा प्रमुख भट्टले बताए। सो रोग सङ्क्रमण देखिएका फार्मका सञ्चालकलाई मल्टिभिटामिनयुक्त इम्युनो-बुस्टर औषधि प्रयोग गर्न सुझाव दिइएको पशुपन्छी शाखाका पशु चिकित्सक भोजराज पाण्डेयले जानकारी दिए ।

“यस्ता औषधि कुखुरालाई खुवाउँदा रोगप्रतिरोधात्मक क्षमता बढ्ने हुन्छ, यसले कुखुराको मृत्युदर घटाउन मद्दत गर्छ”, उनले भने ।

अन्य कुखुरा फार्ममा उक्त रोगको सङ्क्रमण फैलिन नदिन किसानलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको उनको भनाइ छ । फाउल पोक्स सङ्क्रमित कुखुरासँगको प्रत्यक्ष सम्पर्क, फार्ममा प्रयोग हुने उपकरण तथा लामखुट्टे र अन्य कीरामार्फत फैलिने जनाइएको छ । समयमै नियन्त्रण नगरेमा किसानलाई ठूलो आर्थिक क्षति हुनसक्ने जोखिम रहेको पशुपन्छी शाखाले जनाएको छ ।

पशुपन्छी शाखाले किसानलाई सङ्क्रमित कुखुरालाई अन्य कुखुराबाट अलग राख्न, फार्मको सरसफाइमा ध्यान दिन, लामखुट्टे तथा कीरा नियन्त्रण गर्न र आवश्यक परेमा फाउल पोक्सविरुद्धको खोप लगाउन आग्रह गरेको छ । साथै रोगको शंका लागेमा ढिलाइ नगरी नजिकको पशु सेवा केन्द्रमा जानकारी गराउन अनुरोध गरिएको छ ।

फाउल पोक्स मानिसमा नसर्ने रोग भएकाले मानव स्वास्थ्यमा प्रत्यक्ष असर नपर्ने पशुपन्छी शाखाका चिकित्सक पाण्डेयको भनाइ छ । कुखुराका चल्ला बाह्य क्षेत्रबाट आयात गर्दा त्यसबाटै सो रोगको सङ्क्रमण भएको हुनसक्ने आशंका गरिएको छ ।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ७ : ५० बजे

नेकपाको निर्वाचन परिचालन सचिवालय बैठक सम्पन्न, माघ २२ मा केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को निर्वाचन परिचालन समितिको

नेपालमा निपाह भाइरसको जोखिम न्यून भए पनि सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । छिमेकी देशमा देखिएको निपाह भाइरसका सङ्क्रमणको जोखिम नेपालमा

जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट

बुटवल । नेकपा एमालेका उपाध्यक्ष गोकर्ण विष्टले निर्वाचन लक्षित कार्यक्रममा

‘क्यासिनो पर्यटनको हब बन्दै भैरहवा बजार’

भैरहवा । रुपन्देहीको सदरमुकाम भैरहवामा पछिल्लो समय क्यासिनो पर्यटनका कारण

साफ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग भारत पराजित

कास्की । पोखरा अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको