१३ पुस २०८२, आइतबार | December 28, 2025

मनाङमा हिउँ चितुवा सर्वेक्षण : ङिस्याङ, नारफू र तिलिचो आसपासका क्षेत्र बासस्थान



मनाङ । हिमाली पारिस्थितिकीय प्रणालीको सूचक मानिएको लोपोन्मुख हिउँ चितुवाको तथ्याङ्क सङ्कलन गर्ने उद्देश्यले यहाँ हिउँ चितुवा सर्वेक्षण जारी छ । राष्ट्रिय प्रकृति कोष (एनटिएनसी) र अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (एक्याप)ले संयुक्त रूपमा मनाङ क्षेत्रमा विज्ञसहित क्यामेरा ट्रयापिङबाट हिउँ चितुवाको अवस्था, गणना र वन्यजन्तुको अनुगमन गरिने भएको हो ।

अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने दुर्लभ तथा सङ्कटग्रस्त वन्यजन्तु हिउँ चितुवाको अवस्था बुझ्न सर्वेक्षण गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एकाइका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए । अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत पर्ने नारफु, ङिस्याङ, खाङ्सार, तिलिचो, गुम्साङ, भिमथाङ आसपासका उच्च हिमाली भूभागमा गरिएको सर्वेक्षणले मनाङ हिउँ चितुवाको सम्भावित प्रमुख बासस्थानमध्ये एक रहेको विज्ञले पुष्टि गरेको उनले बताए ।

“हिउँ चितुवा हिमाली पारिस्थितिकीय प्रणालीको सूचक प्रजाति हो । यसको उपस्थिति सुरक्षित छभने उक्त क्षेत्रको सम्पूर्ण पारिस्थितिकीय प्रणाली सन्तुलन पनि राम्रो अवस्थामा रहेको मानिन्छ”, प्रमुख भुजेलले भने । मनाङको ङिस्याङ, नारफू र तिलिचो आसपासका क्षेत्र हिउँ चितुवाको सम्भावित बासस्थानका रूपमा पहिचान गरिएको उनले बताए । उनका अनुसार क्यामेरा ट्रयाप, पदचिह्न, मल (स्क्याट) सङ्कलन र स्थानीय गोठालाको अनुभवका आधारमा सर्वेक्षणका लागि क्यामेरा जडान गरिएको छ ।

सर्वेक्षणमा संलग्न वन्यजन्तु तथा वातावरण विज्ञका अनुसार हिउँ चितुवाको संरक्षण केवल एउटा वन्यजन्तु जोगाउने विषयमात्र नभई सम्पूर्ण हिमाली पारिस्थितिकीय प्रणाली, स्थानीय जीविकोपार्जन र भविष्यको पर्यटनसँग प्रत्यक्ष जोडिएको विषय हो । समुद्री सतहबाट करिब तीन हजार २०० मिटरदेखि पाँच हजार २०० मिटरभन्दा बढी उचाइका मनाङ ङिस्याङ उपत्यका, भीमथाङ उपत्यका र नारफु उपत्यकालाई तीन क्षेत्रमा विभाजन गरी अध्ययन गरिरहेको भुजेलले बताए ।

यी क्षेत्रमा अल्पाइन घाँसेमैदान, शङ्कुधारी वन प्याच, सुक्खा नदीक्षेत्र, रिजलाइन र जनावरका बाटो समावेश गरिएका छन् । हिउँ चितुवा र तिनीहरूको सिकारका लागि प्रमुख बासस्थान हुन् । यस क्षेत्रमा कुल १२९ क्यामेरा जडान गरिएको उनले बताए । मनाङ ङिस्याङ उपत्यकामा ५७, भीमथाङ उपत्यकामा २९ र नारफु उपत्यकामा ४३ क्यामेरा जडान गरिएको छ । क्यामेराले हिमाली ब्वाँसाको अध्ययन गर्ने एक अन्तरराष्ट्रिय अनुसन्धानकर्तासँगको सहकार्यात्मक प्रयास पनि समावेश गरी सर्वेक्षण भइरहेका छ । अनुसन्धानकर्ताले २२ क्यामेरा र तथ्याङ्क आदानप्रदान गरिरहेको एक्यापले जनाएको छ ।

“हिउँचितुवा सुरक्षित छभने त्यसको अर्थ नाउर, झारलजस्ता सिकार प्रजाति, घाँसेमैदान र समग्र हिमाली वातावरण पनि सन्तुलित अवस्थामा छ भन्ने बुझिन्छ”, उनले भने । सन् २०२४ अक्टोबर १४ मा सुरु भएको अनुगमन अध्ययनले विगतमा हिउँ चितुवा विवरण अध्ययन (छेत्री एटअल, २०१७) मा पहिचान गरेको वैज्ञानिकको रूपमा चयन गरिएका ग्रिड कोषलाई भीमथाङ उपत्यकासहित अन्नपूर्ण-मनास्लु क्षेत्र प्रमुख हिउँ चितुवा समेटेको छ ।

यस अध्ययनका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष र एक्यापले मनाङ ब्लकलाई १४ ग्रिड कोषमा विभाजन गरी प्रत्येकको मापन ५×५ वर्ग किलोमिटर रहेको जनाएको छ । निष्पक्ष र व्यवस्थित तथ्याङ्क सङ्कलन सुनिश्चित गर्न प्रत्येक ग्रिडभित्र अनियमित रूपमा क्यामेरा ट्रयापिङका लागि जडान गरिएको छ ।

मानव बस्ती र पूर्वाधारबाट टाढा जनावरका बाटो, रिजलाइन, वनक्षेत्र, पानीका स्रोत र ज्ञात वा शङ्कास्पद सिकारस्थलमा क्यामेरा ट्रयापिङ गरिएको एक्यापले जनाएको छ । हिउँ चितुवाको सङ्ख्या अनुमान र पारिस्थितिकीय प्रणालीको विश्लेषणलाई समर्थन गर्न प्रत्येक ग्रिड सेलभित्र सिकार प्रजातिको तथ्याङ्क रेकर्ड गरिरहेका छन् । क्यामेरा, ब्याट्री, मेमोरी कार्ड, पन्जा, सिलिका जेल, स्क्याट सङ्कलन ट्यूब र तथ्याङ्क रेकर्डिङ फारमलगायतका उपकरण जडान गरिएको छ ।

भुजेलले भने, “प्रारम्भिक सर्वेक्षणले यस क्षेत्रमा हिउँ चितुवाको सङ्ख्या करिब ५० भन्दा बढी अनुमान गरेको छ । सर्वेक्षण जारी रहेकाले अन्तिम तथ्याङ्क आउन बाँकी छ ।” हिमाली ब्वाँसो, रातो स्याल, नीलो भेडा, कस्तुरी मृग, पहेँलो घाँटी भएको मार्टेन्स, हिमाली सेरो, घोरल र चितुवा बिरालोजस्ता विविध वन्यजन्तु प्रजातिको जडान गरेको क्यामेराले रेकर्ड गरेको सर्वेक्षणकर्ताले जनाएको उनले जानकारी दिए । जसले स्वस्थ र सन्तुलित पहाडी पारिस्थितिक प्रणालीलाई प्रतिविम्बित गरेको छ ।

क्यामेरा ट्रयापिङ, स्क्याट सर्वेक्षण र सिकार मूल्याङ्कनमार्फत सङ्कलन गरिएको तथ्याङ्कले मानव वन्यजन्तु द्वन्द्व हटस्पट पहिचान गर्न महत्त्वपूर्ण भूमिका रहने अपेक्षा गरिएको छ । यसमा सुधारिएको पशुपालन अभ्यास, सिकार न्यूनीकरण, मौसमी चरन व्यवस्थापन र सहअस्तित्वमा केन्द्रित सामुदायिक जागरूकताजस्ता कार्यक्रमले नागरिकमा सचेतना फैलिएको छ । जसले हिउँ चितुवाको संरक्षणमा टेवा पुगेकाले सङ्ख्या बढ्न सक्ने सर्वेक्षणकर्ताले अनुमान गरेको एक्यापले जनाएको छ ।

एनआरसिए, एनटिएनसी एक्याप मनाङका प्रकाश अधिकारी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका संरक्षण अधिकृत गोपाल खनाल, एनटिएनसी एक्याप मनाङका ओमबहादुर गुरुङ, ज्ञानबहादुर गुरुङ, यामबहादुर गुरुङ र भक्तसिं गुरुङको सहयोगमा सर्वेक्षण भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ७ : ३५ बजे

एमाले सचिवालय बैठक आज, समानुपातिक उम्मेदवारको अन्तिम सूची टुंग्याइँदै

काठमाडौं । नेकपा (एमाले) ले ११ औँ महाधिवेशनपछिको पहिलो सचिवालय

समीक्षाका गीतमा झुमे दर्शक

गण्डकी । गायिका समीक्षा अधिकारी शनिबार साँझ बागलुङ महोत्सवमा गुञ्जिईन

बागलुङ महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता

गलकोट । पछिल्ला मेला तथा महोत्सव आधुनिकमात्रै भए भन्ने गुनासोका

आजको मौसम : तराईमा हुस्सु , हिमाली भू-भागमा हिमपातको सम्भावना

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

म्याग्दी । पाँच दशकदेखि बन्द अवस्थामा रहेको तामाखानी उत्खननका लागि