१४ पुस २०८२, सोमबार | December 29, 2025

नवीन औद्योगिक कदरबहादुर रीता माविको स्वर्ण महोत्सव सुरु, शिक्षा-संस्कृति र खेलकुदको भव्य उत्सव हुँदै



बुटवल । देशकै अब्बल शैक्षिक संस्थामध्ये एक मानिने नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालयले स्थापनाको ५० वर्ष पूरा गर्दै स्वर्ण महोत्सव मनाउने भएको छ । वि.सं. २०३३ सालमा स्थापना भएको विद्यालयले अर्धशताब्दी यात्राको अवसरमा विविध शैक्षिक, सांस्कृतिक, खेलकुद तथा सामाजिक गतिविधिसहित महोत्सव आयोजना गर्ने भएको हो ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले स्वर्ण महोत्सवका कार्यक्रमबारे जानकारी गराउँदै पुस २२ गते मुख्य समारोह आयोजना हुने बताए । मुख्य समारोहको उद्घाटन बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले गर्ने कार्यक्रम तय भएको छ ।

महोत्सवअन्तर्गत पुस १४ गते जिल्ला स्तरीय हाजिरजवाफ प्रतियोगिता आयोजना भइसकेको छ भने १७ र १८ गते नगरस्तरीय अन्तर विद्यालय छात्र भलिबल प्रतियोगिता सञ्चालन हुने जनाइएको छ । यस्तै, पुस २० गते आँखा शिविर र २१ गते वृहत् रक्तदान कार्यक्रम आयोजना गरिने विद्यालयले जनाएको छ ।

मूल समारोहका अवसरमा झण्डोत्तोलन, स्वर्ण महोत्सव स्तम्भ-२०८२ अनावरण, स्वर्ण महोत्सव दर्पण विमोचन, राष्ट्रिय सेवा दल, स्काउट तथा विद्यार्थीहरूको मार्चपास, विविध सांस्कृतिक कार्यक्रम, पिटी प्रदर्शन तथा उत्कृष्ट विद्यार्थी, शिक्षक, कर्मचारी र सञ्चारकर्मी सम्मान कार्यक्रमसमेत आयोजना गरिने प्रधानाध्यापक बस्नेतले जानकारी दिए ।

पत्रकार सम्मेलनमा बोल्दै बुटवल-११ का वडाध्यक्ष तथा विद्यालयका संरक्षक रामचन्द्र क्षेत्रीले विद्यालयले शिक्षाको गुणस्तरमा उल्लेखनीय सुधार गर्दै देशकै नमूना शैक्षिक संस्थाको पहिचान बनाउन सफल भएको बताए । उत्कृष्ट नतिजा र अनुशासित शैक्षिक वातावरणका कारण विद्यार्थी र अभिभावकको विश्वास निरन्तर बढिरहेको उनको भनाइ थियो ।

विद्यालयले स्वर्ण महोत्सवलाई सफल बनाउन विभिन्न समिति र उपसमितिहरू गठन गरिसकेको जनाएको छ । पूर्ण अंग्रेजी माध्यममा पठनपाठन हुँदै आएको यस विद्यालयमा हाल ५८ जिल्लाबाट आएका पाँच हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । यहाँ १८४ जना शिक्षक-कर्मचारी कार्यरत छन्, जसमा ४१ जना स्थायी दरबन्दीका शिक्षक रहेका छन् । कुल विद्यार्थीमध्ये ४५ प्रतिशत छात्रा रहेको विद्यालयले जनाएको छ ।

कक्षा ११ र १२ मा व्यवस्थापन, विज्ञान, सिभिल इन्जिनियरिङ, होटल म्यानेजमेन्ट, कानुन र शिक्षा संकाय सञ्चालन हुँदै आएको विद्यालयले डिजिटल शिक्षालाई प्राथमिकतामा राखेको छ । विद्यालयबाट अध्ययन गरेका विद्यार्थीहरूले एसइई र कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउनुका साथै एमबिबिएसजस्ता प्रतिस्पर्धी विषयमा पूर्ण छात्रवृत्तिसहित नाम निकाल्न सफल भएको प्रधानाध्यापक बस्नेतले बताए ।

विद्यालयमा राष्ट्रिय सेवा दल अन्तर्गत सिनियर डिभिजन २० औँ क्याडेट सञ्चालनमा रहेको छ, जसमा १५ छात्र र १५ छात्रा सहभागी छन् । शैक्षिक असल अभ्यासतर्फ आ.व. २०८१/०८२ मा सातै प्रदेशका ४२ विद्यालयमध्ये उत्कृष्ट प्रदर्शन गर्दै नेपालबाट दोस्रो स्थान हासिल गरेको यस विद्यालयले अस्ट्रेलियाको क्यानबेरामा सन् २०२४ अक्टोबर २३ मा ‘बेस्ट प्रिन्सिपल अवार्ड’ समेत प्राप्त गरेको थियो ।

विद्यार्थीको नेतृत्व विकास, व्यक्तित्व निर्माण तथा व्यवहारिक सीप अभिवृद्धिमा विशेष जोड दिँदै आएको विद्यालयले अन्तर्राष्ट्रिय मापदण्डअनुसार उद्घोषण, फिल्ड भिजिट तथा प्रयोगात्मक सिकाइलाई पाठ्यक्रममै समेट्दै आएको प्रधानाध्यापक बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ८ : ४० बजे

एमालेले आज निर्वाचन आयोगमा बन्दसूची बुझाउँदै

काठमाडौं । नेकपा (एमाले)ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची

रास्वपा-बालेन सहमति केन्द्रीय समितिबाट अनुमोदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका प्रमुख

बुटवलमा ‘बाआमासँग नगर प्रमुख’ स्वास्थ्य शिविरप्रति नागरिकको उत्साह, प्रतिकूल मौसममा पनि उल्लेख्य सहभागिता

बुटवल । बुटवल उपमहानगरपालिकाद्वारा सञ्चालित ‘बाआमासँग नगर प्रमुख’ निःशुल्क स्वास्थ्य