बुटवल । बुटवलमा रहेको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले सरकारबाट भुक्तानी हुनुपर्ने रकम पुस मसान्तसम्म प्राप्त नभए माघ १ गतेदेखि सरकारले सञ्चालन गर्दै आएको विपन्न नागरिक औषधी उपचार कार्यक्रम अन्तर्गत मिर्गौलाको निःशुल्क डायलाइसिस र मुटुको निःशुल्क उपचार सेवा बन्द गर्ने घोषणा गरेको छ ।
सरकारले विपन्न नागरिक औषधी उपचार कार्यक्रममार्फत क्याथल्याबबाट मुटु रोगीको उपचार गर्दा प्रतिव्यक्ति एक लाख रुपैयाँ र मिर्गौला रोगीको डायलाइसिस गर्दा प्रतिपटक दुई हजार पाँच सय रुपैयाँ सूचिकृत अस्पताललाई उपलब्ध गराउँदै आएको छ । गौतम बुद्ध सामुदायिक मुटु अस्पताल पनि उक्त कार्यक्रमअन्तर्गत सूचिकृत भई लामो समयदेखि निःशुल्क डायलाइसिस र मुटु उपचार सेवा प्रदान गर्दै आएको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार चालु वर्षमा मात्रै क्याथल्याबमार्फत एक हजार ३८४ जना मुटु रोगी र ५५१ जना मिर्गौला रोगीको नियमित डायलाइसिस गरी कुल १८ करोड ५९ लाख ५४ हजार १४ रुपैयाँ बराबरको उपचार सेवा प्रदान गरिएको छ । तर, सरकारले लामो समयदेखि भुक्तानी नगर्दा अस्पताल चरम आर्थिक सङ्कटमा फसेको र निःशुल्क सेवा निरन्तरता दिन नसक्ने अवस्थामा पुगेको अस्पतालको भनाइ छ ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा अस्पताल प्रशासनले सरकारबाट पाउनुपर्ने रकम समयमै निकासा नहुँदा निःशुल्क उपचार मात्र होइन, अन्य स्वास्थ्य सेवासमेत प्रभावित हुने अवस्था सिर्जना भएको जनाएको छ । यही कारण सरकारले घोषणा गरेको विपन्न नागरिक औषधी उपचार कार्यक्रमअन्तर्गतको निःशुल्क सेवा बन्द गर्न बाध्यात्मक निर्णय लिनुपरेको अस्पतालले स्पष्ट पारेको छ ।
अस्पतालका अध्यक्ष एजाज आलमका अनुसार मङ्सिर मसान्तसम्म मात्रै अस्पतालले १७ करोड ८१ लाख ९ हजार ३७९ रुपैयाँ पाउन बाँकी छ । अघिल्लो वर्षको समेत जोड्दा कुल बक्यौता रकम २० करोड ३९ लाख ३१ हजार ८७९ रुपैयाँ पुगेको छ । सो अवधिमा जम्मा २ करोड ५८ लाख २२ हजार ५ सय रुपैयाँ मात्र भुक्तानी भएकोले अस्पताल गम्भीर आर्थिक सङ्कटमा परेको उनले बताए ।
“सरकारबाट पाउनुपर्ने रकम लामो समयसम्म नआउँदा चिकित्सक तथा स्वास्थ्यकर्मीको तलब भुक्तानी गर्न र बिरामीको उपचारका लागि आवश्यक औषधि खरिद गर्नसमेत समस्या भएको छ,” अध्यक्ष आलमले भने, “औषधि आपूर्ति गर्ने कम्पनीहरूलाई समयमै भुक्तानी गर्न नसक्दा औषधि र उपकरण दिन बन्द गर्न थालेका छन्, जसले उपचार सेवा नै ठप्प हुने अवस्था सिर्जना भएको छ ।”
अध्यक्ष आलमका अनुसार निःशुल्क उपचार बापतको रकम कहिले स्वास्थ्य विभाग त कहिले स्वास्थ्य बिमा बोर्डबाट भुक्तानी हुने व्यवस्थाका कारण समस्या झन् जटिल बन्दै गएको छ । आर्थिक वर्ष २०७९/८० मा स्वास्थ्य बिमा बोर्डबाट स्वास्थ्य विभागमा भुक्तानी प्रक्रिया सार्दा बाँकी रहेको ६ करोड १९ लाख ७२ हजार ५ सय रुपैयाँ हालसम्म पनि प्राप्त हुन नसकेको उनले बताए । चालु आर्थिक वर्षमा पुनः स्वास्थ्य विभागबाट बिमा बोर्डमा भुक्तानी प्रक्रिया सारिँदा समस्या दोहोरिएको उनको भनाइ छ ।
गौतम बुद्ध सामुदायिक स्वास्थ्य संस्थाले २०७० सालदेखि सुरु गरेको यस अस्पतालले २०७३ सालमा क्याथल्याब सेवा सञ्चालन गरेको हो । हालसम्म अस्पतालले ६ हजार ५६९ जनालाई एन्जियोग्राफी, एन्जियोप्लास्टी, अस्थायी तथा स्थायी पेसमेकर, पेरिकार्डियो सेन्टेसिस, राइट हार्ट क्याथेटराइजेसन र पी.टी.एम.सी. जस्ता सेवा प्रदान गरिसकेको छ ।
त्यस्तै, २०७२ सालदेखि सुरु गरिएको मिर्गौला उपचार सेवाअन्तर्गत हालसम्म ३ लाख ३३ हजार ७२१ सेसन निःशुल्क डायलाइसिस सेवा प्रदान गरिएको अस्पतालले जनाएको छ । हाल पनि ५५१ जना बिरामी नियमित रूपमा डायलाइसिस गराइरहेका छन् ।
लुम्बिनी प्रदेशभर करिब साढे आठ सय मिर्गौला रोगी नियमित डायलाइसिस गराइरहेका छन्, जसमध्ये ५५१ जनाको सेवा गौतम बुद्ध सामुदायिक मुटु अस्पतालले मात्रै दिँदै आएको छ । बाहिरी जिल्लाबाट बुटवल आएर डायलाइसिस गराउँदा बिरामीलाई समय, दूरी र खर्चको थप भार पर्ने भएकाले अस्पतालले बुटवलसँगै दाङको लमही, पाल्पाको तानसेन, स्याङ्जाको वालिङ र कपिलवस्तुको वाणगंगामा डायलाइसिस केन्द्र सञ्चालन गरी सेवा विस्तार गर्दै आएको जनाएको छ ।



















प्रतिक्रिया