दाङ । घोराही उपमहानगरपालिका–१३ स्थित बाह्रकुने दह पछिल्लो समय आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ ।
आन्तरिक र बाह्र पर्यटकको गन्तव्यका रूपमा रहेको बाह्रकुने दहमा पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै गएको छ । दहमा १२ कुना भएको हुनाले यसको नाम ‘बाह्रकुने दह’ रहन गएको हो । सुन्दर प्रकृतिको मनोरम दृश्य देखिने बाह्रकुने दहको सौन्दर्य अतुलनीय छ । लुम्बिनी प्रदेशको एउटा नमुनाका रुपमा रहेको छ । यो धार्मिक एवं पर्यटकीयस्थलका रुपमा चिनिने गरेको छ । बाह्र भाइ बराहमध्ये एक भाइ बाह्रकुनेमा बसेको भन्ने किंवदन्ती छ ।
तुलसीपुर उपमहानगरपालिका–१७ का सीता पन्थी साथीहरुसँग बाह्रकुने दह घुम्न आएको भेटिइन् । टोलका आमासमूहबाट रमाइलो गरौँ भनेर वनभोज खान बाह्रकुने आएको उनले बताइन् । “तुलसीपुरमा हेरिरहेका धेरै ठाउँ थिए, घोराहीको बाह्रकुने हेर्ने अवसर मिलेको थिएन यहाँ आउँदा धेरै रमाइलो लाग्यो”, पन्थीले भनिन्, “वनभोज खाने, नाचगान गरेर रमाइलो गर्नेको भिडभाड नै हुने रैछ ।” यहाँको मन्दिर वरिपरिको वातावरण रमाइलो रहेछ, मन्दिर छेउमा रहेको तालमा डुङ्गा सयर गर्दा झनै आनन्द आयो ।” तालमा माछालाई चारो हाल्दा झन मज्जा आएको उनले बताइन् ।
घोराही उपमहानगरपालिका–१८ का मुना पोखरेल पनि शनिबार विद्यार्थी लिएर बाह्रकुने पुगेकी थिइन् । घोराही बजारको नजिकै रहेको र यातायातको सुविधा भएकाले बिदाको दिन भएर होला धेरै भिडभाड भएको उनले बताइन् । वनभोज खानेको उपस्थिति झनै धेरै देखियो ।
बाह्रै महिना यहाँ भक्तजनको भिडभाड हुने गर्छ त्यसमा पनि मङ्सिरदेखि माघमा यहाँ धेरै भक्तजन आउने गरेको बराहक्षेत्र संरक्षण समितिका अध्यक्ष देवबहादुर घर्तीले जानकारी दिए । उनले भने, “बाह्रकुने दहमा बर माग्नका लागि भक्तजन आउने गर्दछन्, माघेसङ्क्रान्तिको दिन ठूलो मेला लाग्ने गर्दछ ।” त्यहाँ विशेषगरी निःसन्तान दम्पती सन्तानका लागि बर माग्न आउने गर्दछन् । यहाँ अन्य समयमाभन्दा माघेसङ्क्रान्तिमा निकै भीडभाड हुने गर्दछ । यहाँ १२ वटा आकारमा निर्मित प्राकृतिक ताल रहेको छ । त्यहाँ भेँडा र भालेको बलि दिइन्छ भने परेवा उडाउने गरिन्छ ।
ज्यामिरेमा डुङ्गा सरर
बाह्रकुने दहको उत्तरतिर रहेको ज्यामिरे दहलाई ठूलो बनाएपछि हरेक दिन आन्तरिक पर्यटक त्यहाँ पुग्ने गरेका छन् । अन्य दिनभन्दा बिदाको दिन बढी आन्तरिक पर्यटक त्यहाँ आउने गरेको ज्यामिरे दहमा डुङ्गा सञ्चालन गर्दै आएका वीरजङ्ग पुनले बताए । जङ्गलबीचमा सुन्दर पर्यटकीय गन्तव्यका रुपमा रहेको तालमा जिल्ला र बाहिरबाट घुम्न आन्तरिक पर्यटक आउने गरेको पुनले बताए । उनका अनुसार पछिल्लो समय दैनिक सरदर २०० देखि ३०० जनासम्म घुम्न आउने गरेका छन् ।
मङ्सिरदेखि वैशाख महिनासम्म बढी भीड हुने गरेको उनको भनाइ छ । विगत तीन वर्षदेखि ज्यामिरे दहमा डुङ्गा चलाउँदै आएका पुनले डुङ्गा चलाएरै मासिक रु १५ देखि रु २० हजारसम्म आम्दानी हुने गरेको बताए । उनका अनुसार पछिल्लो समय डुङ्गा सवार गर्ने र वनभोज खान दैनिक रूपमा मानिस आउने गरेका छन् । डुङ्गामा चढ्न एक जनाको रु १०० टिकटको व्यवस्था गरिएको छ । डुङ्गामा घुम्नका लागि १५ मिनेटदेखि २० मिनेटसम्म समय लाग्ने गरेको चालक पुनले बताए ।
“सानो पोखरीलाई विस्तारसँगै डुङ्गा राखेर पर्यटक तान्ने काम भएको छ”, उनले भने, “ज्यामिरे दह पर्यटकीय क्षेत्रका रूपमा विकास भएसँगै व्यापार हुन थालेको छ ।”



















प्रतिक्रिया