अर्घाखाँची । भूमिकास्थान नगरपालिकामा विद्यार्थी सवार जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने १६ जना घाइते भएका छन् ।
भूमिकास्थान नगरपालिका-१० धनचौरबाट नुवाकोटतर्फ जाँदै गरेको लु२च ५१७९ नम्बरको जिप शुक्रबार बिहान भूमिकास्थान-७ स्थित छिर्लिङ खोलानजिक दुर्घटनामा परेको हो । दुर्घटनामा जिप चालक भूमिकास्थान-१० धनचौरका ४५ वर्षीय रुद्रबहादुर बुढामगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेका घाइतेहरूलाई तत्काल उद्धार गरी अर्घाखाँची अस्पतालमा उपचारका लागि पठाइएको छ । घाइते सबैको अवस्था सामान्यदेखि मध्यम रहेको अस्पताल स्रोतले जनाएको छ ।
उक्त जिपमा भूमिकास्थान नगरपालिकाले आयोजना गरेको पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन गइरहेका स्थानीय जनजागृति माध्यमिक विद्यालयका विद्यार्थी सवार थिए । दुर्घटनापछि नगरपालिकाले प्रतियोगिताअन्तर्गत आजका सबै खेलकुद कार्यक्रम स्थगन गरेको जनाएको छ ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।



















प्रतिक्रिया